वीर अस्पतालको रेडियोथेरापी मेसिन आउन सकेन सञ्चालनमा


प्रकाशित मिति : बैशाख २०, २०७५ बिहीबार

वैशाख २०, काठमाडौं । वीर अस्पतालले नयाँ प्रविधिको रेडियोथेरापी मेसिन ९टेमोथेरापी० सञ्चालनमा ल्याउने भनेको २ महिना बितिसम्दा पनि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । अस्पतालले फागुनको दोस्रो साताबाट मेसिन सञ्चालनमा ल्याउने जनाएको थियो । अस्पतालका निर्देशक डा.भुपेन्द्र बस्नेतले पुरानो कोवाल्ट मेसिनलाई व्यवस्थापन गर्न नसक्दा नयाँ मेसिन सञ्चालनमा ल्याउन ढिलो भएको बताए । उनले भने, “पुरानो कोवाल्ट मेसिन जहाँबाट ल्याएको हो, त्यही कम्पनीलाई फिर्ता गर्नुपर्ने भएकाले त्यो कम्पनीले मेसिन नलिएका कारण ढिलो भएको हो ।”

निजी अस्पतालमा क्यान्सरका बिरामीले रेडियोथेरापी गर्दा डेढदेखि दुई लाख रुपैयाँसम्म खर्च गर्नुपर्छ । तर, यो सेवा वीर अस्पतालले सञ्चालनमा ल्याएपछि ५ हजार रुपैयाँमा नै सेवा लिन सकिने निर्देशक डा. बस्नेत बताउँछन् ।

त्यसैगरी, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०का उपकुलपति प्रा.डा.गणेश गुरुङले मेसिन अमेरिकाबाट पानीजहाजमार्फत् भारतको कलकतामा आएर थन्किएको बताए ।
“पुरानो मेसिन व्यवस्थापन अबको २ सातामा गरिसक्ने कम्पनीले जनाएको छ र नयाँ मेसिन जेठको अन्तिम सातासम्ममा जडान गरिसकेर सञ्चालनमा आउनेछ,” प्रा.डा.गुरुङले भने,

“मेसिन सञ्चालनमा आउने बित्तिकै क्यान्सरको उपचार गर्न आउने सबै बिरामीलाई दुई सिफ्ट गरेर सेवा दिनेछौँ । ”
२० वर्ष पुरानो मेसिन दुई वर्षदेखि बिग्रिएर थन्किएको थियो । अस्पतालमा दैनिक ५० देखि ६० जना बिरामी समस्यामा परेका थिए र तीमध्ये अधिकांश निजी अस्पताल जान बाध्य थिए ।
वीर अस्पतालका क्यान्सर विभाग प्रमुख चिकित्सक डा.विवेक आचार्यका अनुसार क्यान्सरका बिरामीले पाँचदेखि सात सातासम्म रेडियोथेरापी गर्नुपर्छ । क्यान्सर भएका बिरामीलाई अप्रेसनअघि रेडियोथेरापी जरुरी हुन्छ । रेडियोथेरापीले ट्युमरको आकार घटाउने र अप्रेसन गर्न सजिलो बनाउने काम गर्छ ।

स्वास्थ्य मन्त्री गगन थापाको पालामा उक्त मेसिन किन्नको लागि १५ करोड रुपैयाँ विनियोजन भएको थियो । पछि अपुग भएपछि पुनः २५ करोड थपेर ४० करोड पुर्याइएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com