भरतपुर महानगरपालिकाको कर: ५ सय बाट एकैपल्ट १० हजारमा जम्प


प्रकाशित मिति : चैत्र १५, २०७४ बिहीबार

भरतपुर महानगरपालिकाले दुई हजार प्रतिशतसम्म कर बढाएपछि त्यसको सर्वत्र विरोध भएको छ ।

कर बृद्धि अस्वभाविक रूपले नगर्न व्यवसायीले आग्रह गर्दै आएपनि महानगरपालिकाले यसअघिको कर न्यून भएको भन्दै दुई हजार प्रतिशतसम्म कर बढाएको हो ।

महानगरपालिकाले ज्यासल वा आरन राखी काँस, पित्तल तामाको भाडा बनाउनेलार्ई रू ५०० बाट बढाएर रू १० हजार कर पु-याएको छ । रु एक हजार वार्षिक तिर्दै आएका मैदा उद्योगलाई रु २० हजार कर तोकिएको छ भने रू एक हजार तिर्ने प्राविधिक तथा व्यावसायिक शिक्षालयलाई रू २० हजार पु-याइएको छ ।

पेट्रोलपम्पले अब रु २५ हजार कर तिर्नुपर्ने भएको छ । यसअघि पेट्रोलपम्पले रू चार हजार कर तिर्दै आएको थियो । पोल्ट्रीको राजधानी मानिने यहाँ रहेका ह्याचरी उद्योगले रू छ हजारबाट रू ३० हजार कर तिर्न बाध्य भएका छन् । पेन्टस् उद्योगले रू चार हजार ५०० बाट रू ५० हजार, सिमेनमा हलले रू दुई हजारबाट २५ हजार, सिसा पसलले रू एक हजार ५०० बाट रू २० हजार कर तिर्नुपर्ने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष सहनलाल प्रधानले देशका चार महानगरपालिकामा सबैभन्दा बढी कर भरतपुर महानगरपालिकाले लगाएको बताउनुभयो । उहाँका अनुसार भरतपुरमा तय गरेको जति कर अन्य कुनै पनि महानगरपालिकामा छैन । प्रधानले भन्नुभयो “कर बढाउनुहोस्, तर अस्वाभाविक नबढाउनुहोस् भनेका छौँ । अन्य महानगरपालिकाको हाराहारीमा कर तिर्नु ठीकै हो तर सबैको भन्दा उत्पातै बढी भयो ।”

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले विगतका वर्षमा कर न्यून मात्रै रहेकाले अहिले धेरै बढेको जस्तो देखिए पनि स्वभाविक रहेको दाबी गर्नुभयो । महानगरपालिकाका पदाधिकारीले यो महानगरपालिका विशिष्ट महानगरपालिका भएकाले केही कर बढी हुने भन्दै आफ्नो अडान कायमै राख्दै आएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com