अब फूलारा ल फर्म : तिर्न नसक्नेलाई निशुल्क कोटा


प्रकाशित मिति : फाल्गुन २९, २०७३ आईतबार

न्युयोर्कका चर्चित युवा कानुन व्यवसायी बासु फूलाराको आफ्नै कानुनी फर्म द ल अफिसेज अफ बासु डी फूलारा पीसी सुरु हुने भएको छ । मे महिनाको पहिलोसातादेखि सुरु हुने कानुनी कार्यालय न्युयोर्कको म्यानहटनमा अवस्थीत हुनेछ ।

यो कानुनी कार्यालयमार्फत इमिग्रेशनका सबै क्षेत्रहरु, रियल स्टेट, कमर्सियल लिटिकेशन, बैंक्रप्सी लगायतका विषयमा सेवा लिन सकिने कानुन व्यवसायी बासु फूलाराले जानकारी दिनुभयो ।

अमेरिकामा सन् २०११ देखि कानुन व्यवसायमा सकृय बासु फूलारा क्षेत्री एण्ड एसोसिएट्समा आवद्ध रहेर काम गर्दै आएका थिए । तीनदर्जन जति राज्यमा पुगेर डिटेन्सन सेन्टर देखि इमिग्रेशन कोर्टमा अध्यागमनका मुद्दामा बहस गरेका फूलाराले नयाँ कानुनी कार्यालयमार्फत बृद्धा, अपांगहरु , अपराधको शिकार भएका र फ्रडको शिकार भएकाहरुको केही मुद्दा निशुल्क लड्ने समेत घोषणा गरेका छन् ।

विद्यालयदेखि कलेजसम्म सधै प्रथम हुँदै आएका बासु फूलारा डोटीको ग्रामिण बस्तीमा पिता हरिदत्त फूलारा र माता पद्मादेवि फूलाराका सन्तानका रुपमा जन्मिएका थिए । फूलाराले कक्षा १ देखि ५ सम्म स्थानीय सरस्वती प्राथमिक विद्यालयमा अध्ययन गर्दा कक्षाको कुरा छाडौं, सधै विद्यालयमा नै सबैभन्दा धेरै नम्बर ल्याएर ‘स्कुल फस्ट’ हुन्थे । त्यसपछि कक्षा ६ देखि १० सम्म डोटीकै शारदा माध्यामिक विद्यालयमा अध्ययन गर्दा पनि उनी हरेक वर्ष ‘स्कुल फस्ट’ भए ।

२०४८ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरेपछि उनी स्थानीय डोटी बहुमुखी क्याम्पसमा आइएल अध्ययन गर्न थाले । त्यहाँ पनि उनी कलेज टपर भए । उनको तेजिलो पढाईका कारण डोटी बहुमुखी क्याम्पसमा दुईवर्षसम्म छात्रबृत्ति पनि पाएका थिए । त्यसपछि उनी अध्ययनका शिलशिलामा काठमाडौं हान्निए । नेपाल ल क्याम्पसमा बीएल अध्ययन गरेका उनलाई त्यहाँ पनि दोश्रो हुनु परेन । फूलारा बीएलमा पनि नेपाल ल क्याम्पस टपर भए ।

त्रिभुवन विश्वविद्यालयबाट एलएलएम गरेका उनी लगातार दुईवर्ष सम्म नै कलेज टपर भए । एलएलएममा कलेजमा मात्र होइन, देशभरमै सबैभन्दा बढी नम्बर ल्याएर नेपाल टपर भइसकेपछि उनले तत्कालिन राजाबाट महेन्द्र विद्या भूषण समेत प्राप्त गरेका थिए ।

त्यतीबेला उनले नेपाल ल क्याम्पसमा एलएलएम टप गरे वापत सन् २००१ म जर्ज वारेन ब्राउनको सर्ट टर्म स्कलरसिप प्राप्त गरेका थिए । नेपालमा लामो समय अध्ययन अनुसन्धानमा विताएका उनले सन् २००३ मा नेपालमा पनि कानुन व्यवसायीको लाइसेन्स प्राप्त गरेका थिए । उनले नेपालमा एपेक्स कलेजमा ३ वर्षसम्म कानुन विषय पढाउने काम समेत गरे ।

त्यसपछि सन् २००५ मा अमेरिका आएका उनले अमेरिकाका सबैभन्दा टप ४९ मध्येको एउटा येशिभा युनिभर्सिटी अन्तरगतको कार्डोजो स्कुल अफ ल न्युयोर्कबाट ल विषयमा ग्रयाजुएट गरे । उनले यो कलेजमा अध्ययनका क्रममा सन् २००६ मा डिन मेरिट स्कलर समेत प्राप्त गरेका थिए ।

सन् २००५ मा अमेरिका आइसकेपछि कानुनी विषयमा अध्ययन अनुसन्धानमा व्यस्त रहेका फूलाराले सन् २०११ मा अमेरिकामा कानुन व्यवसायीको लाइसेन्स प्राप्त गरे । त्यसपछिका ६ बर्षमा नै उनी न्युयोर्कका चर्चित नेपाली कानुन व्यवसायी बन्न सफल भएका छन् । सन् २०११ देखि यता अमेरिकामा वकालत गर्ने क्रममा उनले बैंक्रप्सी र एसाइलम सम्बन्धि कैयन मुद्दाहरु हेरेका छन् र जीतेका पनि छन् । अध्ययागमन सम्बन्धी कैयन मुद्दाहरु हेरेका उनले रियल स्टेट सम्बन्धि कैयन मुद्दाको अनुभव पनि हासिल गरिसकेका छन् । अपराधसम्बन्धि मुद्दा र सर्वोच्च अदालतका मुद्दाहरु समेत हेरेका उनले एसाइलमका संघीय मुद्दामा अमेरिकाका झण्डै तीन दर्जन राज्यहरुमा पुगेर समेत वकालत गरेका छन् ।

नेपाली, बंगाली, पाकिस्तानी, तिब्बती र भारतीय लगायतका सेवाग्राहीका मुद्दा हेरेका फूलाराले डिपोर्टेशनका प्रोसेसमा रहेका कैयन व्यक्तिका मुद्दा समेत हेरिरहेका छन् । छोटो अवधिमा नै अहिलेसम्म सयौं मुद्दा हेरेको अनुभव संगालिसकेका उनले गरिब, बृद्ध, अशक्त लगायतका व्यक्तिलाई निशुल्क कानुनी सेवा समेत प्रदान गर्दै आएका छन् । नेपालमा द राइजिङ नेपाल, बिजनेश एज लगायतका पत्रिकाहरुमा सोधमुलक आलेखहरु प्रकाशित गरेका उनले अमेरिकामा समेत नेपालीहरुलाई काम लाग्ने कानुनी विषयमा संचारमाध्यमहरुमा कलम चलाउदै आएका छन् ।

उनी न्युयोर्क सिटी बार एसोसिएसन र क्वीन्स काउन्टी बार एसोसियसनका सदस्य समेत हुन् । आफ्नो काममा दत्तचित्त भएर लाग्ने स्वभावका कारण उनी अध्ययन र पेशामा सफल बन्दै गएका हुन् । उनी श्रीमति प्रतिमा खतिवडा र दुई छोराछोरीका साथ न्युयोर्कमा बस्दै आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com