हिमालयन बैंकको १५.७८९५% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कहिले हुँदैछ एजीएम ?
प्रकाशित मिति : पुस १५, २०७५ आईतबार
हिमालयन बैंकको १५.७८९५% लाभांश सुरक्षित गर्ने आइतबार (पुस १५ गते) अन्तिम दिने हो । हिमालयनले पुस ३० गते साधारण सभा गर्न सोमबार (पुस १६ गते) देखि साधारण सभाको दिनसम्म बुक क्लोज गर्दैछ । यसर्थ, लाभांश पाउन आइतबार नै सेयरधनी बनिसक्नुपर्नेछ । हिमालयनले गत वर्षको कमाईबाट ५% बोनस सेयर र १०.७८९५% नगद लाभांश दिन लागेको हो।
साधारण सभा कार्की ब्यांकेट, माइतीघर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७५–०७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने एजेन्डा पनि छ ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न निकाय तथा संघ संस्थालाई वितरण गर्न लागेको आर्थिक सहायताको पनि साधारण सभाबाट अनुमोदन गरिनेछ । हाल हिमालयन बैंकको चुक्ता पुँजी ८ अर्ब ११ करोड ४५ लाख २९ हजार रुपैयाँ छ । बोनस वितरण पछि चुक्ता ८ अर्ब ५२ करोड २ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६४ करोड ९६ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ३ पैसा र प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ९५ पैसा छ ।






