टोखामा चाकु बनाउने चटारो (फोटो फिचर)
प्रकाशित मिति : पुस २५, २०७४ मंगलबार
माघेसंक्रान्ति नजिकिँदै जाँदा टोखा चाखु उद्योगमा कामदारहरुलाई भ्याइनभ्याई छ ।मंसिर लागेदेखि नै माग बढ्न थाल्छ ।बुद्ध श्रेष्ठ भन्छन्, ‘पुस महिनाभरी माघेसंक्रान्ति सम्म हामीलाई खाना खाने पनि फुर्सद हुन्न ।’
अरु बेला परिवारकै सदस्यहरुले काम गर्दा भ्याउने भए पनि मंसिर-पुसमा १२-१५ जना कामदार लगाउने गरिएको छ । यहाँ चाकुका विभिन्न आइटमहरु उपलब्ध छन् ।
सादा चाकु बाहेक खुवा चाकु (खुवा हालेर बनाएको), स्पेसल चाकु (बदाम, किसमिस लगायत मसला हालेर बनाइएको), सुत्केरी चाकु (सुत्केरी महिलालाई पौष्टिक तत्व हुने गरी बनाइएको) लगायत चाकुहरु बनाउने गरिएको बुद्धले बताए । सामान्यतया दैनिक ४०-५० किलो उत्पादन गरिने भए पनि मंसिर र पुसमा दैनिक ४००-५०० किलो उत्पादन हुने गरेको उनले जानकारी दिए ।
चाकु बाहेक तिलको लड्डु र तिलौरा पनि बनाउने गरिएको छ ।