वकिलले युएससीआईएसमा फोन गरेर १ पटकमा ३ भन्दा बढी केसबारे बुझ्न नपाउने
प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार
अब अमेरिकामा कानुन व्यवसायीहरुले युएससीआईएसको सम्पर्क केन्द्रमा फोन गरेर एकपटकमा तीनवटा भन्दा धेरै आवेदनबारे बुझ्न नपाउने भएका छन् । युएससीआईएसको सम्पर्क केन्द्रमा वकिलहरुले फोन गरेर एकैपटक कैयन केसहरुबारे सोधपुछ गर्दा फोन गर्ने सर्वसाधारणको प्रतिक्षा अवधि लामो भएपछि युएससीआईएसले नयाँ नियम ल्याएको हो ।
यदि वकिल वा आवेदनको प्रतिनिधित्व गर्ने व्यक्तिले युएससीआईएसमा फोन गरेर एकैपटकमा कैयन आवेदनबारे सोधपुछ गरेमा तीनवटा आवेदनबारे जानकारी गराएपछि युएससीआईएसले पुन फोन गर्न लगाउने भएको छ । युएससीआईएसले वकिल वा आवेदनको प्रतिनिधित्व गर्ने व्यक्तिलाई एकपटकमा तीनवटा भन्दा धेरै आवेदनबारे सोधपुछ नगर्न सुझाव समेत दिएको छ ।

सर्वसाधारणले युएससीआईएसमा फोन गर्दा प्रतिनिधिसँग कुरा गर्नका लागि घण्टौं प्रतिक्षा गर्नुपर्ने अवस्था सृजना भएपछि युएससीआईएसले धेरैलाई सुविधा दिनका लागि फोन गर्ने अवधि पनि बढाएको छ । अब सोमबारदेखि शुक्रबारसम्म पूर्वीय समय अनुशार विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म आवेदनबारे बुझ्न सकिने भएको छ ।
धेरैभन्दा धेरै सेवाग्राहीहरुलाई सेवा उपलब्ध गराउनका लागि फोन गर्न सकिने घण्टामा थप गरिएको तथा वकिलहरुमाथि नियन्त्रण कायम गरिएको युएससीआईएसले जनाएको छ । प्रतिनिधिसँग कुराकानी गर्नुको साटो अनलाइनमा उपलब्ध टुलहरुको प्रयोग गर्न समेत युएससीआईएसले सुझाव दिएको छ ।
अनलाइनमा रहेका टुलमार्फत सेवाग्राहीहरुले केसको अवस्था, ठेगाना परिवर्तन, आवेदनबारे इरिक्वेष्ट गर्न सकिने व्यवस्था रहेको छ । यदि तपाई पनि युएससीआईएसमा फोन गर्दा घण्टौं कुर्नुपरेको छ भने अनलाइन टुल प्रयोग गर्न यहाँ क्लिक गर्नुहोला ।








