Follow @khasokhasmag

खुट्टा गुम्यो साहस गुमेन


प्रकाशित मिति : फाल्गुन २७, २०७३ शुक्रबार

अपाङ्गता भएकालाई दया होइन हिम्मत र अवसर प्रदान गराैँ। उनीहरूले पनि समाज हल्लाउन सक्छन्। यसको देखिने उदाहरण हुन् इटहरीकी निलम ढुङ्गाना।

लिलाराज भट्टराई

‘जब स्टेजमा उक्लिएँ, अपाङ्गता भएपछिको पहिलो कार्यक्रम, हात खुट्टा थरर कामे। केही बोल्न दिइयो, बोल्नै सकिनँ। तर जव म्यूजिक सुरु भयो नृत्यको वेगलाई डरले रोक्न सकेन। डर कता हरायो कता, थियो त केवल संगीत र नृत्यमात्र।’
दुर्घटनामा एउटा खुट्टा गुमाएपछि पहिलो पटक स्टेजमा उत्रिएकी निलम ढुङ्गानाको भनाई हो यो।

एकै खुट्टाले छमछमी नाचेको देखेर उपस्थित दर्शक छक्कै परे। त्यो निलमले आफनो नृत्य क्षमता समाजसँग परिक्षण गराएको दिन थियो। दर्शकलाई औधी मन पर्ने नृत्य गरेर खरो उत्रन सक्ने क्षमता प्रदर्शन गरेको। त्यहाँदेखि अहिलेसम्म ठाँउ ठाँउमा पुगेर निलमले कला पस्किरहेकी छन्।

वैशाखीको सहारामा हिड्ने निलम डुङ्गानालाई बाटोमा देख्नेले विचरा यस्ती राम्री केटीको एउटा खुट्टा छैन भनेर दयाको भावले हेर्ने गर्दथे। तर समय परिवर्तन हुन कत्तिबेर पनि लागेन। निरन्तरको प्रयासपछि उनी सबैको आँखामा सफल भनेर चिनिन थालिन्। देशका विभिन्न ठाँउमा हुने कार्यक्रममा एक खुट्टाले नाचेर सबैलाई चकित पार्न थालेकी ढुङ्गानाले सामाजिक सोचाईसँगै आफ्नो जीवनमा पनि परिवर्तन ल्याएकी छन्।

२२ माघ २०६४ को चिसो बिहानी निलम ढुगांनाको भविष्यकै लागि चिसो बनाएर आयो। १० कक्षाको परिक्षा दिन साथीसँग स्कुल जादै गरेकी निलमलाई इटहरीको बुढीखोला पुलमा पछाडीबाट सामान बोकेर आएको ट्रकले ठक्कर दिएपछि उनले सदाका लागि एउटा खुट्टा गुमाउनु पर्‍यो। सँगैकी साथीको घटनास्थलमै ज्यान गयो।

ट्रक र पूलको रेलिङमा च्यापिएको उनको शरीर ४५ मिनेटको प्रयासमा निकालिए पनि एउटा खुट्टा सँधैका लागि काम नलाग्ने भयो। चुडिन लागेको खुट्टाको अप्रेसन गरेर उनलाई पुरानै अवस्थामा फर्काउन खोज्ने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीले प्रयास गरे। तर सफल हुन सकेनन्। यस पछि घर परिवार र समाजमा उनीमाथि दया देखाउने काम शुरु भयो।

कमजोर देखाउनेमात्र होईन कुरा काट्नेको सँख्या थपिँदै गयो। दुई महिना अघिमात्र विवाह गरेकी उनले श्रीमानको साथ पाईन्। तर, श्रीमान, परिवार र समाजसँग संघर्ष गरेर अगाडी बढेकी निलम अहिले एक खुट्टाले नाचेर सबैको मन जित्न सफल भएकी छन्।

एउटा खुट्टा गुमेर के भयो त ? अर्को खुट्टा छ, दुई हात छन, अझ बढी केहि गर्नुपर्छ भन्ने दर्बिलो इच्छाशक्ति छ निलमसँग। उनी भन्छिन् ‘इच्छाशक्तिले हिम्मत प्रदान गरेर अगाडी बढ्ने हौसला दिन्छ। त्यसले गर्दा झन—झन अघि बढ्ने वातावरण आफैँ तयार हुन्छ।’

निलम भन्छिन् ‘ब्यबधानका लागि म आफैँ बाधा बनेर उभिन चाहन्छु।’ देशभरका बिभिन्न महोत्सवहरुमा निलमको माग बढ्न थालेको छ। भौतिक रुपमा हुने विभिन्न समस्याले उनलाई ति ठाँउहरूमा पुग्नलाई रोक्न सक्दैन। किनकी उनी फगत नाचेर दर्शकलाई मनोरञ्जन दिनमात्र ति ठाँउ पुग्दिनन्। उनी भन्छिन् ‘मलाई वैशाखीमा देखेर विचरा भन्नेको दृष्टिकोण परिवर्तन गर्नको लागि पनि म अप्ठ्यारा पार गर्दै स्टेजमा नाच्दै पुग्छु।’

अपाङ्गता हुँदैमा हिनता बोकेर जीवनलाई बोझ ठान्ने ब्यक्तिहरुलाई उर्जा दिलाउन एक खुट्टाले छमछमी नाच्ने उनले बताईन्। आफनो लक्ष्यमा पुग्न देशमा मात्र होइन विदेशमा पनि कला देखाउने उद्देश्य राखेकी निलमलाई चलचित्रमा अभिनय गर्ने प्रस्ताव आउन थालेका छन।

अपाङ्गता भएकालाई कमजोर भूमिकामा प्रस्तुत गरिने कथा सहितको प्रस्तावलाई निलमले अस्वीकार गर्ने गरेकी छन्। अपाङ्गता भएकालेपनि केहि गर्न सक्छन् भन्ने शिक्षा र सन्देश भएको चलचित्र भए अभिनय गर्ने उनको भनाइ छ। यस बाहेक अपाङ्गता भएका अन्य व्यक्तिलाई नृत्य सिकाउने अभियानमा लागेकी छन् उनी।

पहिलेदेखी नृत्यमा सक्रिय निलमको इटहरी र आसपासका जुनसुकै कार्यक्रम र प्रतियोगितामा प्रस्तुति अनिवार्य जस्तै थियो। तर दुर्घटना पछि केही समय रोकिएको उनको नृत्य पुन पुरानै अवस्थामा फर्किएको छ। पुरानो कुरा सम्झदै निलम भन्छिन् ‘खुट्टा गुम्यो भनेर कहिल्यै पनि डाँको छोडेर रोइनँ, तर अब म नाच्न सक्दिन भनेर मन भतभति पोल्थ्यो। नृत्य गरेर करिअर बनाउन सक्दिन नै भन्ने लागिसकेको थियो।’

अब नाचेर पहिचान बनाउने आफ्नो सपनालाई भुल्नुपर्छ भन्ने सोचमा पुगेका बेला अपाङ्गताको क्षेत्रमा काम गर्ने अधिकारकर्मी भीमा खतिवडा र मीना आर्चायले दिनुभएको प्रोत्साहन र उत्साहले निलमको मरिसकेको आशा पुन जाग्यो। सप्तकोशी एफएममा अपाङ्गता अधिकारकालागि सञ्चालित कार्यक्रममा मीना आर्चायले अर्न्तवार्ता लिएर तिमी नाच्ने काममा सफल हुन सक्छौ, हिम्मत नहार भनेर बारम्बार उत्साह दिएपछि उनी विस्तारै नाच्ने काममा फर्कन थालेकी थिइन्। अहिले निलम सप्तकोशी एफएममा त्यहि कायक्रम प्रस्तुति समेत गर्छिन्। स्टेजमामात्र होइन आधा दर्जन म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेकी छन्। हालै एउटा तीजगीतमा पनि निलमले नृत्य प्रस्तुत गरेकी छन्।

एक खुट्टाले नाचेर चर्चाको शिखर उक्लदै गरेकी निलम भन्छिन्, ‘साथ दिने परिवार र हिम्मत प्रदान गर्ने दुई दिदीहरू नभइदिएको भएँ म पनि कोठामै सिमित रहन्थे होला।’ उनको आग्रह छ, ‘अपाङ्गता भएकालाई दया होइन हिम्मत र अवसर प्रदान गरौं। अपाङ्गता भएकाले पनि समाज हल्लाउन सक्छन्।’ उनी भन्छिन् ‘आफूमा भएको कमजोरीलाई सम्झी—सम्झी रुनु भन्दा त्यहि कमजोरीलाई तागत बनाउदा जीवन अर्थपूर्ण हुदो रहेछ।’ महिला खबरबाट

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com