युएससीआईएसका नयाँ कार्यकारी निर्देशकको घोषणा, सरकारी सुविधा लिनेका स्पोन्सरमाथि कारवाही


प्रकाशित मिति : जेष्ठ ३१, २०७६ शुक्रबार

युएससीआईएसका नवनियुक्त कार्यकारी निर्देशक केन कुसिनेलीले सरकारी सुविधा लिने आप्रवासीका स्पोन्सरबाट क्षतिपूर्ति भराउने नियमको कार्यान्वयनका लागि थप कदम चालेका छन् । शुक्रबार एक वक्तब्य जारी गर्दै उनले अब युएससीआईएसका अधिकारीहरुले आप्रवासीको ग्रिनकार्ड अन्तरवार्ताका क्रममा नै अन्तरवार्ता दिने व्यक्तिलाई स्पोन्सर गर्ने व्यक्तिको उत्तरदायीत्वबारे जानकारी गराउने भएका छन् ।

स्पोन्सरकर्ताले भर्ने स्पोन्सर फर्म स्पोन्सर र अमेरिकी सरकारबीचको सम्झौता भएको तथा स्पोन्सर गरिएको आप्रवासीले स्वास्थ्य लगायतका कुनै सरकारी सुविधा लिएमा त्यसको क्षतिपूर्ति सरकारले स्पोन्सरकर्ताबाट गराउने युएससीआईएसका अधिकारीहरुले ग्रिनकार्ड अन्तरवार्ताका क्रममा जानकारी गराउने भएका छन् । गत मे २३ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पोन्सरकर्तालाई कानुनी रुपमा उत्तरदायी बनाउन जारी गरेको मेमोलाई कार्यान्वयनका शिलशिलामा युएससीआईएसले नयाँ कदम चालेको हो ।

राष्ट्रपतिको मेमोलाई पूर्णतया कार्यान्वयनका लागि आगामी केही महिनाभित्रै सरकारका संघीय निकायहरुले योजनाहरुको विकाश र लागु गर्ने कुसिनेलीले जनाएका छन् । युएससीआईएसले पनि सरकारका अन्य निकायसँग समन्वय गरेर काम गर्ने जनाइएको छ ।

सरकारका सुविधाहरुको उपयोग गर्नुको साटो आप्रवासीले उनीहरुका परिवार, स्पोन्सर र निजी संघ संस्था तथा आफैमा निर्भर हुने वातावरण बनाउनका लागि सरकारी सुविधा खाने सम्भावना भएकाहरुलाई अमेरिका प्रवेशमा रोक लगाउन राष्ट्रपतिको निर्देशिकालाई प्रभावकारी रुपमा अगाडि बढाउने कार्यकारी निर्देशकको भनाई छ ।

अमेरिकामा आप्रवासीले सरकारी सुविधा लिएमा त्यसको क्षतिपूर्ति स्पोन्सरकर्ताबाट सरकारलाई भराउने नियम बिल क्लिन्टन राष्ट्रपति भएकै बखत ल्याइएको थियो । तर त्यसको कार्यान्यन भने झण्डै २३ बर्षपछि राष्ट्पति डोनाल्ड ट्रम्पले गर्ने तयारी गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com