‘टाँगाको शहर’ नेपालगञ्ज अब एकादेशको कथा मात्रै


प्रकाशित मिति : असार २०, २०७६ शुक्रबार

– काशीराम शर्मा

अंग्रेजले भारतमा शासन चलाएको बेला लखनउ विद्रोह दबाउन राणासँग सहयोग मागेका थिए । त्यस क्रममा आफैं लखनउ पुगेका तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले त्यहाँजस्तै गञ्ज (शहर) नेपालमा पनि बनाउने सपना देखे । विद्रोह असफल पार्न सहयोग मिलेपछि अंग्रेजले आफूले युद्धमा जितेको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता दिए ।

त्यसपछि बाँकेको समथर फाँट छानेर राणा शासकले नेपालगञ्ज बनाउने आदेश दिएका थिए । त्यतिबेला आधुनिक सवारी साधन थिएनन् । राणा र राजपरिवारबीच बग्गी प्रचलनमा रहेको नेपालगञ्जका जानकारहरुको भनाइ छ । दुई पाङ्ग्रा भएको साधनलाई एउटा जनावरले तान्ने गरी बनाइएको स्वरुप नै बग्गी भएको नेपालगञ्जका साहित्यकारसमेत रहनुभएका सनत रेग्मी बताउनुहुन्छ ।

उहाँका अनुसार त्यसलाई एक्का भनिन्थ्यो, पछि समय परिर्वतनसँगै त्यसैलाई टाँगा भन्न थालियो । आधुनिक प्रविधि र सवारीसाधन प्रवेश गर्नुपूर्व नेपालगञ्जमा टाँगा नै सर्वसाधारणका लागि अत्यावश्यक सवारीका रुपमा स्थापित भएको थियो । उहाँले भन्नुभयो – “त्यसैले त, नेपालगञ्ज टाँगैटाँगाको शहर भनेर चिनिन थालेको हो ।” उहाँका अनुसार टाँगा चढ्न नेपालगञ्ज आउने पर्यटक धेरै भेटिन्थे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

करीव २०० वर्ष पुरानो नेपालगञ्ज शहरको मौलिकताका रुपमा रहेको टाँगामा बसेर यात्रा गर्नुको मज्जै बेग्लै हुन्थ्यो । कुनै बेला शहरको मुख्य सवारीसाधन टाँगा थियो । नेपालगञ्जदेखि कोहलपुर–चिसापानीसम्म टाँगा चल्थे । खजुरा बजारमा रहेको विमानस्थल पुग्ने एक मात्र साधन टाँगा थियो । नेपालगञ्ज घुम्न आउने जो कोहीका लागि टाँगाको यात्रा रोमाञ्चक रहन्थ्यो । धेरैले घोडा चढ्ने रहर टाँगा चढेर पूरा गर्थे ।

सुर्खेत रोड हुँदै नेपालगञ्ज–रुपैडिया मार्गमा टाँगा चल्दासम्म व्यवसायीलाई राम्रै आम्दानी हुन्थ्यो । शुरुमा रिक्साले यात्रु खोसे । त्यसपछि मिनी बस र अहिले इलेक्ट्रिक रिक्साले । दुई÷चार वटा टाँगा मुश्किलले देख्न पाइन्छ । नेपालगञ्जबाट भारतीय सीमा रुपैडिहासम्म किनमेल, घुमघामलगायत काममा जाँदा पहिलो रोजाइको साधन हुन्थ्यो, टाँगा । नेपालगञ्जको परिचयसँग जोडिएको यो व्यवसाय पछिल्लो समयमा लोप हुने सङ्घारमा पुगेको छ ।

आधुनिक यातायातका साधनको सङ्ख्या बढेसँगै यो व्यवसायमा सङ्कट आएको हो । उतिबेला नेपालगञ्जमै करीव ५०० को हाराहारीमा टाँगा रहेकामा अहिले मुश्किलले दुई÷चार वटा मात्रै देखिन्छन् । नेपालगञ्जमा टाँगा देख्नै मुश्किल भइसकेको छ । व्यवसाय सङ्कटमा परेपछि अधिकाँश टाँगा व्यवसायी मजदूरीका भारत जाने गरेका छन् । हाल टाँगा चलाउने पेशा गर्ने धेरैले घोडा बेचिसकेका छन् ।

“राजा, महाराजा र मन्त्रीहरू आउँदा पनि टाँगा चढ्ने गरेको इतिहास छ,” साहित्यकार रेग्मीले स्मरण गर्दै भन्नुभयो – “नेपालगञ्ज आउनु भनेको टाँगा चढ्नु हो भन्ने चलन जस्तै थियो । समयको मागसँगै मानिसमा आएको विलासिताको लहडले नेपालगञ्जमा टाँगा लोप हुँदै गएका छन् । मानिसहरु आजभोलि रिक्सा चढ्छन्, गाडीमा हुइँकिन्छन् ।” यतिबेला नेपालगञ्जमा मुश्किलले पाँच÷छ वटा टाँगा मात्र देखिन्छन् ।

अर्का साहित्यकार एवं नेपालगञ्जका पुराना बासिन्दा सच्चिदानन्द चौवेका अनुसार रानीबगियाका चुन्नी साहुका कुनैबेला १२ वटासम्म घोडा थिए । त्यसबेला उनी टाँगा चलाउँथे, अरूलाई पनि भाडामा दिन्थे । टाँगाको स्थान रिक्सा, अटोरिक्सा र विभिन्न मोटरगाडीले लियो । टाँगा व्यवसायीहरु विस्तारै विस्थापित भए । उनीहरुले समयको मागलाई ध्यानमा राख्दै आफ्नो पेशासमेत बदलेका छन् । अहिले घोडाको कामै छैन ।

‘टाँगा चढेर राप्ती नदीको किनारमा घुम्न र नुहाउन गएको विगत र वर्तमानलाई तुलना गर्दै चौवेले भन्नुभयो – “टाँगा विस्थापनसँगै यहाँका धेरै सुमदायको रोजीरोटी खोसिएको छ ।” टाँगाहरुको आधुनिकीकरण हुन नसक्नु र संरक्षणको पहल नहुनु नै टाँगा विस्थापनको कारण भएको उहाँ बताउनुहुन्छ । अहिले धेरै मानिसहरू घोडो तस्वीर खिच्न मात्रै आउने गरेको टाँगा चालकहरू बताउँछन् ।

त्रिचालीस वर्षदेखि नेपालगञ्जमा टाँगा हाँकेर गुजारा गर्दै आउनुभएका मुन्नाको पनि हालत उस्तै छ । घोडालाई खुवाउने घाँसको धुलो, चनाको पीठो र धानको भुस किन्नसमेत पैसा नभएपछि आफूले घोडालाई खुला चौरमा चर्न छोडिदिने गरेको उहाँले बताउनुभयो । “कुनैबेला घोडाका चरन क्षेत्र रहेका स्थान घरहरुले भरिएका छन्,” मुन्नाले भन्नुभयो – “आजभोलि नेपालगञ्जमा टाँगामा चढ्ने मान्छे नै भेटिन्नन्, दिनभरि दौडायो, साँझ घोडालाई खानेकुरा किन्नेसम्म पैसा हुन्न ।”

नेपालगञ्जमा रहेका केही टाँगा व्यवसायीहरुको यही नै हो पीडा । पहिले मुस्लिम समुदायमा धेरैजसोले टाँगा चलाउँथे । टाँगा व्यवसायी मुन्ना भन्नुहुन्छ – “टाँगा हराए, हाम्रो काम पनि सकियो । टाँगा हराएसँगै टाँगावालाको पेशा सङ्कटमा मात्रै परेको छैन यो हराई नै सक्यो । टाँगाको शहर नेपालगञ्ज अब एकादेशको कथाजस्तै भइसक्यो । टाँगाको शहरको पहिचान गुमेको छ । टाँगा चालकको रोजगारी पनि खोसिएको छ ।”

टाँगा हराउँदा टाँगाका लागि घाँस काट्ने घँसियारहरुको समेत पुख्र्यौली पेशासमेत सङ्कटमा परेको छ । टाँगा हराउँदा घँसियारको जीविका मात्र नभई इतिहास पनि सङ्कटमा परेको नेपालगञ्ज महेन्द्रपार्कस्थित घाँस मण्डीका घँसियारहरु बताउँछन् । कुनैबेला नेपालगञ्ज उपमहानगरपालिका सरस्वती उमाविको छेउमा टाँगा स्टेशन थियो । जुन स्थान अझ पनि टाँगा स्टेशनका रुपमा परिचित छ ।

टाँगाका लागि पालिएका घोडालाई धेरै घाँस चाहिन्थ्यो, त्यसैले माग धान्न मुस्किल थियो तर, अहिले घोडा नै नभएपछि उनीहरु पनि बेरोजगार बनेका हुन् । टाँगा चालक तथा टाँगा व्यवसाय गर्दैआएका अधिकाँश हाल ईंटा भट्टामा ईंट्टा, माटो बोक्ने, हार्डवेयर लगायतका सामग्री ढुवानी गर्न सक्रिय छन् । “यहाँ पनि प्रतिष्पर्धा धेरै भएकाले काम पाउनै मुश्किल छ,” नेपालगञ्ज धम्बोझीमा भेटिएका बग्गी चालक जलाल बेहना बताउनुहुन्छ ।

नेपालगञ्जदेखि भारतीय सीमावर्ती बजार रुपैडिहाबाट सामान खरिद गरी ल्याउने र आवातजावत गर्ने मुख्य साधनका रुपमा रहेको थियो टाँगा । कुनैबेला नेपालगञ्जमा टाँगा सञ्चालकहरुको सङ्गठन नै थियो । आधुनिक सवारी साधनले टाँगा विस्थापन गरेपछि टाँगा स्टेशन सम्म भेट्टाउन सकिन्छ, टाँगा भेट्टाउन निकै मुश्किल छ । नेपालगञ्जको यो पहिचानलाई जोगाउन नेपालगञ्ज उपमहानगरपालिकाले चासो नदिएको टाँगा व्यवसायीहरुको गुनासो छ ।

तीन वर्ष अघिसम्म टाँगा व्यवसायी समितिका अध्यक्ष रहेका सहादल अलीेका अनुसार विगतमा रिक्साका कारण समस्यामा परेको व्यवसाय अटोरिक्सा आएपछि टाँगा व्यवसाय अब एकादेशको कथाजस्तै भएको छ,” अलीले भन्नुभयो – “स्थानीय रुटमा शुरुमा रिक्सा र पछि ई–रिक्साको प्रयोग हुन थालेपछि टाँगा विस्थापित भए ।”

विस्थापित नै हुने अवस्थामा पुगेपछि टाँगावालहरू आन्दोलन र विरोधमा पनि उत्रिए तर, उनीहरुको केही लागेन । मुख्य चोक धम्बोझी छेउको बेलासपुरबाट टाँगा स्ट्यान्ड नगर भवन सामुन्ने सारियो । सुर्खेत रोड चार लेनमा विस्तार हुने बेलासम्म स्थानीय प्रशासन र प्रहरीले रुट फेरेर टाँगालाई अस्पताल रोडमा मात्र सीमित गरिदिए । टाँगाबाट जीविका चल्न छाडेपछि केही व्यवसायी भारत छिरेर मजदूरी गरिरहेका छन् ।

केही रैथानेले आफ्ना घोडा र खच्चडलाई ईंटाभट्टामा लगाएका छन् । अहिले स्टेशनमा टाँगा नै देखिँदैनन् । अलीले भन्नुभयो – “पुराना रिक्सा चलाउनेले ऋण लिएर बिजुली रिक्सा किनेका छन् । हामी भएको घोडा कहाँ बेचौँ भन्ने अवस्थामा पुगेका छौँ ।” टाँगा व्यवसाय छाडेर अरु काम गरे पनि घोडा र खच्चड पाल्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

तीन वर्ष अघिसम्म नेपालगञ्जका टाँगा व्यवसायीको दैनिक कमाइ रु दुई हजारदेखि रु तीन हजारसम्म हुने भए पनि अहिले रु दुई÷चार सय कमाउनै मुश्किल छ । त्यसकारण उनीहरु यो पेशा छाडिरहेका छन् । “अहिले बजारमा यात्रु पाउन गा¥हो छ,” टाँगा चालक जब्बर अलि भन्नुहुन्छ – “दिनभरको कमाइले साँझ–बिहानको छाक टार्न र घोडाको दानापानीको जोहो गर्न मै सकिन्छ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com