अमेरिकामा परिवारमा आधारित कुन ग्रिनकार्ड पाउन कति समय ?


प्रकाशित मिति : बैशाख १८, २०७६ बुधबार

अमेरिकाका विभिन्न प्रकारका ग्रिनकार्डका श्रेणीहरु रहेका छन् । फरक फरक श्रेणीका ग्रिनकार्ड प्राप्त गर्नका लागि फरक फरक अवधि लाग्ने गर्छ ।

खासगरी परिवारमा आधारित, रोजगारमा आधारित र डिभी लोटरीमा आधारित ग्रिनकार्ड प्राप्त गर्नका लागि नेपालीहरुलाई एकबर्षदेखि १३ बर्षसम्म लाग्ने गर्छ । चीन, भारत, मेक्सिको र फिलिपिन्सका नागरिकलाई केही श्रेणीका लागि लाग्ने अवधि नेपालीहरुका लागि भन्दा अझ धेरै रहेको छ ।

अमेरिकी नागरिकका २१ बर्ष नाघेका अविवाहित छोराछोरीहरुका लागि ग्रिनकार्डका लागि झण्डै साढे ७ बर्षको अवधि लाग्ने गरेको छ । त्यस्तै ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका लागि ग्रिनकार्ड प्राप्त गर्न झण्डै २ बर्षको अवधि लाग्ने गरेको छ ।

ग्रिनकार्डबाहकका २१ बर्ष नाघेका अविवाहित छोराछोरीहरुका लागि ग्रिनकार्ड प्राप्त गर्न झण्डै साढे ६ बर्ष लाग्ने गरेको छ । अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुका लागि ग्रिनकार्ड प्राप्त गर्न झण्डै साढे १२ बर्ष लाग्ने गरेको छ । अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका लागि ग्रिनकार्ड प्राप्त गर्न झण्डै साढे १३ बर्ष लाग्ने गरेको छ ।

परिवारमा आधारित ग्रिनकार्डका सन्दर्भमा अमेरिकी नागरिकताप्राप्त व्यक्तिका २१ बर्षभन्दा कम उमेरका छोराछोरी र दम्पत्तिका लागि भने लामो समय कुर्नुपर्दैन । यो श्रेणीको ग्रिनकार्डलाई कोटामा सिमित गरिएको छैन ।

रोजगारमा आधारित प्रथम श्रेणीको ग्रिनकार्ड प्राप्त गर्नका लागि झण्डै १४ महिनाको अवधि लाग्ने गरेको छ । डिभी लोटरीबाट ग्रिनकार्ड प्राप्त गर्नका लागि भने लामो समय लाग्दैन । तपाईले डिभी लोटरी प्राप्त गरेको बर्षका लागि भिसा प्राप्त गरेर अमेरिका आउनासाथ ग्रिनकार्ड प्राप्त गर्नुहुनेछ ।

अमेरिकामा नै स्टाटस एड्जस्ट गरेर ग्रिनकार्ड प्राप्त गर्नका लागि विभिन्न सर्भिस सेन्टरमा लाग्ने अवधि फरक फरक रहेको छ । उदाहरणका लागि एसाइलमबाट ग्रिनकार्ड प्राप्त गर्दा तपाईको आवेदन नेब्रास्का सर्भिस सेन्टरमा छ भने आवेदन प्राप्त भएको मितिले साढे ६ महिनादेखि २८ महिनासम्म र नेब्रास्का सर्भिस सेन्टरमा रोजगारमा आधारित ग्रिनकार्डका लागि २७ देखि ३७ महिनासम्म लाग्ने गरेको छ ।

यो समाचार पछिल्लो भिसा बुलेटिनमा आधारित छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com