निर्मला हत्या प्रकरणमा ट्विस्ट : प्रदीप रावल र विशाल चौधरीलाई फसाइँदैछ ?


प्रकाशित मिति : मंसिर २३, २०७५ आईतबार

प्रशान्त ओझा

कञ्चनपुरको भीमदत्त नगरपालिका– २ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५ महिना पुग्न लागिसकेको छ । तर हत्यामा संलग्न वास्तविक अभियुक्त पहिचान समेत हुन सकेको छैन ।

पछिल्लो समय प्रहरीले निर्मलाको बलात्कारपछि हत्यामा संलग्न रहेको आशंकामा २ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ का प्रदीप रावल र विशाल चौधरीमाथि अनुसन्धान गरिरहेको प्रहरीले निर्मलाको हत्यामा संलग्न अभियुक्त ‘नजिक’ पुगिसकेको बताएको छ ।

निर्मला प्रकरणमा घटनाको शुरूवाती अनुसन्धानमै गम्भीर नदेखिएको प्रहरीमाथि पछिल्लो पटक रावल र चौधरीको नियन्त्रणलाई लिएर पनि विभिन्न प्रश्न उठ्न थालेका छन् । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट प्रकाशित एक स्थानीय दैनिक पत्रिकाले प्रहरी हिरासतमा रहेका प्रदीप र विशाल ‘निर्दोष’ रहेको उल्लेख गर्दै घटना भएको दिन (साउन १० गते) दुवैजना प्रहरी हिरासतमा रहेको लेखेको छ ।

उनीहरू प्रहरी हिरासतमा रहेको विषयलाई एक पसलबाट ‘कुखुरा चोरी’ भएको घटनासँग जोडिएको छ । कुखुरा चोरी भएको भनिएको पसलका सञ्चालक हुन्, भीमदत्त नगरपालिका– १८ पथ्थरपुरका पुनिराम चौधरी । चौधरीलाई त्यहाँका स्थानीयले ‘पाले दाइ’ भनेर बढी चिन्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पुनिरामले पसलमा कुखुराको मासु र माछा काटेर बिक्री गर्दथे (अहिले पनि गर्छन्) ।

साउन ९ गते बुधवार (निर्मला घरबाट हराएको अघिल्लो दिन) राति ८ बजेपछि पुनिराम आफ्नो पसल बन्द गरेर पथ्थरपुरस्थित आफ्नो घरतर्फ लाग्छन् । भगतपुरको सैनिक व्यारेकनजिक रहेको पसलबाट पैदल हिँडेर घर पुग्न पुनिरामलाई १० मिनेटजति लाग्छ ।

दोस्रो दिन (साउन १० गते) बिहान ८ बजेतिर पुनिराम पसलमा पुगे । पसल पुग्दा भित्र तोडफोड भएजस्तो देखियो । त्यसपछि उनले हतार–हतार घर्रामा हेरे । दोस्रो दिनका लागि कुखुरा र माछा किन्न अघिल्लो दिनको साँझ उनले घर्रामा १६ हजार रुपैयाँ राखेका थिए । घर्रामा हेर्दा थाहा भयो, पैसा चोरी भएछ । पैसा मात्र हैन खाना पकाउने (एलपी) ग्यासका दुई सिलिन्डर, साँझ बाँकी रहेको कुखुराको मासु, मासु पोल्ने मेसिन र पानीसहितको ग्यालेनमा रहेका जिउँदा माछा समेत चोरी भएका रहेछन् ।

पसलमा चोरी भएको देखेपछि पुनिरामले स्थानीयलाई खबर गरे । स्थानीयले भीमदत्त– १८ कै प्रदीप रावलमाथि शंका गरे । पुनिरामको पसलमा स्थानीयको भीड जम्मा हुँदासम्म प्रदीप पनि त्यहाँ पुगिसकेका थिए । प्रदीपलाई देखेपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरे ।

स्थानीयले खबर गरेको करीब १५ मिनेटपछि प्रहरी बिट सालघारीबाट २ जना प्रहरी पुनिरामको पसलमा आइपुगे । स्थानीयले प्रदीपलाई देखाउँदै ‘उसैले चोरी गरेको हो’ भने ।

प्रहरीले पुनिरामकै अगाडि प्रदीपमाथि केरकार गर्‍यो । दुईमध्ये एक प्रहरीले प्रदीपलाई एक झापड समेत हाने । प्रदीपले आफूले चोरी नगरेको जिकिर गरे । बरु, आफ्ना साथी विशाल चौधरीले चोरी गरेको जानकारी आफूले पाएको प्रहरीलाई ‘सूचना’ दिए ।

प्रहरीले प्रदीपलाई ‘बोलाएका बेला चौकीमा आउनुपर्ने’ भन्दै पुनिरामकै अगाडि ‘नियन्त्रणमा नलिई’ छाडिदियो अनि पुनिरामलाई चोरीबारे उजुरी दिन वडा प्रहरी कार्यालय जान भन्यो ।

सोही दिन (साउन १० गते) दिउँसो २ बजे पुनिराम उजुरी दिन वडा प्रहरी कार्यालय महेन्द्रनगर पुगे । भीमदत्त नगरपालिका– १८ का विशाल चौधरीले आफ्नो पसलबाट नगद, कुखुराको मासु, माछा, ग्यासका २ सिलिन्डर र एउटा मासु पोल्ने मेसिन चोरी गरेको भन्दै वडा प्रहरी कार्यालयमा उजुरी दिए ।

पुनिरामले दिएको उजुरीका आधारमा प्रहरीले साउन १० गते साँझ ५ः३० बजेतिर विशाललाई पक्राउ गरेर हिरासतमा राख्यो । दोस्रो दिन (साउन ११ गते) दिउँसो ३ बजेतिर विशालका आमाबुवाको रोहवरमा कागज गरेर विशाललाई छाडियो । सामान्य ठेकेदारी गर्ने विशालका बुवाले पुनिरामको पसलबाट भएको चोरी बराबर आफूले नगद फिर्ता गर्ने सम्झौतामा हस्ताक्षर गरेपछि विशाल प्रहरीको हिरासतबाट छुटेका थिए ।

पुनिरामले आफ्नो पसलबाट चोरी भएको १६ हजार रुपैयाँ नगदसहित कुखुराको मासु, माछा, ग्यासका २ सिलिन्डर र एउटा मासु पोल्ने मेसिन गरी २७ हजार रुपैयाँ फिर्ता पाउने गरी सम्झौता भएको लोकान्तरलाई जानकारी दिए ।

तर अहिलेसम्म पनि चोरी भएको सामान बराबरको पैसा भने फिर्ता नपाएको आइतवार लोकान्तरसँगको टेलिफोन कुराकानीमा पुनिरामले सुनाए ।

पूरै सामाग्री लोकान्तरमा पढ्न यहाँ क्लिक गर्नुहोला ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com