भिसा र ग्रिनकार्डमा शीघ्र प्रकृयाको शुल्क बढाउन फेडरल रजिस्टरमा सुचना, नयाँ शुल्क डिसेम्बर २ पछि


प्रकाशित मिति : कार्तिक १४, २०७६ बिहीबार

अमेरिकी सरकारको युएससीआईएसले शीघ्र प्रकृयाका लागि आवेदन शुल्क बढाउन फेडरल रजिस्टरमा सुचना प्रकाशित गरेको छ । आज प्रकाशित सुचना अनुशार बृद्धि भएको शुल्क आगामी डिसेम्बर २ देखिमात्र लागु हुनेछ । यसअगाडि नोभेम्बर २९ देखि नयाँ शुल्क लागु हुने युएससीआईएसले जनाएपनि अन्तिम सुचनामा भने त्यो अवधि बढाएर डिसेम्बर २ पुराइएको छ ।

युएससीआईएसले रोजगारमार्फत ग्रिनकार्डका लागि फर्म आई १४० र गैरआप्रवासी कामदारका लागि फर्म आई १२९ को शीघ्र प्रकृया शुल्क बृद्धि गर्न लागेको हो । अहिलेसम्म उक्त शुल्क १४१० डलर रहेकोमा डिसेम्बर २ देखि ३० डलर बृद्धि गरेर १४४० डलर हुनेछ ।

 

रोजगारमा आधारित विभिन्न श्रेणीका ग्रिनकार्डका लागि फर्म आई १४० प्रयोग गरिदै आएको छ भने एच श्रेणीका कामदार भिसा, ओ, पी, क्यु, आर लगायतका श्रेणीका भिसाका लागि फर्म आई १२९ प्रयोग गरिन्छ ।

फर्म आई १२९ र फर्म आई १४० का लागि शीघ्र प्रकृया अर्थात् प्रिमियम प्रोसेस आवेदकका लागि एउटा विकल्प हो । आवेदकले नियमित प्रकृयाबाट पनि यो शुल्क नतिरिकनै आफ्नो आवेदन पेश गर्न सक्छन् । तर शीघ्र प्रकृयाबाट आवेदन पेश गर्दा युएससीआईएसले १५ दिनभित्र आवेदनबारे निर्णय गर्छ ।

प्रिमियम प्रोसेसका लागि फर्म आई १२९ वा आई १४० का साथमा आई ९०७ समेत भरेर पठाउनुपर्छ । आर्थिक बर्ष २०१८ मा ३ लाख ७ हजार १७३ जनाले आफ्नो आवेदनमा प्रिमियम प्रोसेसका लागि अनुरोध गरेका थिए । सन् २०१४ मा यो संख्या २ लाख १८ हजार ४ सय रहेको थियो ।

युएससीआईएसको थपिएको ३० डलर शुल्कबाट बर्षमा झण्डै ७८ लाख अमेरिकी डलर थप आम्दानी गर्ने अनुमान गरिएको छ । प्रिमियम प्रोसेसबाटमात्र बर्षमा अमेरिकी सरकारको युएससीआइएसले झण्डै ३८ करोड अमेरिकी डलर आम्दानी गर्ने अपेक्षा गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com