नेपाल–चीन संयुक्त वक्तव्यः २० लाख पर्यटक नेपाल भित्र्याउने


प्रकाशित मिति : असार ८, २०७५ शुक्रबार

नेपालमा चिनियाँ पर्यटक पठाउन चीन सरकार सकारात्मक देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा जारी संयुक्त विज्ञप्तिमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने विषय पनि समावेश भएको हो।

नेपाल–चीन संयुक्त १४ बुँदे वक्तव्यमा नेपाल भ्रमण वर्ष २०२० मा चीनले सहयोग गर्न चीन तालिम तथा नेपालकाे पर्यटन प्रवर्द्धन गर्न सहमत भएकाे उल्लेख छ। संयुक्त वक्तव्यको बुँदा नं.१२ मा नेपाल भ्रमण वर्षका लागि चिनियाँ मिडिया र ट्राभल एजेन्सी प्रतिनिधिले सहयाेग गर्ने उल्लेख छ। ‘आगामी भिजिट नेपाल २०२० लाई दृष्टिगत गरी चिनियाँ ट्राभल एजेन्सीको प्रतिनिधिमण्डल नेपाल अाउने र सम्बद्ध चिनियाँ एजेन्सीहरुले चीन फर्केर नेपालको प्रवद्र्धन गर्ने, संयुक्त विज्ञप्तिमा उल्लेख छ।

नेपालमा चिनियाँ पर्यटक व्यवस्थापनका गर्न आवश्यक पर्ने चिनियाँ भाषा तालिमका लागि पनि चीन सरकार तयार भएकाे छ।

‘नेपाली पर्यटक व्यवसायीलाई चिनियाँ भाषाको तालिम निरन्तर उपलब्ध गराउन चिनियाँ पक्ष सहमत भएको छ’, संयुक्त वक्तव्यमा भनिएको छ, ‘जनशिक्त विकासका लागि प्रत्येक वर्ष करिब ४ सय तालिम तथा अधिक सरकारी छात्रवृत्ति उपलब्ध गराउन पनि चिनियाँ पक्ष सहमत छ।’

चिनियाँ ट्राभल एजेन्सीलाई नेपालको प्रचारका लागि प्रोत्साहन गर्ने पनि दुई देशका सरकार प्रमुखद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा उल्लेख छ। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउँदैछ। सो वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष छ।

सन् २०१४ शिक्षा मन्त्रालय र नेपालका चिनियाँ दूतावासबीच चिनियाँ भाषा प्रशिक्षण सहयोगसम्बन्धी समझदारी भएको थियो

पोखरामा चिनियाँ पर्यटक

१ अर्ब ४० कराेड जनसंख्या रहेको चीनले नेपालमा पर्यटकको संख्या वृद्धि गर्न तिब्बत, सिचुवान, युनान र चिङ्थाई प्रान्तमा केन्द्रित हुने विषयमा सहमति जनाएकाे छ। विशाल चीनका यी तीन प्रदेश नेपालबाट तुलनात्मक रुपमा नजिक र सांस्कृतिक हिसाबले मिल्दाजुल्दा मानिन्छन्।

पर्यटन प्रवर्ध्दनका लागि चीनले २०१८ मा चीनमा हुने चाइना इन्टरन्यासनल ट्राभल मार्ट (सिआइटिएम) सहभागी हुन नेपाललाई निम्ता समेत गरेकाे छ।

पर्यटन मन्त्रालयले गत जेठमा नेपाल भ्रमण वर्ष २०२० घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने उल्लेख गरेको थियो। जेठ २६ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको अध्यक्षतामा गठित नेपाल भ्रमण वर्ष मूल आयोजक समितिले भ्रमण वर्षको लोगो सार्वजनिक गरिसकेकाे छ।

नेपाल भ्रमण बर्ष २०२० मा प्रति पर्यटक प्रतिदिन ६५ डलर खर्च, बसाई अवधि १४ दिन पुर्याउने सरकारको योजना छ। गत साल १० लाख पर्यटक भित्रिएकोमा प्रति पर्यटकले प्रतिदिन ५४ डलर खर्च गरेको तथ्याङ्क छ। २०१७ को तथ्याङ्कअनुसार पर्यटकहरु नेपालमा औसत १२ दिनसम्म बस्ने गरेका छन्।

बढ्दैछन् चिनियाँ पर्यटक

चिनियाँ पर्यटकलाई निःशुल्क भिषा दिन थालेपछि पछिल्लो समय नेपाल आउने चिनियाँ पर्यटककाे संख्या बढ्दाे छ। अध्यागमन विभागको तथ्याङ्कअनुसार सन २०१८ को ४ महिनामा ३ लाख ८५ हजार ८ सय ९ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। ४ महिनाको अवधिमा सबैभन्दा धेरै पर्यटक चीनबाट ५३ हजार ३ सय २२ आएका थिए। अघिल्लो वर्षको तुलनामा चिनियाँ पर्यटकको संख्या १५ हजार ३७ ले वृद्धि भएको हो।

२०१७ मा नेपालमा ९ लाख ४० हजार विदेशी पर्यटक भित्रिएका थिए। जसमध्य क्रमसः भारतबाट १ लाख ६० हजार ८ सय ३२, चीनबाट १ लाख ४ हजार ६ सय ६ भित्रिएका थिए।

विश्वमै बढ्दैछन् चिनियाँ पर्यटक

आर्थिक रुपमा सवल बन्दै गएको चीनबाट पर्यटकको रुपमा देश बाहिर जानेहरुको संख्या वर्षेनी बढ्दो छ। सन् २०१७ मा १३ करोड चिनियाँ पर्यटककाे रूपमा विदेश गएका थिए। ती पर्यटकले १ खर्ब २४ अर्ब २६ रुपैयाँ खर्च गरेको चाइना आउटबोन्ड टुरिजम ट्राभल रिपोर्टमा उल्लेख छ। २०१६ मा भने चिनियाँ पर्यटक १२२ मिलियन मात्र बाहिरिएका थिए। चाइना आउटबोन्ड टुरिजम ट्राभल रिपोर्टका अनुसार २०१६ को तुलनामा २०१७ मा ७ प्रतिशत चिनियाँ पर्यटक अाफ्नाे मुलुकबाहिर गएका थिए।

नेपाल, थाइल्याण्ड, जापान, दक्षिण कोरिया, भियतनाम, एसिया, माल्दिभ्स, इन्डोनेसिया, उत्तर कोरिया, दक्षिण अप्रिकासहितका देशहरुमा चिनियाँ पर्यटक जाने गरेका छन्।

याे पनि: पर्यटनले दिएकाे तथ्यांकमा अर्थ मन्त्रालयले ५ लाख थपेकाे खुलासा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com