वाग्मतीमा अलपत्र सौन्दर्य, फस्टाउँदै तरकारी खेती


प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार

मुलुकको राजधानी शहरको बीचबाट बग्ने वाग्मती नदीलाई सौन्दर्य अभिवृद्धि गर्न शुरु गरिएको काम अलपत्र भएपछि नदी किनारमा हरियाली गर्ने भनिएको भाग अतिक्रमण शुरु भएको छ ।

नदीको दक्षिण ढोकाबाट गोकर्णसम्मको भागमा सौन्दर्य अभिवृद्धि गर्ने क्रममा बनाइएको पैदलमार्गमा बिहान हिँडडुल गर्नेको भीड लाग्ने गर्छ । मानिसमा स्वास्थ्य चेतना बढेसँगै अपेक्षाकृत स्वच्छ पानी बगेको यो क्षेत्रको नदी किनारमा बिहान बेलुकी मानिसको लर्को लाग्छ ।

यात्रु हिँड्न बनाइएको पैदलमार्ग र नदीको बीचभागमा हरियाली बगैँचा निर्माण गर्न छोडिएको स्थानमा भने स्थानीयवासीले तरकारी खेती शुरु गरेका छन् । हेटौँडा स्थायी घर भई हाल माकालबारीमा बस्दै आउनुभएकी निशा तामाङ आफूले एक महीनादेखि नदी किनारमा सागपातलगायत तरकारी खेती शुरु गरेको बताउनुहुन्छ ।

“हाम्रा घरभेटीले विगत तीन वर्ष अघिदेखि यहाँ तरकारी खेती गर्दै आउनुभएको रहेछ, हामी घरभाडामा बस्नेलाई पनि अलि अलि ठाउँ दिएपछि तरकारी खान खेती गरेका हौँ, व्यापार व्यवसायका लागि होइन”, उहाँले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तामाङसँगै माकालबारीमै घरभाडामा बस्ने चितवनका सागर परियारलगायतले पनि वाग्मती किनारमा तरकारी खेती गर्नुभएको छ । तरकारी खेती गर्नेले सौन्दर्य अभिवृद्धि गर्ने क्रममा लगाइएको पर्खाल खोस्रँदा ढुङ्गाको थुप्रो लागेको छ ।

पर्खालमुनि ओढार बन्न थालेकाले यहीँबाट भत्कन शुरु हुने दैनिक बिहान नदी किनारमा हिँडडुल गर्नुहुने प्रकाश सापकोटा बताउनुहुन्छ । वाग्मती सफाइ महाअभियान शुरु भएसँगै केही सफा बनेको यस क्षेत्रको नदी किनारमा हिँड्दा स्वास्थ्यका लागि राम्रो भएको उहाँको अनुभव छ ।

नदी किनारको अर्को भागमा अतिक्रमण भएको छैन । दुवोको चौर बनेकाले केही मानिस योग, ध्यान, प्राणायामलगायत साधनामा बसेको देखिन्थ्यो । अर्को भागमा तरकारी खेती शुरु भएकाले वाग्मतीबाट पानी बोकेर हाल्दै गरेको देखिन्छ ।

गोकर्णेश्वर नगरपालिका–४ मा पर्ने यो भागका केही जग्गाधनीले मुआब्जा नपाएकाले विरोधस्वरूप तरकारी खेती गरेको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताउनुभयो । अघिल्लोपटक यस स्थानमा धान खेतीसमेत भएको थियो ।

वाग्मती सफाइ महाअभियानमा सक्रिय हुँदै आएको माकालबारी टोल सुधार समितिका अध्यक्ष पेमाछिरि शेर्पा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले नदी सौन्दर्य अभिवृद्धिको काम रोकेसँगै केही स्थानीयवासीले तरकारी खेती गरेको बताउनुहुन्छ । काम भइरहेको भए खेती गर्ने अवसर नपाउने उहाँको भनाइ छ ।

गुह्येश्वरीबाट गोकर्णसम्मको नदीमा १८८ रोपनी जग्गाधनीपूर्जा भएको जग्गा परेको भन्दै एक वर्ष अघिदेखि पीडितले सौन्दर्य अभिवृद्धिको काम रोकेका छन् । नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ भने मुआब्जा लिइसकेकाले पनि पाएको छैन भनी खेती गरिरहेको बताउनुहुन्छ ।

सौन्दर्य अभिवृद्धिको काम रोकिएसँगै यहाँ ल्याइएको निर्माणसम्बन्धी औजार हटाइएपछि अलपत्र हुने स्थानीय रामचन्द्र दुलाल बताउनुहुन्छ । सौन्दर्य अभिवृद्धि भएर उपत्यकाको सभ्यताको स्रोतका रूपमा रहेको नदी स्वच्छ होला भनी आशा गरे पनि यो आयोजनाले समेत मेलम्चीकै नियति भोगेको स्थानीय बताउँछन् ।

काम रोकिएको लामो समय हुँदा पनि सरोकार भएका निकायले समाधानको पहल गरेका छैनन् । गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानका अभियानकर्मी एवं वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनी अधिकार सम्पन्न वाग्मती समितिलाई समस्या समाधान गर्न ध्यानाकर्षण गराए पनि प्रगति नभएको बताउनुहुन्छ ।

गोकर्णबाट सिनामङ्गलसम्मको करिब १० किमी नदी किनारमा तीन वर्षअघि शुरु भएको सौन्दर्य अभिवृद्धिको काम गत असार मसान्तमै सकिनुपर्ने थियो । करिब रु एक अर्ब ५० करोड लागतमा वाग्मतीलाई सुन्दर बनाउन काम शुरु भएको हो । जग्गा विवादलगायत समस्याका कारण काम नसकिएपछि फागुनसम्म म्याद थपिएको अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख लीलाप्रसाद ढकालले बताउनुभयो ।

“नारायणटारपुलबाट गोकर्णसम्मको नदी किनारमा रोकिएको सौन्दर्य अभिवृद्धिको काम छिट्टै शुरु गर्ने गरी सहमति भएको छ, जग्गा विवादलगायत समस्या समाधान गरी काम अघि बढाउन लागिपरेका छौँ”, उहाँले भन्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com