बालयौन दुराचार अभियोगमा युएनका पूर्वकर्मचारी डाल्गिस पक्राउ


प्रकाशित मिति : चैत्र २५, २०७४ आईतबार

बालबालिकाको उद्दारमा अन्तर्राष्ट्रिय क्षेत्रमा लामो समय काम गरेका एक व्यक्ति बाल यौन दुराचारको अभियोगमा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले क्यानेडियन नागरिक पिटर जोन डाल्गिसलाई ब्युरोले पक्राउ गरेको हो।

ब्युरोका प्रवक्ता जीवन श्रेष्ठका अनुसार ‘विभिन्न मुलुकका विदेशी नागरिकहरुले नेपाली ललाई फकाई विभिन्न बालकहरूलाई प्रलोभनमा पारी बालयौन दुराचार गरी/गराई नेपाली बालकहरूलाई पीडित बनाउने गरेको भन्ने विशेष सूचनाको आधारमा’ डाल्गिसलाई पक्राउ गरिएको हो। उनलाई चैत २४ गते बिहान साढे ६ बजे काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिका १ स्थित चिलकाजी महर्जनको घरको कोठाबाट पक्राउ गरिएको हो। ६० वर्षीय डाल्गिसले कानुनी प्रक्रियाबमोजिम आफ्नोमा राखेका १२ र १४ वर्ष उमेरका दुई नेपाली बालकहरूलाई उक्त कोठाबाट उद्दार गरिएको प्रहरीले जानकारी दिएको छ।

डाल्गिसले यसअघि युद्भपीडित बालबालिका, कामदार बालबालिका तथा सडक बालबालिकाका क्षेत्रमा संयुक्त राष्‍ट्रसंघअन्तर्गतका संस्थाहरूमा समेत नेतृत्वमा रहेका काम गरेको बताइएको छ। उनले तीनवटा मानार्थ विध्यावारिधि प्राप्त गरेको, सडक बालबालिका इन्टरनेसनलको संस्थापक रहेको, युएन हेभिट्याट अफगानिस्तानमा कन्ट्री रिप्रेजेन्टेटिभ भएर सन् २०१० देखि २०१४ सम्म काम गरेको, विश्व स्वास्थ्य संगठनमा वरिष्ठ सहरी सल्लाहकारको रूपमा लाइबेरियामा र विश्व खाद्य संगठनमा पनि काम गरेको पाइएको छ। पीडित बालकहरूलाई उद्दार गरिएको र थप अनुसन्धान जारी रहेको बताइएको छ।

प्रहरीका अनुसार उनले विगत दुई वर्षदेखि हिमालयन कम्युनिटी फाउन्डेसन सञ्चालन गरेर गरिब तथा विपन्न समुदायलाई शिक्षा र खानेपानीमा सहयोग गर्न, बालकहरूलाई पढाइदिने, विदेश घुमाइदिने, ठूलो भएपछि जागिर लगाइदिनेजस्ता विभिन्न प्रलोभनमा पारी समाजसेवीको आवरणमा स-साना बालकहरूलाई यौनशोषण गर्ने गरेको पाइएको ब्युरोका प्रवक्ता जीवन श्रेष्ठले जानकारी दिए। उनले बालकहरूको उद्दार र सामाजिक कामको आवरणमा थप अपराध कर्मा गरेको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दियो। बालयौन दुराचारमा मुलुकी ऐनअनुसार अधिकतम १५ वर्ष कैद सजाय तथा पीडितलाई क्षतिपूर्ति दिलाउने व्यवस्था रहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com