आलेख ः लुम्बिनीसँग जोड्ने सैनामैना नगरपालिकाको योजना


प्रकाशित मिति : कार्तिक ३, २०७६ आईतबार

भरत केसी
बुटवल, ३ कात्तिक (रासस) ः महामानव गौतमबुद्धको जीवनसँग सम्बन्धित सैनामैनामा रहेका पुरातात्विक स्थलहरुको संरक्षण गर्न र ती स्थललाई विश्वसामु उजिल्याउन सैनामैना नगरपालिकाले विभिन्न आयोजनाहरु अघि बढाएको छ ।
सैनामैना क्षेत्रमा बुद्धको जीवनसँग सम्बन्धित महत्वपूर्ण स्थलहरु छरिएर रहेका छन् । तिनको संरक्षण र प्रवद्र्धन गरेर सैनामैना नगर क्षेत्रलाई लुम्बिनीको पर्यटनसँग जोड्न नगरपालिकाले चाहेको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीलाई नगरका विभिन्न क्षेत्रबाट सडक सञ्जालले जोडिसकेको परिप्रेक्ष्यमा लुम्बिनीको पर्यटनसँग जोड्न नगरपालिकाले महत्वपूर्ण आयोजनाहरु अगाडि बढाउन थालेको हो । विदेशी विद्धान पर्सिवलले ठम्याएको सैनामैनाको दरबार भएको ठाउँलाई स्थानीय मानिसहरुले बुद्धको दरबार भन्ने गरेको डा बिष्णु घिमिरेलाई उद्धृत गर्दै सैनामैना नगरपालिकाले प्रकाशित गरेको सैनामैना दर्पण पुस्तकमा उल्लेख गरिएको छ ।
राजा शुद्धोधनले आफ्ना पुत्र राजकुमार सिद्धार्थको मन बहलाउन राज्यभित्र तीन स्थानमा बनाएका तीनवटा दरबारमध्येको एउटा यही सैनामैनाको दरबार हुनसक्ने सम्भावनालाई नगरपालिकाले औँल्याएको हो ।
यस्तै, बुद्धसँग सम्बन्धित अर्को मान्यता समेत रहेको छ । गौतम बुद्धकी माता महामाया देवीले यसै सैनामैना क्षेत्रकी मैना नामकी सामगामकी नायिका रानीसँग सैना लगाएको हुँदा यस क्षेत्रको नाम सैनामैना रहेको किंवदन्तिलाई पनि इतिहासकारहरु स्मरण गर्छन् ।
सैनामैनामा एक दर्जनभन्दा बढी पुरातात्विक स्थलहरु रहेका छन् । यीमध्ये आधा दर्जन स्थानहरु बुद्धकालीन समयसँग कुनै न कुनै रुपले जोडिएको देखापर्छ ।
सैनामैना नगरपालिकामा करीब तीन दर्जन धार्मिक, प्राकृतिक र सांस्कृतिक सम्पदाहरु रहेका छन् । यी सम्पदाहरुलाई पर्यटकीय गन्तब्यको रुपमा नगरपालिकाले एकीकृत दीर्घकालीन योजना निर्माण गरी विकास गर्ने लक्ष्य राखेको नगरप्रमुख चित्रबहादुर कार्की बताउनुहुन्छ ।
सैनामैना नगरपालिकाको वडा नं १ स्थित रानीबगियामा रहेको पर्राेहापरमेश्वर बोलबमधाम नगरको महत्वपूर्ण धार्मिक सम्पदाको रुपमा रहेको छ । हरेक वर्ष साउन महीनामा भारतबाट समेत बोलबम तीर्थयात्रीहरु दर्शनका लागि यहाँ आउने गर्दछन् ।
यस्तै, अर्को महत्वपूर्ण धार्मिक केन्द्र मलमलाधाम नगरको वडा नं ६ स्थित चुरे शृङ्खलाको काखमा अवस्थित छ । प्राकृतिक सिमसार क्षेत्रको रुपमा राजापानी सिमसार क्षेत्र वडा नं ११ को राजापानी भन्ने स्थानमा रहेको छ । वडा नं ५ बक्सडडाँडामा रहेको काटियामाई मन्दिर, किरातेश्वर मन्दिर, कोटियाथान अन्य धार्मिक स्थलहरु हुन् ।
सैनामैना पर्यावरणीय तथा सांस्कृतिक सङ्ग्रहालय नगरको वडा नं १ मा रहेको छ । यो सङ्ग्रहालयमा पुरातात्विक सामग्री, प्रस्तर मूर्ति, शिलापत्रहरु रहेका छन् । विपश्यना ध्यान केन्द्रसहितको सङ्ग्रहालय निर्माण गर्ने गुरुयोजना तयार पारिएको नगरप्रमुख कार्की बताउनुहुन्छ ।
सङ्ग्रहालय निर्माण हुने क्षेत्रको बिहीबार अवलोकन गर्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले डिपिआर पूरा भइसकेको सन्दर्भमा अब कुनै पनि बहानामा निर्माणका कामहरुमा विलम्ब नगर्न निर्देशन दिनुभयो ।
कुल लागत रु ३८ करोड अनुमान गरिएको यो सङ्ग्रहालय नेपाल सरकारको शहरी विकास मन्त्रालयमातहत निर्माण हुनेछ । यसका लागि पहिलो चरणमा सोही मन्त्रालयले रु १० करोड बजेट विनियोजन गरिसकेको छ ।
सैनामैना नगरपालिकाले अगाडि सारेका योजनाहरुको अवलोकन गर्न पुग्नुभएको महासचिव पौडेलले सैनामैनालाई लुम्बिनीसँग जोडेर विकास गर्नुपर्ने सुझाव दिँदै अहिले सम्भाव्यता अध्ययन भइरहेका योजनाका कामलाई छिटो अगाडि बढाउन पनि निर्देशन दिनुभयो ।
अवलोकनका क्रममा महासचिव पौडेलले सैनामैनाको बुद्धकालीन सभ्यताको संरक्षण र पर्यटन प्रवद्र्धनका कामलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
यस्तै, थारु होमस्टे नगरको वडा न २ उचडिहवामा सञ्चालनमा ल्याउन स्थानीय थारु समुदाय जुटेका छन् । आगन्तुक पाहुनालाई आनन्दित बनाउन होमस्टेसँगै जोडिएको उचडिहवा डिउहार ताललाई थप सुन्दर बनाउने काम थालिएको होमस्टे सञ्चालक समितिका अध्यक्ष खुशीराम चौधरी बताउनुहुन्छ ।
सैनामैना नगरमा रहेको बोलबम हिलपार्क, सैनामैना समावेशी पार्क, पद्मपाणि आश्रम र प्राकृतिक चिकित्सालय, बुद्ध विहार लगायतका स्थललाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने योजना नगरपालिकाको रहेको नगर प्रमुख कार्की बताउनुहुन्छ ।
सैनामैना क्षेत्रबाट लुम्बिनीको सडक यात्राको दूरी करीव १५ किलोमिटर रहेको छ । लुम्बिनी आएका पर्यटकलाई यति छोटो दूरीमा अवस्थित सैनामैनासम्म ल्याउन पर्यटकीय पूर्वाधारको निर्माणमा नगरपालिकाले जोड दिएको छ । नगरपालिकाले पर्यटकीय पूर्वाधार निर्माणलाई दीर्घकालीन योजनामा समेटेको नगरप्रमुख कार्की बताउनुहुन्छ ।
दीर्घकालीन योजनामा रहेका पर्यटकीय क्षेत्र लामिरह जलाशय पार्कलाई बुद्ध सर्किटमा जोड्ने काम शुरु भएको छ । सैनामैना नगरपालिकाको ड्रिम प्रोजेक्टका रुपमा यो बहुउद्देश्यीय पार्कलाई पहिलो प्राथमिकतामा राखेर सम्भाव्यता अध्ययन गरिएको थियो ।
यो जलाशययुक्त पार्कको निर्माणले सैनामैना क्षेत्रमा सिँचाइ सुविधासमेत पुग्ने नगर प्रमुख कार्कीले जानकारी गराउनुभयो ।
उहाँका अनुसार चुरे संरक्षण, पर्यावरण संरक्षण, भूमिगत स्रोतहरुमा पानीको सञ्चितीदेखि हरियाली प्रवद्र्धनमा टेवा पुग्नेछ । यहाँ करीब सात किलोमिटर लामो पैदल पथ निर्माण तथा डुङ्गा सञ्चालन गर्ने समेत योजना छ ।
सैनामैनामै विशेष सङ्ग्रहालय बन्ने भएको छ । सैनामैनाको बुद्धकालीन सभ्यतालाई संरक्षण गर्दै वडा नं १ को बनकट्टामा उक्त सङ्ग्रहालय निर्माण गर्न लागिएको नगर प्रमुख कार्कीले जानकारी दिनुभयो । सङ्ग्रहालयको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ ।
बुद्धकालीन सभ्यताको ऐतिहासिक शहर बुद्धवली भनी मानिने क्षेत्र सैनामैना बुटवलको जितगढीसम्म फैलिएको विभिन्न ग्रन्थहरुमा उल्लेख रहेको पनि उहाँ बताउनुहुन्छ ।
लुम्बिनी आएका पर्यटकलाई सैनामैनासम्म ल्याउने वातावरण निर्माणका लागि पूर्वाधार बनाउने काममा नगरपालिकाले जोड दिइआएको छ ।
सैनामैना नगरपालिकाले आवश्यक कानूनहरुको निर्माणका कामलाई तीव्रता दिएको र स्वीकृत योजना अनुसारका कामहरु प्राथमिकताका साथ अगाडि बढाउने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले बताउनुभयो । रासस (तस्वीर उपलब्ध छ)
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com