यूएस-बाङ्ग्ला विमान दुर्घटनाको चार महिना बित्दा पनि क्षतिपूर्ति पाएनन् पीडितले !


प्रकाशित मिति : असार २७, २०७५ बुधबार

यूएस-बाङ्ग्ला विमान दुर्घटना भएको चार महिना बित्न लाग्दा पनि क्षतिपूर्तिबारे कुनै पहल नभएको भन्दै मृतकका परिवारले चिन्ता व्यक्त गरेका छन्।

तेइस नेपालीले पनि ज्यान गुमाएको उक्त दुर्घटनामा परेकाको परिवारका अनुसार विमान कम्पनी वा सरकार कसैले पनि उनीहरूलाई सम्पर्क गरेका छैनन्।

सरकारी अधिकारीहरूले चाहिँ क्षतिपूर्तिको विषय विमान कम्पनी र मृतक परिवारसँग सम्बन्धित भएको भन्दै आवश्यक परे सहजकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको बताएका छन्।

दुर्घटनामा ज्यान गुमाएका पर्यटन व्यवसायी हरिशंकर पौडेलकी श्रीमती निर्मला आफूहरू निकै अप्ठेरो अवस्थामा रहेको बताउँछिन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गुनासो
आम्दानीको कुनै स्रोत नभएका उनीहरू यूएस-बाङ्ग्ला एयरलाइन्सले दिने बीमा बापतको क्षतिपूर्ति पर्खिरहेका छन्।

तर अहिलेसम्म एयरलाइन्सले कुनै चासो नदिएपछि उनी चिन्तित छिन्।

उनले भनिन्, “एक जना पनि आएका छैनन्। पीडामाथि पीडा छ मलाई। अहिले मेरो आम्दानीको स्रोत केही छैन। अब हामी कसरी बाँच्ने?”

एकहत्तर यात्रु बोकेको उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छेउमा दुर्घटना हुँदा २३ नेपाली र २७ बाङ्ग्लादेशीसहित ५१ जनाको ज्यान गएको थियो।

यूएस-बाङ्ग्लाका अधिकारीहरूले मात्र नभई सरकारले पनि कुनै चासो नदिएको मृतकका परिवारको गुनासो छ।

आधार
तर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा दुर्घटना जाँचबुझ आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले क्षतिपूर्तिमा तेस्रो पक्षको उपस्थितिको व्यवस्था नभएको बताए।

उनले भने, “सम्बन्धित पीडितहरूबाट लिखित उजुरी आयो भने मात्र हो। नत्र त्यहाँ लाग्नुपर्ने कुनै कानुनी आधार हामीसँग छैन।”

ढाका विश्वविद्यालयका ब्याङ्किङ र बीमासम्बन्धी अध्यापनमा संलग्न बेनाजिर इमाम मजुमदारका अनुसार सम्बन्धित राष्ट्रले गर्ने अन्तर्राष्ट्रिय सन्धि सम्झौताले मृतक परिवारलाई दिने क्षतिपूर्ति फरक पर्न सक्छ।

उनका अनुसार विमान दुर्घटनाको क्षतिपूर्ति दिने विषय वार्सा महासन्धि र मोन्ट्रियल महासन्धिमा व्यवस्था गरिएको छ।

क्षतिपूर्तिको सन्दर्भमा यी दुई महासन्धिलाई आधार मान्ने गरेको देखिन्छ।

टुङ्गो
तर नेपालले वार्सा महासन्धिमा मात्र हस्ताक्षर गरेको छ भने बाङ्ग्लादेशले दुवै सन्धिमा।

यूएस-बाङ्ग्ला एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत इमरान आसिफले वार्सा महासन्धिको प्रावधान अनुरुप नेपाली मृतक परिवारलाई ५० हजार अमेरिकी डलर दिने प्रस्ताव राखेको बताएका छन्।

उनले बीबीसी बाङ्ग्लालाई केही महिनामा क्षतिपूर्तिको टुङ्गो लाग्ने र घाइते यात्रुको हकमा क्षतिपूर्ति रकम फरक हुने बताएका छन्।

बीबीसी बाङ्ग्लाका अनुसार बाङ्ग्लादेशले मोन्ट्रिएल महासन्धिमा पनि हस्ताक्षर गरेको हुनाले बाङ्ग्लादेशका मृतकका प्रत्येक परिवारले भने करिब सवा लाख डलर प्राप्त गर्न सक्छन्।

यद्यपि हालसम्म नेपाली र बाङ्ग्लादेशका कुनै पनि मृतक परिवारले क्षतिपूर्तिको रकम पाउन सकेका छैनन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com