चार वर्षमा सम्पन्न भएन काठमाडौँ–कुलेखानी सडक


प्रकाशित मिति : कार्तिक २४, २०७६ आईतबार

– पूर्णप्रसाद मिश्र इन्द्रसरोवर, २४ कात्तिक (रासस) :
प्रदेश राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने चोभार–दक्षिणकाली–छैमले–सिस्नेरी–कुलेखानी सडक निर्माण शुरु भएको चार वर्षसम्म पनि पूरा हुन सकेको छैन ।

तीन खण्डमा काम भइरहेको यो सडक तीनवटा निकायले हेर्छन् । काठमाडौँतिरको भाग सडक सुधार आयोजनाअन्तर्गतको भक्तपुर–नगरकोट–सिपाघाट–बल्खु–दक्षिणकाली सडक योजनाले हेर्छ । मकवानपुरतर्फको आयोजना भने सडक डिभिजन हेटौँडाले ठेक्का गरी हाल पूर्वाधार विकास कार्यालय चितवनलाई हस्तान्तरण गरिएको छ ।

मकवानपुरतर्फ इन्द्रसरोवर गाउँपालिका क्षेत्रमा भइरहेको सडक स्तरोन्नतिको काम अलपत्र रहेकामा स्थानीय सरकारका तर्फबाट पटकपटक छिटो काम सम्पन्न गराउने पहल गर्दा पनि निर्माण व्यवसायीले अटेर गरेको अध्यक्ष जीवन लामाले राससलाई जानकारी दिनुभयो ।

“हामी निर्वाचित भएर आउनुअघि नै शुरु भएको योजना अहिलेसम्म सम्पन्न हुन सकेन, तीन भागमा ठेक्का भएर काम भइरहेको आयोजनाको मकवानपुरतर्फको एउटा ठेक्काको काम तोडिएको छ, प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा सडकको सरोकार भएका निकायबीच अन्तिम कुराकानीपछि आजै आगामी जेठ मसान्तमा काम सक्ने सहमति भएको छ”, उहाँले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिस्नेरी–कुलेखानी खण्डको निर्माण व्यवसायीले पनि काम नगरेकाले ठेक्का तोड्न गाउँपालिकाले अनुरोध गर्दै आएको छ । सडकको काम समयमा नसकिँदा बर्सातमा हिलो र हिउँदमा धुलोले सवारी चलाउन समस्या हुने गरेको चालकहरुको गुनासो छ ।

विगत पाँच वर्षदेखि यो मार्गमा टाटा सुमो चलाउँदै आउनुभएका चालक गोपालबहादुर लामा सिस्नेरीतिरको काम अलपत्र हुँदा टुल्कु डुँडेचौरबाट हुमाने डाँडा हुँदै कुलेखानीमा निस्कने गरेको बताउनुहुन्छ । फर्पिङबाट टुल्कु, फाखेल हुँदै हुमानेबाट कुलेखानी निस्कन सोझो बाटो भए पनि यसको स्तरोन्नति गर्नेतर्फ भने सरोकार भएका निकायको ध्यान जान सकेको छैन ।

सडक हेर्ने निकायको ध्यान जान नसकेपछि गाउँपालिकाले हुमानेबाट कुलेखानी निस्कने सडक स्तरोन्नति एवं पहिरो पन्छाउन शुरु गरेको वडा नं ४ का सदस्य वैकुण्ठ थापामगरले जानकारी दिनुभयो । यो सडकको समेत स्तरोन्नति गरे प्रदेश राजधानी र केन्द्रीय राजधानीबीतच आवतजावत गर्न सहज हुने उहाँले बताउनुभयो ।

सडकको कुलेखानीभन्दा तलतिरको भागमा काम नै शुरु हुन सकेको छैन । यो खण्ड दुई लेनमा स्तरोन्नतिका लागि चालू आर्थिक वर्षमा प्रदेश नं। ३ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले ठेक्का गरेको छ । रु ४८ करोड लागतमा हेटौँडासम्मको सडक स्तरोन्नति हुने मन्त्रालयले जनाएको छ ।

प्रदेश ३ सरकारअन्तर्गतका मन्त्रालय एवं कार्यालयमा कार्यरत कर्मचारीको शुक्रबार बेलुकी काठमाडौँ आउन र आइतबार बिहान हेटौँडा जान भीड लाग्छ । तर सडक स्तरोन्नतिमा कसैको ध्यान नगएर गाउँपालिकाको निरन्तर आग्रहपछि आज प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सरोकार भएका निकायको बैठक बसेको पूर्वाधार विकास कार्यालय चितवनका कार्यालय प्रमुख पुष्कर पोखरेलले बताउनुभयो ।

बैठकमा मकवानपुरतर्फका दुई आयोजना जेठ मसान्तसम्म सक्ने सहमति जुटेको छ । सिस्नेरी–कुलेखानी ५।८ किमी सडक दुई लेनमा स्तरोन्नतिका लागि २०७४ असार ३० गते सम्झौता भएको थियो । हालसम्म २० प्रतिशत मात्र काम सम्पन्न भएको छ । सडक डिभिजन हेटौँडाले २०७५ पुस २७ गते कार्यालयलाई यो योजना हस्तान्तरण गरेको थियो ।

गजुरमुखी÷मोतीदान जेभीले निर्माण जिम्मेवारी पाएको यो सडक जेठ मसान्तमै सक्ने प्रतिबद्धता आजको प्रदेश मन्त्रालयको बैठकमा गरेको उहाँले सुनाउनुभयो । रु १५ करोड लागतमा यो सडक स्तरोन्नति भइरहेको छ ।

यसैगरी ज्यामिरेबाट काठमाडौँतिरको ६ किमी काम ६० प्रतिशत सकेर आशीष ब्रदर्स नामको निर्माण व्यवसायीले ठेक्का छोडेको छ । सडक विभागबाट मौखिक आदेशमा काम गरे पनि लिखित ल्याउन नसकेपछि रु ८० लाखको ‘भेरिएसन’ दिन नसकेको पूर्वाधार कार्यालय चितवनका प्रमुख पोखरेलले सुनाउनुभयो । यसपछि यो खण्डको ठेक्का तोडिएको हो ।

चोभार–शेषनारायण अन्तिम चरणमा

चोभारबाट शेषनारायणसम्मको क्षेत्र भक्तपुर–नगरकोट–सिपाघाट–बल्खु–दक्षिणकाली सडक योजनाले हेर्छ । भारतीय निर्माण कम्पनी सीमाञ्चल र नेपाली निर्माण व्यवसायी गौरीपार्वती÷सुनौलो÷खिम्ती जेभीले ठेक्का पाएको सडकको अधिकांश काम अन्तिम चरणमा पुगेको छ । यो काम चार वर्ष अघि शुरु भएको हो ।

योजनाअन्तर्गत चोभारको सुक्खा बन्दरगाहबाट शेषनारायणसम्मको ९।३ किमी सडकको काम भइरहेको छ । यहाँको स्तरोन्नतिको काममा ८८ प्रतिशत वित्तीय प्रगति भएको योजना प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो । आठ किमीको कालोपत्र भइसकेको उहाँले सुनाउनुभयो ।

काठमाडौँको कीर्तिपुर र दक्षिणकाली नगरपालिका क्षेत्रबाट नै यो सडकको काम शुरु भएको हो । काठमाडौँतिरको काम पनि सन्तोषजनक नभएको स्थानीयवासीको गुनासो छ । दुई वर्षमा सक्नुपर्ने काम चार वर्षमा समेत नसक्दा दैनिक जाममा फस्नुपरेको फर्पिङका स्थानीयवासी मीनराज रेग्मीले बताउनुभयो ।

दुई लेनमा स्तरोन्नति गर्न भत्काउनुपर्ने घर र विद्युत्को खम्बाका कारण यहाँको काम अन्तिम चरणमा पुगेर समस्यामा परेको छ । विद्युत् प्राधिकरणलाई खम्बा हटाउन पत्र र बजेट उपलब्ध गराए पनि काम नभएको योजनाले जनाएको छ । यस क्षेत्रका ८८ घर भत्काउनुपर्नेमा ५० घरले मुआब्जा बुझेका छन् ।

मुआब्जा लिने प्रक्रियामा १४ घर छन् । तोकिएको मुआब्जामा चित्त नबुझी १० घरले पुनर्विचारका लागि निवेदन दर्ता गरेका छन् । चार घरधनीले अहिलेसम्म मुआब्जा लिन निवेदन नै दर्ता नगराएको योजना प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।

भारतीय एक्जिम बैङ्कको रु २८ करोड १५ लाख ऋण सहयोगमा दुई लेनमा स्तरोन्नति शुरु भएको प्रदेश राजधानी जोड्ने वैकल्पिक छोटो सडकको काम लामो समयसम्म नसकिँदा यात्रु एवं यस क्षेत्रका स्थानीयवासी सास्ती खेप्न बाध्य छन् । चार वर्षसम्म काम नसकिँदा एउटा सवारी फस्दा पनि घण्टौँ जाममा फस्न बाध्य हुनुपरेको यात्रु श्रीराम रापकोटाको गुनासो छ ।

प्रदेशसभा बैठक शुरु हुने दिन सभा सदस्यहरु यही बाटो लर्को लागेर हेटौँडा जाने गरेका छन् । तर काम छिटो सक्न कसैले प्रदेशसभामा आवाज उठाएको नसुनिएको उहाँको भनाइ छ । शेषनारायणबाट दक्षिणकालीसम्मको क्षेत्र सडक डिभिजन कार्यालय काठमाडौँअन्तर्गत छ । चोभार सुक्खा बन्दरगाह क्षेत्रको काम पनि डिभिजन कार्यालय काठमाडौँले नै गर्ने जनाइएको छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com