‘बाढी बस्तीमा होइन, मान्छे खोलामा पसे’ (भिडियो सहित)


प्रकाशित मिति : असार २८, २०७५ बिहीबार

नदीको बहाव क्षेत्रलाई मिचेर घर बनाउनेको संख्या बढेपछि भक्तपुरको धेरै भूभाग बिहीबार डुबानमा परेको छ । सरकारी मापदण्ड अनुसार नदीले चर्चेको क्षेत्र भन्दा २० मिटर छाडेर घर बनाउनुपर्ने हुन्छ । तर नदीको बहाव क्षेत्रलाई मिचेर बस्ती बसाइएपछि हनुमन्तेको बाढी भक्तपुरबासीका घरघरमा पुग्यो । सरकारी मापदण्ड मिच्दै बसाइएका बस्तीमा बर्षेनि बाढी पस्दा पनि स्थानीयले खोला मिच्ने क्रम रोकेका छैनन् ।

हनुमन्तेको बाढी बस्तीसम्म पसेर फैलिँदै बिहीबार ठिमी चोकसम्म आइपुग्यो । अरनिको राजमार्ग जलमग्न भयो नै अर्कातिर त्यसक्षेत्रका अधिकांश घरका भुइँतला बाढीको चपेटमा परे । हनुमन्तले विशाल रुप लिएपछि आपतमा परेका स्थानीयलाई नेपाली सेना, सशास्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोलीले बोट नै उतारेर उद्धार गर्नु परेको थियो ।

भक्तपुरको ठिमी नगरपालिकाका सहरी विकास तथा योजना महाशाखाका प्रमुख वरिष्ठ इन्जिनियर सत्यनारायण साहले नदीको क्षेत्रलाई मिच्दै जबरजस्ती बस्ती बसाइँदा स्थानीयबासी बाढीको जोखिममा परेका बताएका छन् । अर्कातिर अव्यस्थित बसोबासका कारण उचित ढल निकासको प्रबन्ध नगरिँदा समेत सानोति बर्षातमा पनि भक्तपुरका सूर्यबिनायक, राधेराधे, लोकन्थली, बालकोटसहितका क्षेत्रमा डुबानमा परिरहेका छन् ।

इन्जिनियर साहले धेरै पानी परेको अवस्थामा ढलले बाढीको बहाब थेग्न नसक्नु स्वाभाविक भएको बताए । ‘नदी आसपासमा घर बनाउँदा २० मिटर छोड्नै पर्छ तर नगरपालिकाको स्वीकृतिबिनै कति ठाउँमा घर बनाइएका छन्’, साहले अन्नपूर्णसँग भने, ‘खासमा बाढी घरतिर आएको होइन, मान्छे (घर) खोलातिर पसेका हुन् ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बुधबार राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको मध्यपुरठिमी क्षेत्र बढी डुबानमा परेका हुन् । त्यसैगरी जगाती र बाराहीस्थानका बस्ती तथा भूकम्पपीडितका शिविर पनि डुबानमा परेका छन् ।

जमिनको सतहबाट चार-पाँच फिटसम्म पानी जमेपछि डुबानमा परेका अधिकांश घरको भूइँतला पानीले भरिएका छन् । भुइँतलामा बस्नेको अहिले कन्तबिजोग भएको छ । यसैगरी, पसल र व्यवसाय सबै बन्द भएका छन् । मध्यपुरठिमीका राधे राधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्रका पूरै  बस्ती डुबानमा छन् ।

त्यस क्षेत्रमा रहेका भाटभोटेनी सुपर मार्केटदेखि सामसङ कम्पनीको कार्यालय र निकोसेरा समेतमा बाढी पसेको छ । उक्त क्षेत्रको अरनिको राजमार्ग खण्डको दायाँबायाँ, चारदोबाटोबाट बालकोट जाने बस्ती, मध्यपुर अस्पताल र गठ्ठाघरको तल्लो भेग पनि पुरै डुबानमा छ, बिहीबार दिउँसोसम्म सडक सबै खोलामा परिणत भएको थिए ।

बाढी बस्तीमा पसेपछि फरक फरक किसिमका प्रतिक्रिया आएका छन् । अन्नपूर्ण पोस्ट्को फेसबुक पेजमा नर बिस्टले लेखेका छन्, ‘खोलाजति मासेपछि के हुन्छ ?’ देबेन्द्र गिरीले बिहीबार भक्तपुरका केही भागको डुबान स्थानीय बासिन्दाकै कारण भएको टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘आफू नदी, बाटो अतिक्रमण गरी घर बनाउने अनि पानीको निकास बन्द भयो भन्दै सरकारलाई गाली गर्ने प्रवृत्ति देखियो ।’

प्रकाश पराजुली र मदन श्रेष्ठले पनि खोलानाला मिचेर घर बनाएपछि यस्तै हाल हुने प्रतिक्रिया दिएका छन् । रमेश क्षेत्रीले थपेका छन्, ‘अस्तव्यस्त सहरीकरणको नतिजा हो यो ।’

भिडियो

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com