अमेरिकामा एसाइलम गर्नेलाई ग्वाटेमाला, होण्डुरस र एलसाल्भाडोर पठाइने, नियम फेडरल रजिस्टरमा


प्रकाशित मिति : मंसिर ३, २०७६ मंगलबार

अमेरिकी सरकारले अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम दावी गर्नेहरुलाई ग्वाटेमाला, होण्डुरस र एल साल्भाडोर पठाउने भएको छ । ती देशहसँग भएको सहमति अनुरुप अमेरिकामा एसाइलम गर्नेहरुलाई ती देशसँग बाँडिने भएको छ । यसबारे आज फेडरल रजिस्टरमा औपचारिक रुपमा नियम प्रकाशित गरेको छ । नियम आजै अर्थात् नोभेम्बर १९ देखि कार्यान्वयनमा आएको छ ।

आप्रवासी अधिकारकर्मीहरुले अमेरिका र तीनदेशबीच भएको उक्त सहमतिको विरोध गरेका छन् । अमेरिकामा एसाइलम खोज्नेलाई तेश्रो देशमा पठाउने सहमति उचित नभएको उनीहरुको भनाई छ ।

नियमको पूर्ण पाठ यहाँ उपलब्ध छ ।

विगत ६ महिनामा भएका एसाइलमका दुई कडा नियमपछि यो नियम आएको हो । यसअगाडि अमेरिका आउने क्रममा बाटोमा पर्ने देशमा एसाइलम दावी गरेर अस्वीकृत नभएकाहरुलाई अमेरिकामा एसाइलम आवेदन दिन अयोग्य बनाउने नियम आएको थियो । त्यस्तै अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम दावी गर्नेहरुले अदालती सुनुवाईसम्मका लागि मेक्सिकोमा नै प्रतिक्षा गर्नुपर्ने नियम लागु गरिएको थियो ।

अमेरिकामा ९ लाख ८७ हजार १ सय ९८ एसाइलमका आवेदनहरुको ब्याकलग रहेको र एउटा एसाइलमको मुद्दा टुंगो लाग्न ८१६ दिन लाग्ने गरेकाले एसाइलमको भार कम गर्न नयाँ नियम ल्याइएको जनाइएको छ । यो नियम नोभेम्बर १९ पछि विनाभिसा अमेरिकाको सिमाक्षेत्रमा आएका र सिमाक्षेत्रबाट अमेरिका छिरेका वा छिर्ने प्रयास गरेकाहरुका सन्दर्भमा मात्र लागु हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com