कोलम्बियाली राष्ट्रपति हुआनलाई नोबेल शान्ति पुरस्कार


प्रकाशित मिति : आश्विन २२, २०७३ शनिबार

प्रतिष्ठित नोबेल पुरस्कार ६ वटा विधामा दिइने भए पनि धेरैको ध्यान भने नोबेल शान्ति पुरस्कारमा नै जान्छ । विश्वमा शान्ति र सद्भाव कायम राख्न कुन संस्था वा व्यक्तिले योगदान गरेका छन्, त्यही आधारमा नोबेल शान्ति पुरस्कार दिइँदै आएको छ । त्यही कारण पनि, भौतिकशास्त्र, रसायन शास्त्र, चिकित्सा क्षेत्रको पुरस्कारको घोषणा गरेपछि शान्ति पुरस्कारको घोषणा गरिन्छ ।

यस पटकको बहुप्रतिक्षित नोबेल शान्ति पुरस्कार कोलम्बियाली राष्ट्रपति हुआन मानुएल सान्तोषलाई प्रदान गर्ने निर्णय गरिएको छ । नोबेल पुरस्कार समितिको शुक्रबार बसेको बैठकले सान्तोषलाई प्रदान गर्ने निर्णय गरेको हो । विजेता सान्तोषलाई यो पुरस्कार कोलम्बियामा राज्य पक्ष र वामपन्थी फार्कबीच करिब आधा शताब्दीदेखि जारी युद्धलाई समाप्त गरेर शान्ति सम्झौता गर्न भूमिका निर्वाह गरेबापत प्रदान गर्ने निर्णय नोबेल समितिले गरेको हो ।

राज्य पक्ष र वामपन्थी शक्तिबीचको युद्धलाई शान्ति सम्झौता गराउने तहसम्म भूमिका खेल्न राष्ट्रपति सान्तोषलाई करिब चार वर्ष लागेको थियो । उनकै अथक परिश्रमले शान्ति सम्झौता सम्भव भएको थियो ।

कोलम्बियामा सन् १९६४ देखि नै गृहयुद्ध चर्किएको थियो । एक तथ्यांकअनुसार, करिब ५० वर्षसम्म चलेको यो गृहयुद्धमा दुई लाख पैंतीस हजारले ज्यान गुमाएका छन् । गृहयुद्धकै कारण ८० लाखभन्दा बढी नागरिक विस्थापित भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com