अमेरिकाका बाला घिमिरेलाई ‘पान एसियन ह्युमानिटेरियन अवार्ड’


प्रकाशित मिति : मंसिर ३, २०७६ मंगलबार

अमेरिकाको शिकागो निवासी सामाजिक व्यक्तित्व बाला घिमिरेलाई पान एसियन ह्युमानिटेरियन अवार्ड प्रदान गरिएको छ । अमेरिकाको मध्यपश्चिम क्षेत्रको उत्कृष्ट आम पहुच टेलिभिजन कार्यक्रम एसियन क्रोनिकल युएसएले घिमिरेलाई अवार्ड प्रदान गरेको हो । एसियन क्रोनिकल युएसए च्यानल १९ र ३५ मा प्रशारण हुँदै आएको छ ।

घिमिरेलाई अमेरिकामा रहेका थाइल्याण्डका महावणिज्यदूतले अवार्ड प्रदान गरेका थिए । घिमिरेले अमेरिकामा एसियाली समुदायको छवी उच्च राखेको र समाजमा योगदान दिएको भन्दै त्यसको कदरस्वरुप अवार्ड प्रदान गरिएको हो ।

घिमिरे सन् २००९ देखि अहिलेसम्म नै सिटी अफ शिकागोका मेयरको एड्भाइजरी काउन्सिल सदस्यका रुपमा रहेका छन् । त्यस्तै २००९ देखि अहिलेम्म नै सेक्रेटरी अफ स्टेटको एड्भाइजरी काउन्सिलमा समेत उनी रहेका छन् । अमेरिकन एड्भाइजरी काउन्सिलको कम्युनिटी सर्भिस अवार्ड र एसियन कोर्निकल अमेरिकाबाट एसियन एक्जामपलरी सर्भिस अवार्ड पाइसकेका घिमिरेले स्थानीय अमेरिकी राजनीतिज्ञहरुसमेत पहुच कायम गर्दै नेपाली समुदायको हितमा विभिन्न सामाजिक तथा राजनीतिक गतिविधिमा सहभागी हुँदै आइरहेका छन् ।

२०१० मा अमेरिकाको पुरानो संस्था एएनएमा केन्द्रीय सदस्य समेत भएर काम गरेका घिमिरेले नेपलिज एसोसिएसन इन साउथवेष्ट अमेरिकामा कोषाध्यक्ष भएर काम गरे । त्यस्तै २०१० देखि नै एसोसिएसन अफ नेपलिज इन मिडवेष्ट अमेरिकामा सकृय उनी २०१६ देखि २०१८ सम्म त्यही संस्थाको अध्यक्ष बने । २०१८ मा एसोसिएसन अफ नेपलिज इन मिडवेष्ट अमेरिका, नेपलिज एसोसिएसन इन साउथवेष्ट अमेरिका र एसोसिएसन अफ नेपलिज इन अमेरिकाको संयुक्त नेपाली नेशनल कन्भेन्सनको कन्भेनरका रुपमा रहेर उनले सफलताका साथ कार्यक्रम सम्पन्न गरेका थिए ।

सन् २०१६ देखि नेपाल सरकारका पर्यटनदूतका रुपमा समेत सकृय घिमिरेले नेपालको कला, संस्कृति, खाना र पर्यटनको प्रवद्र्धन गर्दै नेपाल चिनाउने अभियानमा समेत सकृय छन् । रोटरी क्लब, लायन्स क्लब जस्ता संस्थामा सहभागी भई काम गरेका उनी एनआरएनए आईसीसीको सिटीजनसिप टास्क फोर्समा सदस्य समेत रहे भने मानवीय समितिको सहसंयोजक बने । एनआरएएन आईसीसीकोे नीति र प्रकृया समितिको सहसंयोजकका रुपमा समेत काम गरेका घिमिरे सन् २०१७ सम्म तीनबर्ष प्रवासी नेपाली मञ्चको बरिष्ठ उपाध्यक्ष बनेका थिए ।

शिकागोको ह्युमन रिलेशन कमिटिमा झण्डै ५ बर्ष काम गरेका बाला घिमिरेले अमेरिकामा कुनै नेपालीहरुलाई समस्या पर्दा गरेको सहयोगको फेहरिस्त पनि निकै लामो छ । त्यस्तै नेपालमा कसैलाई समस्या पर्दा वा बिपत्ति आउँदा पनि उनी सहयोगका लागि अगाडि सर्ने गर्छन् । तर उनी भन्छन् –‘अरुलाई गरेको मानवीय सहयोगको हिसाबकिताब र सुची राखेको छैन । हिसाबकिताब र सुची तयार गरेर यति सहयोग गरें भनेर प्रचार गर्न वा कतैबाट कुनै फाइदा लिनका लागि सहयोग गरेको पनि होइन । आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्छु । भविश्यमा पनि मानवीय र सामाजिक सहयोगमा लागिरहनेछु ।’

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com