३२ पृष्ठ लामो प्रतिवेदनमा के लेखेका छन् ओलीले ?


प्रकाशित मिति : आश्विन ५, २०७३ बुधबार

सरकारको नेतृत्वबाट बाहिरिएको डेढ महिनापछि एमाले केन्द्रीय कमिटीको बैठक बुधबारदेखि बस्दै छ । अध्यक्ष केपी ओलीले बैठकमा पेस गर्न ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन तयार गरेका छन् ।

तत्कालीन सत्तासाझेदार माओवादी केन्द्र र प्रतिपक्षी कांग्रेसले बाह्य शक्तिसँग साँठगाँठमा गरेर आफू नेतृत्वको सरकार विस्थापित गरेको आरोप ओलीले प्रतिवेदनमा लगाएका छन् । खास गरेर चीनसँग पारवहन सम्झौता गरेपछि त्यो उत्कर्षमा पुगेको उनको दाबी छ ।

‘सरकार बनेदेखि नै नेपाली कांग्रेस, माओवादी र बाह्य पक्षबीच लगातार सम्पर्क भइरह्यो । चीनसँग पारवहन सम्झौता भइसकेपछि सरकार विस्थापन गर्ने प्रयासले तीव्रता पायो,’ ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् । संविधान निर्माणको उपलब्धिलाई उल्ट्याएर देशलाई अस्थिरता र द्वन्द्वमा धकेल्ने योजनाअनुरूप उनीहरूको गठजोड भएको ओलीको निष्कर्ष छ ।

‘सतहमा हेर्दा प्रधानमन्त्री परिवर्तनको सामान्य संसदीय अभ्यासजस्तो देखिए पनि यसका पछाडिका उद्देश्यहरू नियोजित र गम्भीर प्रकृतिका छन् । सरकार परिवर्तनमार्फत आन्तरिक र बाह्य शक्तिकेन्द्रहरू विगत एक वर्षभन्दा लामो समयदेखि नेपालले प्राप्त गरेका उपलब्धिहरूलाई उल्ट्याउने र मुलुकलाई राजनीतिक अस्थिरता, नयाँ ध्रुवीकरण र द्वन्द्वतिर धकेल्ने योजनामा केन्द्रित छन्,’ प्रतिवेदनमा उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रतिवेदनमा अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र छिमेकी भारतप्रति आक्रोश ब्यक्त गरेका छन् । उनले प्रचण्डलाई ‘राजनीतिक बेइमान र धोखेबाज’ तथा भारतलाई ‘सार्वभौम मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने’ छिमेकी भनेका छन् ।

छिमेकीसँगको सम्बन्ध

स्वतन्त्र र सार्वभौम राष्ट्रको हैसियतले सबै मित्रराष्ट्रहरूसँग र विशेषगरी छिमेकीहरूसँग असल सम्बन्ध राख्नु नेपालको अधिकार मात्रै होइन आवश्यकता पनि हो । नेपाल–भारत र नेपाल–चीन सम्बन्धका आफ्नै विशेषताहरू छन् र ती एकापसमा तुलना गर्ने विषय होइनन् । छिमेकीहरूसँगको राम्रो सम्बन्ध, हाम्रो सम्बन्ध मित्र–मित्रबीचको सम्बन्ध हो, शासक–शासितबीचको जस्तो होइन ।

प्रधानमन्त्री प्रचण्ड र भारतप्रति आक्रोश
सरकार परिवर्तनपछिको ‘कोर्स’

सतहमा हेर्दा प्रधानमन्त्री परिवर्तनको सामान्य संसदीय अभ्यासजस्तो देखिए पनि यसका पछाडिका उद्देश्यहरू नियोजित र गम्भीर छन् । सरकार परिवर्तनमार्फत आन्तरिक र बाह्य शक्तिकेन्द्रहरू एक वर्षभन्दा लामो समयदेखि प्राप्त गरेका उपलब्धिहरूलाई उल्ट्याउने र मुलुकलाई राजनीतिक अस्थिरता, नयाँ ध्रुवीकरण र द्वन्द्वतिर धकेल्ने योजनामा केन्द्रित छन् ।

समयमा स्थानीय तहको निर्वाचन नहुनुको स्पष्ट अर्थ हो– समयमा प्रदेश सभाको पनि निर्वाचन हुन नसक्नु र ०७४ माघभित्र संघीय व्यवस्थापिकाको निर्वाचन हुन नसक्ने परिस्थिति निर्माण हुनु । निर्धारित समयभित्र निर्वाचन हुन नदिएर मुलुकमा राजनीतिक रिक्तता सिर्जना गर्ने, संवैधानिक संकट उत्पन्न गर्ने र त्यही शून्यता र संकटका बीचमा संविधानका आधारभूत विशेषताहरू र नेपाली जनताले प्राप्त गरेका उपलब्धिहरूलाई उल्ट्याउने दिशातिर राजनीतिलाई धकेल्ने प्रयास तीव्र पारिएको छ ।

प्रचण्डद्वारा राजनीतिक बेइमानी

राष्ट्रपतिको भारत भ्रमणको पूर्वसन्ध्यामा, सरकारले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको वेला छिमेकी मित्रराष्ट्रसँगको सम्बन्धलाई प्रतिकूल प्रभाव पार्ने र बजेट नै प्रस्तुत गर्न नदिने गरी सरकार परिवर्तन गर्न खेलिएको यो अत्यन्त खतरनाक योजना थियो र तरिकाका हिसाबले पनि यो ठूलो धोखा र बेइमानी थियो ।

दिनमा तीनचोटि बोली फेर्ने अस्थिर राजनीतिक स्वभाव र संकीर्ण स्वार्थ पूर्तिका लागि जस्तासुकै शक्तिसँग गठबन्धन गर्ने माओवादी चरित्रले माओवादीलाई त विखण्डन र समाप्तिको बाटोमा लैजाने नै छ, तर तत्कालका लागि देशले पनि यसको मूल्य चुकाउनुपर्ने स्थिति सिर्जना भएको छ ।

यसकारण कांग्रेसलाई राष्ट्रपति दिइएन

कांग्रेस लोकतन्त्रका निम्ति आवश्यक शक्ति हो । तर, ऊ पुँजीवादी शक्ति हो, परिवर्तनको विपक्षमा छ र एमालेका विरुद्ध चरम पूर्वाग्रही छ । समग्र विषयमा राष्ट्रिय सहमति नभएको अवस्थामा उसलाई राष्ट्रपति दिने कुरा उचित हुँदैनथ्यो । त्यसैले हामीले कांग्रेसलाई राष्ट्रपति दिनुपर्छ भनेर माओवादीले अगाडि सारेको प्रस्तावलाई इन्कार ग¥यौँ । हामीले राष्ट्रपति निर्वाचनमा आफ्नो योजना अगाडि बढायौँ र सफल भयौँ ।

छिमेकीबाट नाकाबन्दी इतिहासकै विडम्बना

संविधान निर्माणजस्तो कुनै पनि सार्वभौम मुलुकको आन्तरिक मामला र उसको स्वतन्त्र निर्णयको विषयलाई लिएर नेपालमाथि नाकाबन्दी थोपरिनु समकालीन नेपाली इतिहासकै पीडादायक विडम्बना थियो । सार्वभौम संविधानसभाले पूर्ण लोकतान्त्रिक विधिबाट बनाएको संविधान घोषणा हुँदा निकट छिमेकीबाट प्रकट यस्तो व्यवहार अकल्पनीय थियो । हाम्रो संविधान ‘कम समावेशी’ भएर या या ‘कम लोकतान्त्रिक’ भएका कारण होइन, नेपालले आफ्ना मुद्दाहरूको फैसला आफैँ गरेको कुराप्रतिको रोष र यसलाई नेपाली राजनीतिमा आफ्नो विगतदेखिकै वर्चस्वमाथि चुनौती ठान्ने अनुदार सोचका कारण यस्तो स्थिति सिर्जना भएको थियो ।

नेपालको राजनीतिमा आफ्नो ‘विशेष भूमिका’को अनधिकृत दाबी गर्दै आएका कतिपय पक्षलाई यो निर्णय पाच्य भएन । संविधान निर्माणका बाधक पक्षहरूलाई दुरुत्साहन गर्ने र संविधानसभाबाट संविधान निर्माण भइसकेपछि पनि त्यसलाई घोषणा हुन नदिन दबाब दिने काम भए । सबै दबाबलाई झेल्दै संविधान घोषणा भएपछि नेपाललाई दण्डित गर्ने मनसायले नाकाबन्दी लगाउने काम भएको थियो ।

– अन्ततः अन्तर्राष्ट्रिय जगत्को आलोचना, आफ्नै देशभित्रको दबाब, ‘मधेस आन्दोलन’लाई थप लम्ब्याइरहन नसकिने यथार्थ आदिका कारण भारत सरकारले अघोषित नाकाबन्दीलाई अघोषित रूपमै हटायो । राष्ट्रिय स्वाभिमानको यस संघर्षमा जनताले ऐतिहासिक सफलता प्राप्त गरे ।

– यस्तो अवस्था नदोहोरियोस् भन्ने सुनिश्चित गर्न सरकारले व्यापार र पारवहन सुविधाको विविधीकरण गर्ने, मित्रराष्ट्र चीनसँग पारवहन र यातायात सम्झौता गर्ने, नेपाललाई एकपक्षीय निर्भरताबाट मुक्त गर्दै जाने तथा कनेक्टिभिटीलाई विस्तार र सुदृढ गर्दै मुलुकलाई भूपरिवेष्टित होइन, भूजडित (ल्यान्ड–लिंक्ड) अवस्थामा पु-याउने काम गरेको छ । इतिहासकै कठिन अवस्थामा अनुचित दबाबको सामना गर्दै मुुलुकको शिर ठाडो राख्नु र आउने पुस्ताले फेरि नाकाबन्दीजस्तो अवस्थाको सामना गर्नु नपरोस् भन्ने कुरा सुनिश्चित गर्नु सरकारको सर्वाधिक महत्वपूर्ण उपलब्धि हो ।

– नयाँ सरकार बन्नुभन्दा अगाडि नाकाबन्दी र अत्यन्त तिक्तताको अवस्थामा रहेको दुईपक्षीय सम्बन्ध सामान्य अवस्थामा फर्केको छ । १९५० को सन्धिलगायतको पुनरावलोकन र दुई देशबीचको सम्बन्ध समयानुकूल विकास गर्न आवश्यक सुझाब दिन गठित ‘प्रबुद्ध व्यक्तिहरूको समूह’को पहिलो बैठक काठमाडौंमा सम्पन्न भएको छ । वर्षौँदेखि थाती रहेका पञ्चेश्वरलगायत दुईपक्षीय संयन्त्रहरू क्रियाशील भएका छन् । प्रधानमन्त्रीको भारत भ्रमणका वेला सातवटा विषयमा नौबुँदे समझदारीमा हस्ताक्षर भएको छ । बिसाखापटनम बन्दरगाहको प्रयोग र क्रस बोर्डर ट्रान्समिसन लाइनबाट नेपालमा विद्युत् आपूर्ति अगाडि बढाइएको कुरा उल्लेखनीय छ । नयाँ पत्रिकामा खबर छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com