काठमाडौंमा ‘कोरियन पप कभर डान्स प्रतियोगिता’ हुने
प्रकाशित मिति : मंसिर २४, २०७५ सोमबार
नृत्यमार्फत नेपाल र कोरियाबीच सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यले काठमाडौंमा ‘कोरियन पप कभर डान्स प्रतियोगिता-२०१८’ हुने भएको छ।
जमलस्थित राष्ट्रिय नाचघरमा यही मंसिर २८ गते दिउँसो १ बजे डान्स प्रतियोगिता हुने भएको हो।
प्रतियोगितामा २६ समूहबीच प्रतिस्प्रर्धा हुने आयोजक ‘स्ट्रकपप’ले जनाएको छ।
युवा फर चेञ्जको सहकार्य र ‘द इन्भिन्सिभल इभेन्ट्स एन्ड म्यानेजमेन्ट’ को व्यवस्थापनमा हुन लागेको प्रतियोगिताको पहिलो चरणमा बुटवल, नारायणगढ, धरान, पोखरा र काठमाडौंबाट गरी जम्मा १५० समूहबाट २६ समूह प्रतियोगी छनोट गरिएको छ।
प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक ‘स्ट्रकपप’ का संस्थापक कार्यकारी निर्देशक सुरेश मोक्तानले जानकारी दिए।
प्रतियोगितामा उत्कृष्ट पहिरन र एकल नृत्यलाई पाँच/पाँच हजार रुपैयाँ पुरस्कार रहेको युवा फर चेञ्जका अध्यक्ष जागृत पहाडीले जानकारी दिए।
‘स्ट्रकपप’ एउटा कोरियन नृत्य समूह हो। यो सन् २०१५ मा गठन भएको हो। यसले कोरियन नृत्यसम्बन्धी विभिन्न गतिविधि गर्दै आएको छ।
यसले देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा हुने विभिन्न कोरियन पप नृत्यमा समेत प्रतिनिधित्व गर्दै आएको छ। त्यसैगरी विसं २०७० मा स्थापना भएको युवा फर चेञ्जले विभिन्न जिल्लामा युवा लक्षित कार्यक्रम गर्दै आएको छ। रासस






