साहसी सुविना : बन्दुक र बिपत्तिमाझ रिपोर्टिङ गर्ने नेपाली महिला पत्रकारका कथा


प्रकाशित मिति : फाल्गुन १९, २०७९ शुक्रबार

– अस्मिता खड्का 

(हामीले मार्च महिनालाई शशक्तिकरण महिनाको रुपमा मनाइरहेका छौं । र तपाईहरुलाई मार्च महिनाभर शक्तिकरणका कथाहरु सुनाउदै जानेछौं । यो सामाग्री अन्तिम पटक मार्च ३, २०२३मा अपडेट गरिएको छ । – सम्पादक)

ललितपुर पाटनकी सुविना श्रेष्ठ , अन्तराष्ट्रिय मिडिया जगतमा स्थापित र चर्चित नाम हो । उनी १५ वर्षदेखि  अल जजिरा लगायतका विभिन्न अन्तराष्ट्रिय मिडियाहरुमा काम गर्दै आएकी छन । अन्तराष्ट्रिय मिडियामा काम मात्र होइन,आफूलाई अब्बल सावित गरिसकेकी छन, सुविना । उनका सामाग्रीहरु न्युयोर्क टाइम्स, द वायर लगायतका चर्चित अन्तराष्ट्रिय संचारमाध्यममा प्रकाशित छन् ।

निडर र क्षमतावान नेपाली पत्रकार सुविना व्यवहारमा जति सरल र मिलनसार छन,त्यतिनै कडा प्रश्नकर्ता, लेखक तथा प्रस्तोता पनि हुन । कामप्रति कडा मेहनत गर्ने सुविनाले अहिलेसम्म १२ वटा अन्तराष्ट्रिय अवार्ड आफ्नो पोल्टोमा पारिसकेकी छन् । अतिधेरै अन्तराष्ट्रिय पुरस्कार जित्ने उनी एक्लो नेपाली पत्रकार हुन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्वभरका पत्रकारसँग प्रतिस्पर्धाबाट प्राप्त हुने एमी र रोरी प्याक पुरस्कारको लागि नोमिनेसमा पर्ने उनी पहिलो नेपाली पत्रकार हुन् । यो स्तरको पुरस्कारका लागि अहिलेसम्म कुनै पनि नेपाली पत्रकार नोमिनेसनमा परेकै थिएनन् । एकेडेमी अवार्ड, टोनी अवार्ड र ग्रामी अवार्ड सरहको मानिने टेलिभिजन क्षेत्रको सम्मानित पुरस्कार हो ‘एमी’ । यो पुरस्कारको लागि नोमिनेसमा पर्नु नै महत्वपूर्ण हो ।

उनले नेपालबाट मात्र होइन,चाइना,थाइल्याड,मलेसिया,बंगलादेश,श्रीलंका,भारत र बर्मा लगायतका देशमा पुगेर पीडित वर्ग,जाति,लिङ्ग,समुदायका बारेमा जिवनलाई हत्केलामा राखेर रिपोर्टिङ गर्नुका साथै बृत्तचित्र समेत बनाएकी छन् । एउटा नेपाली छोरी बिदेशी भूमिमा पुगेर, त्यहाँका शासक विरुद्ध पीडितको पक्षमा दुनियाँले सुन्ने र देख्नेगरी बोल्नु मामुली कुरा हुँदै होइन ।यो काम एउटा निडर र निसपक्ष पत्रकारले मात्र गर्नसक्छ ।

बर्माको नर्गिस चक्रवात

अंग्रेजी बृत्तचित्रमा काम गरेको अनुभवका आधारमा सुविनाले सर्कसका लागि बेचिएका बालबालिको डकुमेन्ट्री फिल्म बनाएर, मलेसियामा रहेको अलजजिरा टेलिभिजनको  कार्यलयमा पुगिन् । सम्पादकसँग आफ्नो आइडिया र कामको कुरा सुनाईन् । उनको आइडियाबाट प्रभावित भएका सम्पादकले बर्मामा समाचार संकलन गर्न जाने,मौका दिए । यो उनको जिवनमा सबैभन्दा ठूलो ट्रनिङ पोइन्ट थियो । युद्धको रिपोर्टिङ गर्नु सामान्य कुरा थिएन, तर सुविना खतरासँग डराईनन् ।

कुरा २००८ को हो !  अहिले त पत्रकारितामा महिला टिक्न सजिलो छैन । त्यसमाथि आफ्नो देशभन्दा बाहिर, युद्ध क्षेत्रको समाचार संकलन गर्ने कुरा सानो र सजिलो काम थिएन । बर्मा पुग्दाको पहिलो अनुभव सुनाउँदै भनिन् ‘मेरो अनुहार बर्मेलीसँग मिल्दो जुल्दो देखिन्छ । विदेशी पत्रकारलाई सेनाले बस्तीहरुमा जान दिएको थिएन । समाचार संकल्नका लागि त्यहाँ पुगेका बिदेशी पत्रकारहरुलाई सेनाले बाहिर निकालिरहेको थियो । तर, म सजिलै गएँ । नेपाली पार्सपोर्ट ! त्यसमाथि केटी ! मलाई त, कसैले पत्रकार भनेर शंका समेत गरेनन् ।’

आँधीका कारण तहसनहस भएको बर्माका बारेमा धेरै समाचारहरु आए । तर, उनले लेखेको एउटा स्टोरीले अफिसमा तहलका नै मच्चियो । ‘मर्ने त मरे तर, बाँच्नेहरु कसरी बाँचेका छन् भन्ने एंगलबाट स्थानिय जनताको आवाज सहित चार मिनेटको फिचर बनाएको बताउँदै सुविनाले घटनाबारे सुनाउँदै भनिन् ‘त्योभन्दा पहिला बर्मामा भएकोतहसनहस बारे विस्तृतमा रिर्पोटहरु बाहिर आएका थिएनन् ।’

‘मान्छे धेरै मारिएका छन्, भन्ने अपुष्ट खबर त, मिडियामा आए तर, मारिएका मानिस रोडछेउमा यत्रतत्र छरिएका हृदय विदारक दृष्यहरु कुनै टेलिभिजनहरुले प्रशारण गरेका थिएनन । उनहरुलाई त्यहाँ जान दिएकै थिएन । सेनाले यी सबै कुरा लुकाइरहेको थियो । मानिस मारिएको १० औँ दिनसम्म बाटैभरी शवहरु यत्रतत्र छरिएका थिए । शबहरु सुकिरहेका थिए । यी सबै दृश्यहरु क्यामरामा कैद गरे । त्यसपछि मात्र विश्वले देख्न पायो, बर्माको वस्तविकता !’

सन् २००८ मा बर्मामा आएको आँधीका कारण झण्डै डेढलाख मानिसले ज्यान गुमाएको अनुमान छ । त्यहाँको सरकारले कुनै पनि अन्तराष्ट्रिय सहयोग लिनबाट अस्विकार गरेको थियो । सत्ता सेनाको हातमा थियो । राजनीतिक नेताहरु जेलमा थिए ।

बिदेशी पत्रकारलाई समाचार संकलन गर्न प्रतिबन्ध लगाएको क्षेत्रमा पुगेकी नेपाली पत्रकार सुविनाले,सबै काम आफै गरेको बताउँदै भनिन्‘आफै लेखें, आफै भिडियो खिचेँ र आफै सम्पादन गरेर अफिसमा पठाउँथे । मलाई लाग्दथ्यो,यस्तो काम सबै पत्रकारले गर्दछन् । तर,बर्मा पुगेर मात्र थाहा भयो, सबैले, सबैकाम गर्न सक्दैन रहेनछन् ।’

रिर्पोटिङमा गएका अन्य पत्रकारहरुकोभन्दा उनले लेखेका रिपोर्टहरु अलजजिरामा धेरै प्रसारण भए । त्यहीँको रिपोर्टिङबाटै उनी रोरी पेक पुरस्कारको लागि नोमिनेसनमा परिन् । ‘ रोरी पेक पुरस्कारको लागि नोमिनेसनमा पर्नु नै ठूलो रहेछ, त्यो कुरापछि थाहाभयो सुविनाले सुनाईन ।’ उनले बर्मामा गरेको रिपोर्टिङबाट अवार्ड पनि जितेकी थिईन । यो पुरस्कारले उनमा झै आत्मविश्वास बढायो ।

अन्तराष्ट्रिय पत्रकारीता क्षेत्रमा स्थापित हुन, सामान्य क्षमताले पुग्दैन, त्यसको लागि विलक्षण प्रतिभा अनि कडा परिश्रम चाहिन्छ । सुविना लेख्ने मात्र होइन, भिडियो खिच्ने, सम्पादन गर्नेमा पनि उत्तिकै दक्ष छिन् । हरेक विषयलाई मसिनोगरी केलाउने र जस्ताको तस्तै प्रस्तुत गर्नसक्ने उनको सबैभन्दा ठूलो खुबी हो ।

वर्मा मिसनको अर्को घटना सुनाउँदै भनिन्, ‘अलजजिराकै एक जना पत्रकारले बढो सानका साथ भने, ‘तिम्रो त खै कुन्नी मेरो स्टोरी त प्रशारण हुन्छ ।’ म केही बोलिन । मनमै सोचेँ, प्रसारण नभए के भो त, म कर्मचारी होइन । तर, केही समयपछि टिभि खोल्दा,मेरो मात्र रिपोर्ट बज्यो । त्यहाँ केही बोल्नु पर्ने थिएन ।’

सुरुमा उनीसँग काम गर्न हिचकिचाएका विदेशी पत्रकारहरुले बल्ल सुविनालाई गम्भीरतापूर्वक लिनथाले । पिडित बर्मेलीहरुको वास्तविक कथा बाहिर ल्याउन सुविनाले गरेको हिम्मत र उनको लेखन शैलीदेखेर विदेशी पत्रकारहरु चकित परे ।

अर्काको देशमा पुगेर,बन्दुकको घेरा बीचबाट दुनियाँ चकित पार्ने समाचार लेख्ने साहसी पत्रकार सुविना ललितपुर पाटनकी हुन । उनको जन्म सामान्य परिवारमा भएको थियो ।

त्यस्तो अवस्थामा समाचार संकलन गर्न जाँदा कहिल्यै डर लागेन ?  हाम्रो जिज्ञासामा सुविनाले भनिन् ‘लाग्यो नि ! एक दिन बस्तीमा गएको थिएँ । फर्केर आउँदा बाटैभरि सेनाले चेक गरिरहेको थियो । बर्मेली जस्तो बनेर स्कुटीकोपछि बसेको थिएँ । ति साथीले भन्दैथिए सिधा नहेर तल हेर है । सेनाले चेकजाँच निकै कडा गरेको थियो । हाम्रो भाग्य भनौ, वा के भनौ ? सेनाले हामीलाई चेक नगरी छोडिदियो । त्योबेला मसँग क्यामेरा, क्यामराको टेपहरु थिए । जब हामीले नदी पार गरेका थियौं, खुट्टा काप्न थाल्यो । यो दिन अहिले पनि याद छ ।’

पत्रकारिताले दिने खुशी र नसामा रमाउने सुविना, काम बाहेक अरु कुराको प्रवाह गर्न छोडी सकेको थिईन । ‘ रोरी पेक अवार्डका लागि मेरो नाम नोमिनेसनमा पर्यो । त्योबेला एउटा साथीले फोन गरेर भन्यो, ‘यस्तो किसिमको पत्रकाररिता निकै लत हुन्छ । रोरी पेकमा नोमिनेसमा परेका मेरा आधा साथीहरुको मृत्यु भैसक्यो । तिमीलाई त्यस्तो नहोस् । ख्याल गर है !’

‘ एक पटक पाएपछि अझ काम गर्ने इच्छा जागेर आउँछ, जुन निकै खतरनाक हुन्छ ।‘ त्यो अवार्ड पाएको एक जना साथीको बम बलास्टमा मृत्यु भयो । त्यो खबरपछि मैले यतिधेरै खतरा मोल्न छोडी दिएँ ।

पत्रकारिताको यात्रा

उनलाई सानैदेखि सामाजिक न्यायको क्षेत्रमा काम गर्ने सुचि थियो । तर, अध्यायनको बेला भारतका वेश्यालयमा नेपाली चेलीहरुको बेहाल देखेर अत्तालिएकी सुबिना, ‘सोसल वर्क’ पढिरहेको कलेजलाई झुट बोलेर पत्रकारिता पढ्ने निधो गर्दै रात्रिकालीन कलेजमा भर्ना भईन ।

समाजमा रहेका समस्याहरु देखेर अत्तालिएकी सुविनाले मनमनै सोच्न थालिन ‘यतिधेरै समस्या ! परिर्वतनका लागि एक—एक जना भेटेर कसरी गर्ने ? यो म बाट हुन सक्दैन । त्यसको लागि म उनीहरुको आवाज बनेर बोल्नुपर्छ भन्ने लाग्यो । जसको लागि राम्रो माध्यम पत्रकारिता हुन सक्छ भन्ने लाग्यो र पत्रकारिता पढ्न थाले । ‘ उनी दुबै कलेजको पढाईलाई पुरा गरेर नेपाल फर्किईन । नेपाल फर्किए लगत्तै उनले काठमाडौँ पोष्टमा काम गर्न थालिन ।

उनी विदेशी मिडिया, बिबिसि,न्यूयोर्क टाइम्स, द वायर हुँदै,अहिले अलजजिराको नेपाल प्रमुखको रुपमा काम गरिरहेकी छन् भने स्वदेशी मिडियाहरु काठमाडौँ पोष्ट र रिपब्लिकामा लेखहरु लेख्दै आएको छन् । उनी समाचार लेखनको साथै डकुमेन्ट्री फिल्म पनि बनाउँदै आएकी छन् ।

उनी भुटानी सरणार्थीहरुको डकुमेन्ट्री बनाउँदा नेपालदेखि अमेरिकासम्मनै पुगेको बताइन् । उनले सर्कसवाला डकुमेन्ट्री बनाउँदा निकै समस्या भोग्नु परेको थियो । भारतको यूपिमा पटक—पटक गुडाहरुहरुबाट लेखेटिनु पेरेको थियो । ज्यान मार्ने धम्की धेरै पटक आए । त्यसको लागि उनले बस्ने ठाउँदेखि हिड्ने गाडी समते धेरै पटक परिवर्तन गर्नु पर्यो । तर, उनले सर्कसको लागि बेचिएका बालबालिकाको बारेमा डकुमेन्ट्री बनाएरै छोडिन । उनको एउटा अचम्मको बानी छ, ‘काम धेरै गर्ने राम्रो गर्ने, आफ्नो बारेमा प्रचार कम ।’

जुनकीरीको उज्यालो

‘अमेरिकामा अध्यायनका बेला, आमालाई फोनमा उनले भनिन् ‘आमा यहाँ त सबैजना हरेक कुरामा स्माट हुँदारहेछन् ।’ आमाले जवाफमा भन्नुभए छ , ‘तैँले आफूलाई के सम्झेको थिईस, अध्यारोमा त जुनकिरीको उज्यालो पनि ठूलो लाग्छ । सुर्यको अगाडि केही न केही !’ आमाको ब्यांगात्मक भनाईले उनलाई ठूलो शिक्षा मिल्यो । जिवनमा केही गर्नु छ भने कडा मेहनत गर्नुपर्छ । त्यसै अनुसार पढाईलाई अगाडि बढाईन ।

सुविनालाई सामाजिक न्यायका बारेमा बुझ्ने र बोल्ने आत्मविश्वस आमा र हजुरआमाबाट मिलेको हो । समाजमा महिलाले भोग्नु परेका पीडासँग सतिसाल झै खडा भएर लडाई गरेकी उनकी हजुरआमाले समाज र आफ्नो जिवनमा परिवर्तन ल्याउन, शिक्षा महत्वपूर्ण हो भन्ने कुरा राम्रोसँग बुझ्नु भएको थियो । जसको कारण सुविनाको आमाले पनि पढ्ने मौका पाउनुभयो । छोरी स्कुल पठाएकोमा उनकी हजुरआमाले सामाजिकरुपमा अनगिन्ती लाञ्छना सहनु परेको थियो । समाजले लगाउने लाञ्छनालाई पैतला मुनि च्यापेर हजुरआमाले छोरीको शिक्षाको लागि रातदिन मेहनत गर्नुभयो । सुविनाको आमाको बाल्यकाल भने गरिबिमै बित्यो । तर, सुविनाले त्यो दुःख झेल्नु परेन ।

१७ वर्षको हुँदा छात्राबृत्तिमा स्कुल लेबलको अध्यायनका लागि उनी अमेरिका पुगिन् । पढाई पुरा गरेर फर्केकी सुविनामा, पछाडि पारिएका मानिसको पक्षमा बोल्ने र काम गर्ने हुटहुटी झनै बढेको थियो । समाजमा भएको विभेद विरुद्ध बोल्नु थियो । अमेरिकाबाट नेपाल आए लगत्तै ‘सोसल वर्क’ पढ्ने निधो गरेर भारत लागिन । समाजमा जे भैरहेको छ, त्यो महिलाको लागि न्यायोचित छैन, भन्ने कुराले उनलाई पोलिरहेको थियो । यसका विरुद्ध उनी कुनै न कुनै माध्यमबाट बोल्नु थियो । समाजिक क्षेत्रमा काम गर्नको लागि ‘सोसल वर्क’ बिषय अध्यायन गर्दा सहयोग पुग्ने सोचका साथ उनी भारत लागेकी थिईन् ।

सम्पादकले गरेको अपमान

‘सोसल वर्क’को पढाई सकिने वर्ष,घरेलु हिंसाको बारेमा अनुसन्धान गर्न कलेजले जिम्मा दियो । ‘त्यतिबेला भारतमा धेरै महिलाहिंसाका घटना दाईजोका कारण हुने गरेका थिए । दाईजोकै कारण महिला जलाईन्थ्यो, यस्ता घटना अहिले पनि हुन्छ्, तर त्योबेला धेरै नै थिए । केसहरु अध्यायन गर्ने क्रममा म जलाएका महिलालाई भेट्न हस्पिटलमा पुगे । जलेका यी महिलाहरुको अवस्था निकै दर्दनाक थियो । उनीहरु जलेको घाउको दुखाईसँगै आँसु बगाई रहेका थिए ।’

उनले भनिन्‘यस्तो अवस्थामा कसरी समाल्ने र यसको विरुद्ध के गर्न सकिन्छ, भन्ने कुरा लेखेर टाइम्स अफ इन्डियाको अफिस पुगेँ । सम्पादकको नाम याद छैन । लेख दिएँ, यसो हेरे, अनि मेरो मुखमा हेर्दै भने ‘यो महिला पत्रिका होइन ।’

‘जलिरहेका महिलाको बारेमा लेखेको त्यो लेख,सम्पादकले हातमा पनि फिर्ता दिएनन्, स्वात्त फ्याकी दिए । मन खिन्न भयो ।’ अचम्मको कुरा, उनले अन्य विषयमा लेख्ने लेख छाप्ने, पत्रिकाले महिलाको विषयमा लेखेको लेख फालिदियो ! उसको लागि महिला जल्नु ठूलो कुरा थिएन । सायद त्यहीकारण फ्याकेको हुनुपर्छ ।

उनको त्यो अपमानले सुविनालाई पीडितको पक्षमा कलम चलाउन र बोल्न अझ बलियो बनायो । ‘मेरो आमा जहिले पनि भन्नुहुन्छ ‘विख नभएको सर्प र इख नभएको मानिस कहिल्यै काम लाग्दैन’ पुरानो कुरा सम्झँदै भनिन् ‘जिवनमा उतारचढाव आउँछन्, कहिले आफ्नैकारण, कहिले नजिक मानिएका आफ्नाहरुकोेकारण । तर, यस्ता कुराबाट कहिल्यै हार खान र बचिल्लत हुनुहुँदैन । यो मेरो जिवनको तितो अनुभव हो ।’ उनले छोटो समयमा धेरै राष्ट्रिय अन्तराष्ट्रिय अनुभव बटुलेकी छन् ।

कैयन अन्तराष्ट्रिय पुरस्कार जितेकी र नोमिनेशनमा परेकी उनलाई हामीले सोध्यौं – राष्ट्रिय पुरस्कार त झन धेरै होलान नि ? सुविनाले भनिन् ‘मैले राज्य सञ्चालकहरुका लागि समाचार कहिल्यै गरेको छैन, राज्यमा बस्ने मानिसको लागि समाचार गरेको छु । जसको लागि गरे उसले सम्झे पुग्छ ।’ ‘पत्रकारिताको धर्मका हिसाबले मैले देखेको सत्य कुरा प्रस्तुत गर्ने हो, त्यसले कसैलाई रिस उठ्न सक्छ । ठूला मानिसको आवाज त यत्तिकै बुलन्द छ, मैले बोल्ने कुरा भनेको सामान्य मानिसको हो।’‘कसैलाई मेरो कुरा मन पर्दैन होला ! कसैलाई मेरो जेण्डर मन पर्दैन होला ! कसैलाई मेरो दृष्टिकोण मन पर्दैन होला ! नेपालमा मैले अहिलेसम्म कुनै अवार्ड पाएको छैन ।’

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com