३३ बर्षपछि सान्द्राले पाइन् नयाँ घर, अब जीवनभर अमेरिकामा नै बस्ने


प्रकाशित मिति : कार्तिक २४, २०७६ आईतबार

३३ बर्षीय ओराङउटान सान्द्राले व्यक्तिका रुपमा कानुनी मान्यता पाएपछि अमेरिकाको फ्लोरिडामा नयाँ घरमा सेटल गरिएको छ । सान्द्राले अर्जेन्टिनाको अदालतबाट कानुनी रुपमा व्यक्तिका रुपमा मान्यता पाएकी थिइन् । सान्द्रालाई अहिले फ्लोरिडाको सेन्टर फर ग्रेट एपमा राखिएको छ ।

मंगलबार त्यहाँ आइसकेपछि सान्द्रा शान्त, जिज्ञासु, व्यस्त र दिलचस्पी रहेको जनाइएको छ । सुरुमा नयाँ घरमा आउँदा लाज मानेपनि पछि त्यहाँ झुलना, खेलौनाहरु र घाँसे मैदान देखेपछि सान्द्रा अभ्यस्त भएको जनाइएको छ ।

सन् २०१५ मा अर्जेन्टिनामा एउटा मुद्दा चलिरहँदा सान्द्रा नामको यो ओराङउटान निकै चर्चामा आएको थियो । अर्जेन्टिनाको एउटा चिडियाखानामा झण्डै २० बर्ष विताएपछि न्यायाधिसले सान्द्रालाई मानव नभएको तर जीवन, स्वन्तत्रता र कुनै क्षति नहुने आधारको अधिकार भएको फैसला सुनाएका थिए ।

तर अर्जेन्टिनामा ओराङउटानका लागि कुनै संरक्षण केन्द्र नभएपछि न्यायाधिसले अमेरिकाको फ्लोरिडामा रहेको सेन्टर फर ग्रेट एपलाई संरक्षणका लागि अनुरोध गरेका थिए । फ्लोरिडा ल्याउनु अगाडि सान्द्रालाई कन्सासको एउटा चिडियाखानामा स्वास्थ्य परिक्षणका लागि राखिएको थियो ।

अहिले फ्लोरिडाको उक्त केन्द्रमा सान्द्रासहित २२ ओराङउटान रहेका छन् भने ३१ चिम्पाञ्जीहरु रहेका छन् । उनीहरु सबैलाई सर्कस, स्टेज शो, ल्याब लगायतका स्थानबाट उद्दार गरिएको हो । अब सान्द्राको जीवनभर हेर्ने जिम्मा त्यही केन्द्रले लिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com