प्रमुख आयोजनालाई बहुवर्षीयरूपमा अगाडि बढाउन निर्देशन
प्रकाशित मिति : कार्तिक २७, २०७६ बुधबार

रुपन्देही, २८ कात्तिक (रासस) ःप्रदेशसभाअन्तर्गत भौतिक पूर्वाधार विकास समितिले प्रमुख आयोजनालाई बहुवर्षीय आयोजनाको रूपमा अगाडि बढाउन मन्त्रालयलाई निर्देशन दिएको छ ।
भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीको उपस्थितिमा बुधबार बसेको समितिको बैठकले मन्त्रालयअन्तर्गत विभिन्न चार महाशाखा प्रमुखहरुलाई उक्त निर्देशन दिएको हो । बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक कार्यक्रममा निर्धारण गरिएको बजेट खर्च, वित्तीय एवं भौतिक प्रगतिका सम्बन्धमा महाशाखा प्रमुखहरुसँग छलफल भएको थियो ।
समितिका सदस्यहरुले योेजना कार्यान्वयनमा देखिएको ढिलासुस्ती र गुणस्तरीय सेवा भए-नभएकोबारे जिज्ञासा राखेका थिए ।
प्रदेशसभा सदस्यहरुको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौधरीले कानूनी प्रक्रिया र कर्मचारी व्यवस्थापनका कारण काममा ढिलाइ भए पनि अब कामले तीव्रता पाउने बताउनुभयो ।
समितिका सभापति आशा स्वर्णकारको सभापतित्वमा सम्पन्न बैठकमा प्रदेशसभा सदस्यहरु वीरबहादुर राना, नारायणप्रसाद आचार्य, धर्मबहादुरलाल श्रीवास्तव, फकरुद्धिन खान, तारा जिसी, लौटी थारूले प्रदेश सरकारद्वारा सञ्चालित योजनाहरुको प्रगतिबारे जिज्ञासा राख्नुभएको थियो ।
बैठकले आगामी मङ्सिर १९ गतेदेखि प्रदेश सरकारद्वारा सञ्चालित आयोजनाहरुको अनुगमन गर्ने निर्णयसमेत गरेको छ ।
–––