१५ हजार नेपालीलाई क्यानडाको पीआर, कुन बर्ष कतिले पाए ?


प्रकाशित मिति : पुस ३, २०७३ आईतबार

-किशोर पन्थी
संयुक्त राज्य अमेरिकापछि क्यानडामा गएर त्यहाँको स्थायी बासिन्दा हुने नेपालीहरुको संख्या निकै बढ्दो रहेको छ । क्यानडाको सरकारी तथ्यांक अनुशार विगत ३ वर्षमा क्यानडाको स्थायी बासिन्दा हुने नेपालीहरुको संख्यामा उल्लेख्य बृद्धि भएको छ । उत्तर अमेरिकामा संयुक्त राज्य अमेरिकापछि नेपालीको दोश्रो गन्तब्य क्यानडा हुन पुगेको छ । संयुक्त राज्य अमेरिकामा आइसकेपछि कागजपत्र बनाउन असफल हुनेहरु पनि क्यानडातिर लागेर कागजपत्र बनाउन सफल हुने गरेका छन् भने पछिल्लो चरणमा सुरक्षाका दृष्टिकोणले पनि अमेरिकाभन्दा क्यानडालाई रोज्नेहरुको संख्या उल्लेख्य छ । अमेरिकन पासपोर्टका साथ विश्वका विभिन्न मुलुकमा जाँदा जति सुरक्षामा खतरा ठानिन्छ, त्यती क्यानेडियन पासपोर्टमा विश्वका मुलुकहरुमा जाँदा खतरा छैन ।

सन् २००३ सम्म झण्डै २ हजार नेपालीहरुले क्यानडाको स्थायी बासिन्दाको अनुमतिपत्र प्राप्त गरेको सरकारी तथ्यांक रहेको छ । त्यसपछि सन् २००४ मा चारसय ४ जना नेपालीहरु क्यानडाका स्थायी बासिन्दा भए । सन् २००५ मा ६ सय ७ जना नेपालीहरुले क्यानडामा स्थायी रुपमा बसोबास गर्नका लागि अनुमतिपत्र प्राप्त गरे । त्यस्तै सन् २००६ मा त्यो संख्या अलिक घटेर ५ सय ४० मा झरेको थियो ।

त्यस्तै सन् २००७ मा ५ सय ११ जना नेपालीहरुले क्यानडाको स्थायी बासिन्दा हुनका लागि स्वीकृति पाए भने सन् २००८ मा ५ सय ८१ जना नेपालीहरु क्यानडाको स्थायी बासिन्दा भए । त्यस्तै सन् २००९ मा ५ सय ६१ जना नेपालीहरुले क्यानडामा स्थायी रुपमा बसोबासका लागि स्वीकृति प्राप्त गरे । सन् २०१० मा भने यो संख्या ऐतिहासिक रुपमा बृद्धि भयो । सन् २०१० मा १३ सय ९२ जना नेपालीहरुले क्यानडामा स्थायी बसोबासका लागि स्वीकृति प्राप्त गरे । सन् २०११ मा यो संख्यामा केही कमी आयो ।

यो वर्ष ११ सय २९ जना नेपालीहरुले क्यानडामा स्थायी बसोबासका लागि स्वीकृति प्राप्त गरे भन् सन् २०१२ मा ११ सय ८५ जना नेपालीहरुले क्यानडामा स्थायी बसोबासका लागि स्वीकृति पाए । सन् २०१३ मा १३ सय ८ जना नेपालीहरुले क्यानडामा स्थायी बसोबासका लागि अनुमतिपत्र प्राप्त गरे भने सन् २०१४ मा १२ सय १९ जना नेपालीहरुले क्यानडामा स्थायी बसोबासका लागि स्वीकृति पाए । त्यस्तै सन् २०१५ मा १५ सय नेपालीहरुले क्यानडामा स्थायी बसोबासका लागि अनुमतिपत्र प्राप्त गरे । सन् २०१६ को पहिलो र दोश्रो क्यावटरमा ५१४ जना नेपालीहरुले क्यानडाको स्थायी बसोबासका लागि अनुमतिपत्र प्राप्त गरेका थिए । तर सन् २०१६ भरमा क्यानडाको पीआर पाउने नेपालीको संख्या १५ सयकै हाराहारीमा छ ।
क्यानडाको स्थायी बासिन्दा हुने तरिका

क्यानडामा सबैभन्दा धेरै आप्रवासीहरु पारिवारिक आधारमा स्थायी बासिन्दा हुने अवशर प्राप्त गरेका छन् । क्यानडाको स्थायी बासिन्दा भइसकेको व्यक्तिका श्रीमान् वा श्रीमति, छोराछोरीहरु र बाबुआमा तथा हजुरबा हजुरआमाले पारिवारिक आधारमा क्यानडाको स्थायी बासिन्दाको अनुमतिपत्र प्राप्त गर्दछ्न ।

दक्ष कामदारका, व्यवसायी, स्वरोजगार, लगानीकर्ता लगायतका आर्थिक आधारमा क्यानडाको स्थायी बासिन्दा हुनेहरुको संख्या पारिवारिक आधारमा स्थायी बासिन्दा हुनेहरुको भन्दा पनि धेरै रहेको छ । त्यस्तै शरणार्थीका रुपमा क्यानडामा बसेर स्थायी बासिन्दा हुनेहरुको संख्या पनि उल्लेख्य नै छ । शरणार्थी बनेर क्यानडाको स्थायी बासिन्दा हुने बाटो पनि धेरै नेपालीहरुले रोज्दै आएका छन् ।

क्यानडामा नेपालीको इतिहास

क्यानडामा नेपालीको आकर्षण पछिल्लो चरणमा बढ्दो रहेपनि क्यानडामा नेपालीहरुको बसोबासको इतिहास लामो छैन । सन् १९९१ सम्ममा त क्यानडामा जम्मा १ सय २५ जनामात्रै नेपालीहरु रहेको सरकारी तथ्यांक रहेको छ । क्यानडामा नेपालीहरु १९६० को दशकदेखि आउन थालेको विश्वास गरिन्छ । दोश्रो विश्वयुद्धपछि क्यानडाका सैन्य भेट्रानहरुले स्थापना गरेको गोरखा वेलफेयर अपिल मार्फत पनि केही नेपालीहरुले क्यानडामा बसोबासको अवशर प्राप्त गरेका थिए ।

क्यानडामा स्थायी बासिन्दा अनुमतिपत्रको इतिहास हेर्दा सन् १९८० ताका असाध्यै थोरै नेपालीहरुले क्यानडाको पीआर पाएका छन् । सन् १९८० मा एकजना नेपालीलेमात्र क्यानडाको पीआर पाएका थिए भने सन् १९८१ मा पनि एकजनाले नै क्यानडाको पीआर पाएका थिए । एकसय भन्दा धेरै नेपालीहरुले क्यानडाको पीआर पाउन थालेको सन् १९९६ पछिमात्र हो ।

क्यानडामा रहेका नेपालीहरुमध्ये झण्डै आधाजसोको बसोबास ओन्टारियो नै रहेको छ भने त्यसपछि ब्रिटिस कोलम्बिया नेपालीहरुको रोजाई बनेको छ । सन् २०१३ र सन् २०१४ मा त झण्डै दुईहजार नेपालीहरु अल्ब्राटामा बसोबास गर्न थालेको तथ्यांकहरुले देखाउछन् । क्यानडाको सरकारले डाक्टर, इन्जियनियर, नर्स , प्रोफेसर, एकाउन्टेन्ट जस्ता पदमा कार्यरत पेशाकर्मीहरुलाई स्थायी बासिन्दा बन्ने अवशर प्रदान गरेपछि यो कार्यक्रम मार्फत ठूलो संख्यामा नेपालीहरु क्यानडामा प्रवेश गरेका छन् ।

क्यानडामा विभिन्न पेशाकर्मी नेपालीहरुले स्थायी बासिन्दाका रुपमा जाने अवशर प्राप्त गरेका कारण क्यानडामा रहेका नेपालीहरुमा बौद्धिक र पेशाकर्मीहरुको बाहुल्यता रहेको छ । क्यानडामा प्रोफेसर, बैंकर, एकाउन्टेन्ट, डाक्टर, इन्जिनियर, खेलाडीका रुपमा कार्यरत नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ । कैयन नेपालीहरु त क्यानडाको मुलधारे राजनीतिमा पनि अग्रशर हुन थालेका छन् ।

रिपोर्टमा प्रस्तुत तथ्यांकहरु क्यानेडिन सरकारबाट लिइएका हुन् । 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com