मिटरमा नजाने ट्याक्सी चालकको लाइसेन्स निलम्बन गरिने


प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार

ट्याक्सी चालकको लापरवाही नियन्त्रणका लागि प्रहरीले चालक अनुमतिपत्र निलम्बन गर्नेसम्मको कारवाही थालेको छ ।

नियम उल्लङ्घन गर्ने ट्याक्सी चालकको अभिलेख राख्न शुरु गरिएको र पाँच पटकभन्दा बढी नियम उल्लङ्घन गर्नेको अनुमतिपत्र नै निलम्बन हुने गरी विशेष अभियान शुरु गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए ।

उनका अनुसार यातायात व्यवस्था विभागसँगको समन्वयमा उक्त अभियान शुरु गरिएको हो । मुख्यगरी मिटरमा जान नमान्ने, बढी भाडा लिने, खाली भएर पनि जान नमान्ने, मिटर बिगार्ने, बिग्रिएको मिटर नबनाउने र यात्रुको गन्तव्यमा नजाने ट्याक्सी चालक बढी छन् । उनीहरुलाई सादा पोशाकमा खटिएका प्रहरीले पहिचान गरी जरिवाना तिराएर अभिलेख राख्न थालिएको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।

‘मङ्सिर २० गतेदेखि ट्याक्सी चालकलाई कारवाही शुरु गरेका छौँ’, प्रवक्ता सापकोटाले भने, ‘पाँचपटक कारवाहीमा पर्‍यो भने अनुमतिपत्र निलम्बन हुन्छ ।’ उक्त अभियानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा ५० भन्दा बढी ट्राफिक प्रहरीलाई सादा पोशाकमा खटाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहिचान हुनेबित्तिकै उनीहरुलाई महाशाखामा ल्याइने, तीन हजार  रुपैयाँ जरिवाना तिराइने र उनीहरुको अभिलेख राखिनेछ । लगातार पाँच पटकसम्म तीन हजार रुपैयाँका दरले जरिवाना लाग्ने र त्यसपछि नियम उल्लङ्घन गरेको पाइए अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभागमा सिफारिश गरिने सापकोटाले बताए ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा चालक अनुमतिपत्र निलम्बन गर्न सकिने व्यवस्थाअनुरुप ट्याक्सीबाट कारवाही थालिएको हो । उक्त ऐनको दफा ६० मा नियमबमोजिम चालकले पालन गर्नुपर्ने शर्त पाँच पटकभन्दा बढी उल्लङ्घन गरेको प्रमाणित भएमा अधिकार प्राप्त अधिकारीले त्यस्ता चालकको अनुमतिपत्र छ महिनासम्मका लागि निलम्बन गर्न सकिने व्यवस्था छ । सोही ऐनलाई टेकेर ट्राफिक प्रहरीले कारवाही थालेको हो ।

अहिले दैनिकजसो करीब १०० सम्म ट्याक्सी चालक कारवाहीमा परिरहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस्ता समस्या भए प्रहरीलाई खबर गर्नसमेत महाशाखाले आग्रह गरेको छ ।

महाशाखाको तथ्याङ्कमा आर्थिक वर्ष २०७०/७१ मा चार हजारभन्दा बढी चालक कारवाहीमा परेका थिए । आव २०७४/७५ मा आइपुग्दा त्यसको दोब्बर आठ हजार १२० ट्याक्सी चालक कारवाहीमा परेका छन् ।

चालू आवको मङ्सिर २४ सम्ममा तीन हजार ३२० चालक कारवाहीमा परेको अभिलेखले विश्लेषण गर्दा चालकको लापरवाही बढिरहेको देखाउँछ । त्यसैले अभिलेख राखेर अनुमतिपत्र निलम्बन गर्नेसम्मको कारवाही थालिएको महाशाखाका प्रवक्ता सापकोटाले बताए । प्रहरीका अनुसार काठमाडौँमा नौ हजारभन्दा बढी ट्याक्सी गुड्ने गरेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com