टीपीएसपछि अमेरिकाबाट दशककै कम नेपाली डिपोर्ट


प्रकाशित मिति : आश्विन ४, २०७३ मंगलबार

 किशोर पन्थी / न्युयोर्क

नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुका लागि अमेरिकी सरकारले ल्याएको विशेष सुविधा टेम्पोरेरी प्रोटेक्टेड स्टेटटस (टीपीएस) पछि अमेरिकाबाट डिपोर्ट आदेश पाउने नेपालीहरुको संख्या ११ बर्षयताकै कम भएको छ । यद्यपी नेपाललाई टीपीएसको दर्जामा राखिसकेपछि पनि अमेरिकाबाट डिपोर्ट आदेश पाउने नेपालीहरुको संख्या भने उल्लेख्य नै रहेको छ । अमेरिकामा रहेका नेपालीहरुले टीपीएस सुविधा पाइसकेपछि अमेरिकामा बस्नका लागि अध्यागमन अदालतबाट फैसला पाउने नेपालीहरुको संख्या अमेरिकी अध्यागमनकै इतिहासमा सबैभन्दा धेरै देखिएको छ । चालु आर्थिक बर्षमा अमेरिकाको अध्यागमन अदालतबाट अमेरिकामा बस्ने गरी सुविधा पाउने नेपालीहरुको संख्या अहिलेसम्मकै धेरै रहेको छ ।

डिपोर्ट आदेश पाउने नेपाली ११ बर्षमै कम

अमेरिकी अदालतले हरेक वर्ष ठूलो संख्यामा नेपालीहरुलाई अमेरिकाबाट देशनिकालाको फैसला गर्दै आएकोमा चालु आर्थिक बर्ष २०१६ मा अमेरिकी अदालतबाट डिपोर्टेशनको आदेश पाउने नेपालीहरुको संख्या ११ बर्षमा नै कम देखिएको छ । चालु आर्थिक बर्षमा यस्तो आदेश पाउने नेपालीहरु १ सय १८ जना पुग्ने अनुमान गरिएको छ भने गतमहिनासम्म ९८ जना नेपालीहरुलेमात्र यस्तो आदेश पाइसकेका छन् । चालु आर्थिक बर्ष २०१६ को पहिलो महिना गत अक्टोबरदेखिका सातमहिना अर्थात् अप्रिलसम्ममा अमेरिकी अदालतबाट देश निकालाको फैसला पाउने नेपालीहरु जम्मा ६२ जना रहेको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले जनाएको छ । मेमहिनादेखि जुलाईसम्म ३६ जना नेपालीहरुले अदालतबाट देशनिकालाको आदेश पाए भने अगस्तदेखि सेप्टेम्बरको अन्त्यसम्म देशनिकालाको आदेश पाउने नेपालीहरुको संख्या २० सम्म पुग्ने इमिग्रेशन रिसर्चले देखाएको छ । यसरी नेपाललाई टीपीएसको दर्जामा राखिएका कारण चालु आर्थिक बर्षमा ११ बर्षकै कम नेपालीहरुले अमेरिकाबाट देश निकालाको आदेश पाएका छन् ।

cover-2

यो बर्षभन्दा सबैभन्दा कम नेपालीले डिपोर्टेशनको आदेश आर्थिक बर्ष सन् २००४ मा पाएका थिए । सन् २००४ मा जम्मा ९८ जना नेपालीहरुले अमेरिकाबाट देश निकालाको आदेश पाएका थिए । त्यसयता अमेरिकाबाट देश निकालाको आदेश पाउने नेपालीहरुको संख्या उल्लेख्य रहेको छ । सन् २००५ मा १२७, सन् २००६ मा १३०, सन् २००७ मा १३४, सन् २००८ मा १४०, सन् २००९ मा १६७, सन् २०१० मा १६३, सन् २०११ मा २८५, सन् २०१२ मा २२२, सन् २०१३ मा २१२, सन् २०१४ मा २१५ र सन् २०१५ मा १४० नेपालीहरुले अमेरिकी अदालतबाट देश निकालाको फैसला पाएका थिए ।

गतबर्षको उत्तरार्धमा नेपालीहरुलाई टीपीएस सुविधा प्रदान गरिएकाले डिपोर्टको आदेश पाउने नेपालीहरुको संख्या आर्थिक बर्ष २०१५ को अन्त्यतिर ह्वात्तै घटेको थियो । फलस्वरुप ८ बर्षयताकै कम नेपालीहरुले गत बर्ष अमेरिकी अदालतबाट देश निकालाको फैसला पाएका थिए । सन् २००८ मा पनि गतबर्ष जति नै अर्थात् १४० जना नेपालीहरुले अमेरिकाबाट देश निकालाको फैसला पाएकोमा त्यसयता देश निकालाको फैसला पाउने नेपालीहरुको संख्या बढेको थियो ।

चालु आर्थिक बर्ष २०१६ को रेकर्ड हेर्दा गतमहिनासम्म न्युयोर्कको अदालतबाट सबैभन्दा धेरै नेपालीहरुले देश निकालाको आदेश पाएका थिए । न्युयोर्कको अदालतबाट देश निकालाको आदेश पाउने नेपालीहरु चालु आर्थिक बर्षको १० महिनामा ४४ जना रहेका छन् । त्यस्तै क्यालिफोर्नियाको अदालतबाट २४ जना, मेरिल्याण्डको अदालतबाट ७ जना, पेन्सिलभेनिया र टेक्सासको अदालतबाट चार चार जना, इलिनोय र जर्जियाको अदालतबाट तीनतीन जना, लुजियाना र मासाचुसेट्सको अदालतबाट दुईदुईजना, युटाह, भर्जिनिया, ओरेगन, न्युजर्सी र वासिंटनको अदालतबाट एकएकजना नेपालीहरुले देश निकालाको आदेश पाएको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले जनाएको छ ।

अदालतबाट अमेरिकामा बस्ने सुविधा पाउने नेपाली इतिहासमै धेरै

अमेरिकामा बस्ने नेपालीहरुले टीपीएसको सुविधा पाइसकेपछि अदालतबाट अमेरिकामा बस्न सुविधा प्राप्त गर्ने नेपालीहरुको संख्या अमेरिकी अध्यागमनको इतिहासमा नै सबैभन्दा धेरै रहेको छ । चालु आर्थिक बर्षको अन्त्यसम्ममा यो संख्या ५९६ पुग्ने अनुमान गरिएको छ भने अहिलेसम्म साढे ५ सयभन्दा धेरैले अदालती फैसलाबाट अमेरिकामा बस्ने सुविधा प्राप्त गरेका छन् । चालु आर्थिक बर्षको १० महिनामा यस्तो सुविधा पाउने नेपालीहरुको संख्या ४९७ रहेको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांकले देखाएको छ । चालु आर्थिक बर्षको अनुमानित संख्या ५९६ सँग विगतका बर्षहरुको तुलना गर्दा यो अमेरिकी अध्यागमनको इतिहासमा नै सबैभन्दा धेरै हो ।

गत बर्ष सन् २०१५ मा अमेरिकी अदालतबाट अमेरिकामा नै बस्न सुविधा पाउने नेपालीहरुको संख्या ५२९ रहेको थियो । सन् १९९८ देखिको इतिहास हेर्दा यस्तो सुविधा पाउने नेपालीहरु आर्थिक बर्ष सन् १९९८ मा २३ जना, सन् १९९९ मा ६६ जना, सन् २००० मा ६६ जना, सन् २००१ मा ४८ जना, सन् २००२ मा ४७ जना, सन् २००३ मा ७९ जना, सन् २००४ मा १२२ जना, सन् २००५ मा १२५ जना, सन् २००६ मा २०६, सन् २००७ मा १७७, सन् २००८ मा १८८, सन् २००९ मा २४४, सन् २०१० मा ३२२, सन् २०११ मा ४५७, सन् २०१२ मा ५४२, सन् २०१३ मा ५८० र सन् २०१४ मा ४९१ रहेको थियो ।

चालु आर्थिक बर्ष २०१६ को रेकर्ड हेर्दा कुल ४९७ जनामध्ये अमेरिकामा बस्न पाउने सुविधा प्राप्तीको फैसला नेपालीहरुले सबभन्दा धेरै न्युयोर्कको अदालतबाट पाएका थिए । न्युयोर्कको अदालतबा यस्तो सुविधा पाउने नेपालीहरु २५९ जना रहेका थिए । त्यसपछि क्यालिफोर्नियाको अदालतबाट १२१ जना नेपालीहरुले यस्तो सुविधा पाएका थिए भने टेक्सासको अदालतबाट २२ जना र मेरिल्याण्डको अदालतबाट २० जना नेपालीहरुले यस्तो सुविधा प्राप्त गरेका थिए । मासाचुसेट्सको अदालतबाट १३ जना र कोलोराडाको अदालतबाट ८ जनाले यस्तो सुविधा पाएका थिए । त्यस्तै भर्जिनियाको अदालतबाट ७, लुजियानको अदालतबाट ६, कनेक्टिकटको अदालतबाट ५, नर्थ क्यारोलिना, ओरेगन र जर्जियाबाट चारचार, इलिनोय, न्युजर्सी, पेन्सिलभेनिया र मिसिगनबाट तीनतीन, युटाह, नेभाडा, एरिजोना, हवाइ, वासिंटनबाट दुईदुई र टेनिसी र फ्लोरिडाको अदालतबाट एकएक जना नेपालीहरुले यस्तो सुविधा पाएका थिए ।

cover-1

नेपालीबिरुद्ध देशनिकालाका कति मुद्दा ?

गत आर्थिक वर्ष सन् २०१५ मा १०८४ जना नेपालीहरुबिरुद्ध अमेरिकाबाट देशनिकालाका लागि अध्यागमन अदालतमा मुद्दा दायर गरेको थियो । आर्थिक वर्ष सन् २०१४ मा होमल्याण्ड सेक्युरिटीले ८९६ जना नेपालीविरुद्ध इमिग्रेशन अदालतमा मुद्दा दायर गरेको थियो । सन् २०१३ मा होमल्याण्ड सेक्युरिटीले ८२१ जना नेपालीविरुद्ध इमिग्रेशन अदालतमा मुद्दा दायर गरेको थियो । सन् २०१२ मा होमल्याण्ड सेक्युरिटीले ७६८ जना नेपालीविरुद्ध इमिग्रेशन अदालतमा मुद्दा दायर गरेको थियो । जसमध्ये जघन्य अपराधमा संलग्न ६ जना रहेका थिए भने अन्य अपराधमा संलग्नहरु ५ जना रहेका थिए । त्यस्तै सन् २०११ मा होमल्याण्ड सेक्युरिटीले ८४५ जना नेपालीविरुद्ध इमिग्रेशन अदालतमा मुद्दा दायर गरेको थियो । अघिल्लो वर्ष सन् २०१० मा होमल्याण्ड सेक्युरिटीले ९१० जना नेपालीविरुद्ध इमिग्रेशन अदालतमा मुद्दा दायर गरेको थियो । जसमध्ये जघन्य अपराधमा संलग्न २ जना रहेका थिए भने अन्य अपराधमा संलग्नहरु ५ जना रहेका थिए । सीमाबाट सीमा सुरक्षा अधिकारीलाई छलेर छिरेकाहरु १०१ जना र इमिग्रेशनको मामलामा ७७९ जना विरुद्ध मुद्दा हालिएका थियो । त्यो बाहेक अन्य मामलामा २३ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । जसमध्ये न्युयोर्कको इमिग्रेशन अदालतमा ३६८ जना विरुद्ध, टेक्सासमा १७२ र क्यालिफोर्नियामा १८२ जना विरुद्ध मुद्दा दायर गरिएको थियो ।

त्यसैगरी सन् २००९ मा होमल्याण्ड सेक्युरिटीले ८४८ जना नेपालीविरुद्ध इमिग्रेशन अदालतमा मुद्दा दायर गरेको थियो । सन् २००८ मा होमल्याण्ड सेक्युरिटीले ५२३ जना नेपालीविरुद्ध इमिग्रेशन अदालतमा मुद्दा दायर गरेको थियो । त्यस्तै सन् २००७ मा होमल्याण्ड सेक्युरिटीले ३९५ जना नेपालीविरुद्ध इमिग्रेशन अदालतमा मुद्दा दायर गरेको थियो । जसमध्ये जघन्य अपराधमा संलग्न २ जना रहेका थिए । सन् २००६ मा होमल्याण्ड सेक्युरिटीले ३३० जना नेपालीविरुद्ध इमिग्रेशन अदालतमा मुद्दा दायर गरेको थियो । सन् २००५ मा होमल्याण्ड सेक्युरिटीले २८८ जना नेपालीविरुद्ध इमिग्रेशन अदालतमा मुद्दा दायर गरेकोमा जघन्य अपराधमा संलग्न एकजना, अन्य अपराधमा संलग्न २ जना , सीमाबाट छिरेका १२ जना र इमिग्रेशनको मामलामा २७३ जना रहेका थिए । सन् २००४ मा २९३ जना, सन् २००३ मा २४२ जना, सन् २००२ मा १२३ जना, सन् २००१ म ७४ जना , सन् २००० मा ६९ जना, सन् १९९९ मा १४७ जना, सन् १९९८ मा १७५ जना र सन् १९९७ मा ३४ जना नेपालीविरुद्ध होमल्याण्ड सेक्युरिटीले इमिग्रेशन अदालतमा मुद्दा दायर गरेको थियो । त्यस्तै सन् १९९६ मा २२ जना, सन् १९९५ मा ५२ जना, सन् १९९४ मा १८ जना नेपालीविरुद्ध होमल्याण्ड सेक्युरिटीले इमिग्रेशन अदालतमा मुद्दा दायर गरेको थियो । सन् १९९४ मा मुद्दा दायर गरिएका १८ जनामध्ये सबै इमिग्रेशनसँग सम्बन्धित थिए भने सन् १९९३ मा मुद्दा दायर गरिएका ९ मध्ये ३ अपराध र ६ इमिग्रेशन रहेका थिए । त्यस्तै सन् १९९२ मा ८ जना नेपालीविरुद्ध होमल्याण्ड सेक्युरिटीले इमिग्रेशन अदालतमा मुद्दा दायर गरेको थियो ।

(नोट ः रिपोर्टमा प्रस्तुत कतिपय तथ्यांकहरु थप अपडेटका क्रममा रहने भएकाले खसोखासमा प्रकाशित विगतमा रिपोर्टको तुलनामा दुईचार नम्बर थपघट हुनसक्छ । यसो भएमा खसोखासमा प्रकाशित पछिल्ला तथ्यांकलाई मुल आधार मान्न सकिनेछ ।)


© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com