मंगलबारदेखि अमेरिकी सरकारले एसाइलम गर्नेको डीएनए नमुना संकलन गर्ने
प्रकाशित मिति : कार्तिक ४, २०७६ सोमबार
अमेरिकी सरकारले एसाइलम आवेदकहरुको डीएनए नमुना संकलन गर्ने योजना बनाएको छ । अध्यागमन अधिकारीहरुले हिराशतमा लिएका एसाइलम आवेदक र अन्य आप्रवासीहरुका डीएनएका नमुना संकलन गरी एफबीआईको डाटावेशमा समावेश गरिने भएको छ ।
यसबारेमा अमेरिकी सरकारको जस्टिस डिपार्टमेन्टले मंगलबार यसबारेको नयाँ निर्देशिका जारी गर्ने भएको छ । उक्त निर्देशिका मंगलबारदेखि नै लागु हुनेछ । उक्त निर्देशिकाले अमेरिकाको मेक्सिकोसँगको सिमाक्षेत्रबाट प्रवेश गर्ने र अध्यागमन अधिकारीहरुले अस्थायी रुपमा नियन्त्रणमा लिने हरेकको डीएनए नमुना संकलनका लागि बाटो खोल्नेछ ।
उक्त नियम ग्रिनकार्डवाहक र कानुनी रुपमा अमेरिका प्रवेश गर्नेहरुका सन्दर्भमा भने लागु हुनेछैन । त्यस्तै १४ बर्ष भन्दा कम उमेरका बालबालिकाको सन्र्दभमा पनि उक्त नियम लागु नहुने जनाइएको छ ।
अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटीले दुईसाता अगाडि डीएनए संकलनबारे वृहत रुपरेखा सिमाक्षेत्रका अधिकारीहरुलाई प्रदान गरेको थियो । नागरिक अधिकारकर्मीहरुले भने आप्रवासीका यस्ता विवरणहरु दुरुपयोग हुनसक्नेतर्फ चिन्ता व्यक्त गरेका छन् ।