Follow @khasokhasmag

बेचिएकी चेली जुत्ता उत्पादनमा


प्रकाशित मिति : फाल्गुन २८, २०७३ शनिबार

मानव बेचबिखनमा परेकी खलंगा–१, रानागाउँ जाजरकोटकी २५ वर्षीया मुना शाही ओली जुत्ता उत्पादन गर्छिन् । उनले नेपालगन्जमा ‘मुना सु सेन्टर’ स्थापना गरेर जुत्ता उत्पादन गर्दै आएकी छिन् । ‘काम गर्न जातले छेक्दैन,’ भन्ने सोचाइलाई सार्थक बनाउन ३ वर्षअघि नेपालगन्जमा जुत्ता उत्पादन गर्ने व्यवसाय सञ्चालनमा ल्याएको उनले बताइन् ।

जुत्ताको काम सुरु गर्दा उनले परिवारका सदस्य र छरछिमेकबाट अनेकौँ कुरा सुन्नुपर्‍यो । ‘सार्कीले मात्र जुत्ता बनाउनुपर्छ भन्ने गलत मानसिकता चिर्न मलाई धेरै समय लाग्यो, पेसा, व्यवसाय जातले होइन, कर्मले गर्नुपर्छ भन्ने सन्देश दिनु थियो,’ मुनाले भनिन्, ‘जुत्ता बनाउने काम गर्ने मेरो पहिलेदेखिकै इच्छा पनि थियो ।’

जुत्ता उत्पादन गर्ने व्यवसायबाट उनले मासिक १२–१५ हजार रुपैयाँ बचत गर्छिन् । जुत्ता उत्पादनबाट भएको फाइदाले छोराछोरीलाई नेपालगन्ज बसपार्कस्थित समावेशी इंग्लिस बोर्डिङ स्कुलमा पढाउँदै आएको उनले बताइन् । ‘घरभाडा, सटरभाडा, छोराछोरीको खर्च, औषधि–उपचार सबै यही व्यवसायले धानेको छ,’ उनले भनिन्, ‘छोरी तीन कक्षामा र छोरा एक कक्षामा अध्ययनरत छन् ।’

श्रीमान् ११ वर्षदेखि सम्पर्कविहीन

१२ वर्षअघि नेपाल प्रहरीका जवानसँग प्रेमविवाह गरेकी मुनाको सम्बन्ध लामो समय रहन सकेन । छोरी जन्मेको २ महिनामै श्रीमान्ले छोडेर भागे । त्यसपछि श्रीमान्सँग भेट नभएको उनले बताइन् । ‘जागिरको सिलसिलामा श्रीमान् जहाँ–जहाँ जानुहुन्थ्यो, त्यहीँ–त्यहीँ जान्थेँ, पछि श्रीमान्ले समेत कुट्ने, पिट्ने गर्न थाल्नुभयो, केही पछि त छोडेरै भाग्नुभयो,’ उनले भनिन् ।

श्रीमान्ले अवहेलना गरेर माइतीमा बस्दै आएकी उनी ८ वर्षअघि मानव बेचबिखनमा संलग्न दलालको सम्पर्कमा पुगिन् । दलालले उनलाई दिल्ली हुँदै साउदी लैजाने भन्दै नेपालगन्जको बाटो भएर भारतीय बजार रुपेडिया पुर्‍याएको मुनाले बताइन् ।

रुपेडियाको एक होटेलमा चिया, नास्ता खाइसकेपछि शौचालय गएर फर्किने क्रममा दलाल र अर्का एकजनाले मोलतोल गरेको सुनेपछि त्यहाँबाट भागेको उनले सुनाइन् । ‘मलाई रुपेडिया पुर्‍याएकी महिलाले पुरुषसँग पैसाको मोलतोल गरेको सुनेपछि भागेर साथी संस्थामा पुगेँ,’ उनले भनिन् ।

फ्याक्ट्री सञ्चालनका लागि रकम अभाव

जुत्ता बनाउने व्यवसायलाई उद्योग (फ्याक्ट्री)मा परिणत गर्ने सोच छ । तर, आर्थिक अभावले लक्ष्य पूरा हुन नसकेको उनले बताइन् । रकम भएको भए फ्याक्ट्री चलाउने उनले बताइन् । उनले जुत्ता बनाउने तालिमसमेत दिने गरेकी छिन् । ‘व्यवसाय सञ्चालन गर्न आइडिया र भिजन छ, रकम नभएर योजना अलपत्र परेको छ, महिला भनेर ऋणसमेत कसैले दिँदैनन्,’ मुनाले भनिन्, ‘रकम भएको भए फ्याक्ट्रीमा महिलालाई काम दिने र तालिम पनि दिन सकिन्थ्यो ।’ साथी संस्थाले सीपमूलक तालिम दिए पनि अहिलेसम्म कहीँकतैबाट सहयोग नपाएको उनले गुनासो गरिन् । ‘महिला तथा बालबालिका कार्यालय बाँकेले सहयोगको आश्वासन दिए पनि अहिलेसम्म कुनै सहयोग गरेको छैन,’ मुनाले दुखेसो पोखिन् ।

रकम नहुँदा फर्म दर्ता भएन

निराशालाई आशामा बदल्न आफूले सीपमूलक तालिम र व्यवसाय गरेको उनले बताइन् । विभिन्न हन्डर खाँदै उनले व्यवसायलाई अगाडि बढाएको बताइन् । उनले गुडिया र पोते बनाउने कामसमेत जानेकी छिन् । पोतेबाट विभिन्न किसिमका माला र महिलाको कानमा लगाउने टप, झुम्का, औँठीसमेत बनाउने गरेको उनले बताइन् । ‘मसँग सीप त धेरै छ, तर व्यवसाय सञ्चालन गर्ने रकम छैन,’ उनले भनिन् ।

उनले अहिलेसम्म फर्म दर्ता गरेकी छैनन् । रकम नहुँदा फर्म दर्ता गर्न नसकेको बताउँदै उनले फर्म दर्ता नभएका कारण सरकारी सुविधा र ऋण लिन नपाएको बताइन् । ‘आम्दानी भएको रकमले छोराछोरी पढाउन, घर र सटरभाडा तिर्न ठिक्क हुन्छ, रकम नभएकाले फर्म दर्ता गर्न सकिराखेको छैन,’ मुनाले दुखेसो पोखिन् । नयाँ पत्रिकाबाट

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com