कामदार भिसामा नयाँ नियमको अन्तिम स्वरुप फेडेरल रजिस्टरमा प्रकाशित, अप्रिल १ देखि कार्यान्वयन


प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले एचवानबी कामदार भिसामा नयाँ नियमको अन्तिम स्वरुप आज फेडेरल रजिस्टरमा प्रकाशित गरेको छ । नयाँ नियमको कार्यान्वयन आगामी अप्रिल १ देखि हुने जनाइएको छ । आर्थिक बर्ष २०२० का लागि अप्रिलमा खुल्ने एचवानबी भिसा आवेदनका लागि विद्युतीय दर्ता प्रणाली भने लागु नहुने जनाइएको छ । तर त्यसपछि भने विद्युतीय दर्ता प्रणाली लागु गर्ने योजनामा अमेरिकी सरकार रहेको छ ।

नयाँ नियमले अमेरिकन डिग्री नलिएका विदेशी कामदारलाई अमेरिका आउन थप मुस्किल हुने भएको छ । तर अमेरिकन डिग्री होल्डरका लागि भने विगतको तुलनामा निकै सहज हुनेछ । अमेरिकी सरकारले अमेरिकामा नै डिग्री लिएकाहरुलाई प्राथमिकता दिनेगरी कामदार भिसाको नयाँ नियम ल्याएको हो ।

पहिलेको नियम अनुशार ६५ हजार कामदारको कोटामा अमेरिकन डिग्री नभएकाहरुमात्र सहभागी हुन पाउथें । अमेरिकन डिग्री होल्डरहरु त्यसमा मिसिन पाउँदैनथे । तर  नयाँ नियम अनुशार त्यो कोटामा पनि अमेरिकन डिग्री होल्डरहरु सहभागी हुन पाउनेछन् । यसो हुँदा ६५ हजारको कोटामा पनि अमेरिकन डिग्री होल्डरहरु छानिनेछन् । त्यहाँ नछानिएका अमेरिकन डिग्री होल्डरहरुहरुले थप २० हजारको कोटामा पनि सहभागी हुन पाउनेछन् ।

नयाँ नियमले अमेरिकन डिग्री नलिएकाहरुको एचवानबी कोटामा पनि अमेरिकन डिग्री होल्डरको अतिक्रमण बढाउने भएको छ । अमेरिकाबाहिर पढ्नेहरुलाई भन्दा अमेरिकन डिग्री लिएकाहरुलाई मौका दिनका लागि नयाँ नियम ल्याइएको हो । अमेरिकामा डिग्री लिएर स्वेदश फर्किसकेको विद्यार्थीले पनि यो कार्यक्रमबाट लाभ लिन सक्नेछन् । उदाहरणका लागि कुनै नेपाली विद्यार्थी अमेरिकामा डिग्री लिएर नेपाल फर्किसकेको छ भने उसलाई नयाँ नियमले प्राथमिकतामा राख्नेछ ।

पूर्णरुपमा विद्युतीय प्रणाली तयार नभइसकेकाले आगामी अप्रिल १ देखि पहिलेकै तरिकाले भिसा आवेदन खुल्नेछ । तर विद्युतीय प्रणाली तयार भइसकेपछि सम्भवत अर्को बर्षदेखि एचवान बी फाइल गर्न चाहने आवेदकले तोकिएको अवधिभित्र विद्युतीय रुपमा प्रारम्भिक आवेदन दर्ता गर्नुपर्नेछ । यसरी दर्ता भएका आवेदनहरुलाई लोटरीको माध्यमबाट छानेपछिमात्र छानिएका आवेदनलाई थप प्रकृयामा लगिनेछ । लोटरीबाट छानिएका आवेदकले थप कागजात पेश गरेर एचवानबीका लागि योग्य हुनसक्नेछन् ।

नयाँ विद्युतीय प्रणालीमा समस्या आएमा वा एचवानबी दर्ता प्रकृयामा कुनै प्राविधिक चुनौती उत्पन्न भएमा युएससीआईएसले कुनै पनि बेला कुनै पनि आर्थिक बर्षमा विद्युतीय दर्ता प्रणाली अस्थायी रुपमा खारेज गर्न सक्नेछ । यसो भएमा पहिलेकै जस्तो कागजको माध्यमबाट आवेदनहरु पठाउनुपर्नेछ ।

सम्भवत अर्कोबर्षदेखि युएससीआईएसले विद्युतीय दर्ता प्रणालीको सुरुवात गर्नेछ । त्यसो भएमा एचवानबी भिसाका लागि पनि डिभी लोटरीकै तरिकाले विद्युतीय आवेदन पेश गर्नुपर्नेछ । लोटरी प्रणालीबाट छनौट हुनेहरुले थप कागजात पेश गरेर योग्यता प्रमाणित गर्नुपर्नेछ ।

नयाँ नियम लागु भइसकेपछि अमेरिकन डिग्री नहुनेहरुको ६५ हजारको कोटाबाट पनि झण्डै १६ प्रतिशत अर्थात् कम्तीमा ५ हजार ३ सय ४० जनाको कोटा अमेरिकन डिग्री होल्डरले पाउनसक्ने देखिएको छ । नयाँ नियमले अमेरिकामा रहेका दक्ष कामदारहरुले थप मौका पाउने अमेरिकी सरकारको विश्वास रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com