‘शान्ति स्थापना र द्वन्द्व समाधानमा राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं उपक्षेत्रीय सङ्गठन आवश्यक’


प्रकाशित मिति : आश्विन ८, २०७६ बुधबार

शरच्चन्द्र भण्डारी/ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विश्वशान्ति स्थापना र द्वन्द्व समाधानमा राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं उपक्षेत्रीय सङ्गठनहरू आवश्यक हुने बताउनुभएको छ ।

शान्ति स्थापना कार्यमा संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं उपक्षेत्रीय सङ्गठनहरूबीच साझेदारी वृद्धि विषयको मन्त्रीस्तरीय उच्च बैठकमा मन्त्री ज्ञवालीले विभिन्न बहुतहबाट बहुपक्षीयतावादमा भएका आक्रमणका सन्दर्भमा आजको बैठक सामयिक भएको बताउनुभयो । समसामयिक विश्वमा द्वन्द्वको व्यापकता र अनुपात झन्झन् जटिल बन्दै गएको तथा त्यसले चुनौती थपेको वास्तविकता औँल्याउँदै उहाँले त्यसको सामना कुनै एउटा संस्थाले मात्र गर्न नसक्ने बताउनुभयो ।

मन्त्री ज्ञवालीले विविध जातीय, सांस्कृतिक, सामाजिक एवं ऐतिहासिक वर्णनले द्वन्द्वका फरक राजनीतिक तथा आर्थिक आयाम प्रकट गर्ने विचार व्यक्त गर्नुभयो । यस्तै परिस्थितिबाट पार पाउन संयुक्त राष्ट्रसङ्घको वडापत्रका लेखकहरूले अन्तरराष्ट्रिय, क्षेत्रीय एवं उपक्षेत्रीय सङ्गठनहरूबीच साझेदारी र सहकार्यको परिकल्पना गरेको मन्त्री ज्ञवालीले बताउनुभयो ।

द्वन्द्व समाधानका लागि राष्ट्रसङ्घलाई आवश्यकताभन्दा बढी महत्व दिइएको बताउँदै परराष्ट्रमन्त्रीले भन्नुभयो, “द्वन्द्व समाधान र रोकथाममा क्षेत्रीय तथा उपक्षेत्रीय सङ्गठनले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने अनुभवले देखाएको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

द्वन्द्व समाधानमा क्षेत्रीय तथा उपक्षेत्रीय सङ्गठनहरूबाट रचनात्मक भूमिका निर्वाह हुने बताउँदै उहाँले ती द्वन्द्व निवारक कूटनीति, मध्यस्थता, पुनःनिर्माण, द्वन्द्वोत्तर विकासका निम्ति ती सङ्गनहरूको क्षमता अभिवृद्धि गर्नुपर्नेमा पनि उहाँ जोड दिनुभयो ।

‘साउदी अरेबिया र बहराइन नेपालको आर्थिक उन्नयनका लागि सघाउन तत्पर’ खाडी मुलुक साउदी अरेबिया र बहराइनले नेपालको सामाजिक–आर्थिक उन्नयनका निम्ति सघाउन तत्पर रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिने सिलसिलामा यहाँ रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग बुधबार साउदी र बहराइनका उच्च अधिकारीहरूबाट भएका बेग्लाबेग्लै भेटवार्तामा नेपालको समृद्धितर्फको यात्रामा सघाउने तत्परता व्यक्त भएको हो ।

मन्त्री ज्ञवालीलाई साउदी अरेबियाका विदेशमन्त्री इब्राहिम अब्दुलाजिज अल असफले राजनीतिक स्थायित्व प्राप्तिसँगै विकासको बाटोमा लम्किएको नेपाललाई सक्दो सहयोग गर्ने बताउनुभएको थियोे । त्यस अवसरमा नेपाल–साउदी अरेबिया सम्बन्धका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श भएको थियो । नेपालीको श्रम गन्तव्य मुलुक साउदीमा नेपाली कामदारका हितको रक्षा र सुरक्षा, नेपालमा साउदी लगानी, व्यापारलगायत विषयमा केन्द्रित रहेर दुवै देशका मन्त्रीले विचार आदान–प्रदान गर्नुभएको थियो ।

साउदी विकास कोषमार्फत नेपाललाई सहायता उपलब्ध गराउने सम्बन्धमा पनि दुवै देशका परराष्ट्रमन्त्रीले छलफल गर्नुभएको थियो । मन्त्री ज्ञवालीले लगानीका निम्ति नेपालमा उपयुक्त वातावरण बनेको तथा लगानीको प्रतिफल पनि सहजै फिर्ता लैजान सकिने व्यवस्था नेपाल सरकारले गरेकाले साउदी अरेबियाका लगानीकर्तालाई नेपालमा पूँजी परिचालनका निम्ति प्रेरित गर्न आग्रह गर्नुभयो ।

नेपालको पर्यटन पूर्वाधार तथा कृषिलगायत क्षेत्रमा लगानी गर्दा पर्याप्त लाभ हुने भएकाले ती क्षेत्र लगानीका निम्ति अति प्रभावकारी हुने जानकारी पनि मन्त्री ज्ञवालीले दिनुभयो । एक पृथक प्रसङ्गमा उहाँले अतिवाद र आतङ्कवादको नेपाल सधैँ विपक्षमा रहेको उल्लेखगर्दै आतङ्कवादका जुनसुकै रुप र प्रकटीकरणको निन्दा गर्छौँ भन्नुभयो ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को आगामी कार्यकालका लागि उम्मेदवारी दिएका नेपाल र साउदी अरेबियाले उक्त निर्वाचनमा कसरी साझेदारी गर्ने भन्नेबारेमा पनि मन्त्रीद्वयबीच छलफल भएको थियो ।
परिषद् सदस्यमा एशिया–प्रशान्त क्षेत्रबाट चार देश सदस्य बन्नसक्ने प्रावधान छ, तर उक्त क्षेत्रबाट पाँच राष्ट्रले उम्मेदवारी दिएका छन् ।

यसैगरी आजै बहराइनका विदेशमन्त्री खालिद बिन अहमद अल खलिफासँगको भेटमा दुवै देशबीच श्रम सम्बन्धमा भएका सहमतिलाई शीघ्रतिशीघ्र कार्यान्वयन गर्न मन्त्रीद्वयले प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल र बहराइनबीच बहुपक्षीय एवं क्षेत्रीय मञ्चहरूमा साझेदारी गर्ने तथा विद्यमान सम्बन्धलाई नयाँ गति दिनेमा पनि दुवै मन्त्रीबीच सहमति भएको छ । मन्त्री ज्ञवालीलाई बहराइनका विदेशमन्त्रीले आफ्नो देशको भ्रमणको औपचारिक निमन्त्रणासमेत दिनुभयो थियो ।

नेपालको आर्थिक विकासका निम्ति बहराइनको सहयोगको महत्वपूर्ण भूमिका हुने बताउँदै मन्त्री ज्ञवालीले भौतिक पूर्वाधार, ऊर्जा र जलस्रोतका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । मन्त्री खलिफाले विकास र समृद्धितर्फको नेपालको यात्रामा बहराइनले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो । साथै उहाँले नेपाली श्रमिकको इमानदारी, निष्ठा र कर्तव्यपरायणताको प्रशंसा गर्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com