कलाकार भिसामा जालसाजीपछि नयाँ नियम, २०१८ मा ३७ नेपाली कलाकार पी भिसामा


प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार

अमेरिकी सरकारले तुरुन्तै लागु हुनेगरी कलाकार, खेलाडी, मनोरञ्जक र उनीहरुका लागि आवश्यक पर्ने पी भिसाका सन्दर्भमा केही नयाँ नियमहरु ल्याएको छ । पी भिसाका सन्दर्भमा आवेदकहरुले जालसाजी गरेको पाइएको भन्दै त्यसलाई रोक्न नयाँ नियम ल्याइएको युएससीआईएसले जनाएको छ ।

अमेरिकामा हुने कुनै कार्यक्रममा प्रस्तुतीका लागि कलाकार वा खेलाडीहरुले पी भिसा आवेदन दिनु आवश्यक छ । तर त्यसका लागि अमेरिकामा रहेका श्रम संगठनहरुले उक्त कलाकार वा खेलाडी अमेरिकामा प्रस्तुतीका लागि आउँदा अमेरिकामा रहेको श्रम बजारमा नकारात्मक असर नपर्ने व्यहोराको पत्र जारी गर्नुपर्छ । उक्त पत्रसहित आयोजकका तर्फबाट युएससीआईएसमा दिइएको आवेदन स्वीकृत भइसकेपछिमात्र कलाकार वा खेलाडीहरु अमेरिकामा आउन पाउँछन् । सांस्कृतिक हिसाबले अद्धितीय कलाकार वा प्रस्तुतीका लागिमात्र यो भिसा जारी गरिन्छ ।

तर आयोजकले युएससीआईएसमा आवेदन दिंदा श्रम संगठनका पत्रमा जालसाजी गरेको युएससीआईएसले जनाएको छ । श्रम संगठनले उक्त कलाकार वा खेलाडी अमेरिका आउँदा अमेरिकी श्रम बजारमा नकारात्मक असर पर्ने भनी पत्र जारी गरेपनि त्यसलाई तोडमरोड गरेर असर नपर्ने भन्दै आयोजकका तर्फबाट युएससीआईएसमा पेश गरिएको जनाइएको छ । जसका कारण आजैदेखि लागु हुनेगरी युएससीआईएसले नकारात्मक ब्यहोराका पत्रहरु श्रम संगठनबाट सिधै प्राप्त गर्ने जनाएको छ ।

अब अमेरिकामा रहेका लेबर युनियनहरुले नकारात्मक व्यहोराका त्यस्ता पत्रहरु सिधै युएससीआईएसमा पठाउनेछन् । युएससीआईसले प्राप्त आवेदनमा रहेका पत्र र लेबर युनियनबाट सिधै प्राप्त पत्रहरु भिडाउनेछ । र यदि लेबर युनियनबाट प्राप्त पत्रहरु नकारात्मक व्यहोराको पाइएमा सिधै भिसा अस्वीकृत गर्नेछ ।

युएससीआईएसले विगतमा ओ भिसाका सन्दर्भमा लेबर युनियनबाट त्यस्ता नकारात्मक पत्रहरु सिधा प्राप्त गर्ने घोषणा गरिसकेको थियो । अहिले पी भिसाका सन्दर्भमा पनि उक्त नियम लागु गरिएको हो ।

आर्थिक बर्ष २०१८ मा ७ जना नेपालीहरुले ओ भिसा प्राप्त गरेका थिए भने ३७ जना कलाकार र खेलाडीहरु पी भिसामा अमेरिका आएका थिए । आर्थिक बर्ष २०१७ मा ३ जना नेपालीहरु ओ भिसामा र ४२ जना नेपालीहरु पी भिसामा अमेरिकामा आएका थिए । यसरी आउनेमा अधिकांश कलाकारहरु छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com