इजरायलमा राजनीतिक अस्थिरता : नेतान्याहूद्वारा विपक्षी नेता आइजेनकोटलाई आलोपालो सरकारको प्रस्ताव
आफ्नो राजनीतिक अस्तित्व जोगाउने अन्तिम प्रयासस्वरूप नेतान्याहूले विपक्षी नेता आइजेनकोटलाई सुरुको कार्यकालमा प्रधानमन्त्री बन्न दिन लचकता देखाएका छन्। तर, हमासप्रतिको दृष्टिकोण र सन् २०२० को सत्ता साझेदारी धोकाका कारण आइजेनकोटलाई यो प्रस्ताव स्वीकार्न सहज देखिएको छैन।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सम्भावित राष्ट्रिय सहमतिको सरकारमा आफ्ना मुख्य प्रतिस्पर्धी गादी आइजेनकोटलाई पहिले प्रधानमन्त्री बन्न दिन सकिने प्रस्ताव गरेका छन्। सत्ताबाट बाहिरिने खतरा बढ्दै गएपछि नेतान्याहूले पद जोगाउन अन्तिम प्रयासस्वरूप यस्तो प्रस्ताव अघि सारेको राजनीतिक विश्लेषकहरूले बताएका छन्।
नेतन्याहूलाई सत्ताबाट हटाउने मुख्य एजेन्डासहित चुनावी मैदानमा उत्रिएका पूर्वसैनिक प्रमुख आइजेनकोटले आफ्नो अस्थिर गठबन्धनलाई एकताबद्ध राख्न सक्छन् कि सक्दैनन् भन्ने विषय अझै अनिश्चित छ। सरकार गठनका लागि आइजेनकोटले पाएको समयसीमा करिब एक हप्तामा सकिँदैछ, यद्यपि आवश्यक परेमा उनले राष्ट्रपति आइज्याक हर्जोगसमक्ष थप दुई हप्ताको समय माग गर्न सक्नेछन्।
गत अक्टोबरमा सम्पन्न निर्वाचनमा कुनै पनि गठबन्धनले स्पष्ट बहुमत ल्याउन नसकेपछि इजरायल राजनीतिक अनिर्णयको बन्दी बनेको छ। १२० सदस्यीय संसद्मा नेतान्याहूको गठबन्धनले ५३ र आइजेनकोट समर्थक दलहरूले ४८ सिट जितेका छन् भने अरब अल्पसङ्ख्यक दलहरूले कुल १९ सिट प्राप्त गरेका छन्।
अब आइजेनकोटसामु तीनवटा कठिन विकल्प छन्— यहुदी इजरायलीहरूले शङ्काको दृष्टिले हेर्ने अरब दलहरूसँग सहकार्य गर्ने, आफ्ना मतदाताले नरुचाएका अति-रूढीवादी दलहरूसँग मिल्ने, वा आफूले नेतृत्वका लागि अयोग्य भन्दै आएका नेतन्याहूसँगै हात मिलाउने।
शनिबार राति एक विज्ञप्ति जारी गर्दै नेतन्याहूले आइजेनकोटलाई आलोपालो प्रधानमन्त्री बन्ने गरी गठबन्धनको प्रस्ताव गरेका हुन्। प्रस्तावअनुसार सुरुको कार्यकालमा आइजेनकोट प्रधानमन्त्री बन्नेछन् भने नेतन्याहू ‘वैकल्पिक प्रधानमन्त्री’ का रूपमा रहनेछन्। अरब दलहरूसँग मिलेर बन्न सक्ने सम्भावित सरकारलाई ‘विपत्तिको सरकार’ को संज्ञा दिँदै नेतान्याहूले देशलाई भित्रैबाट अस्थिर हुनबाट जोगाउन आफूले यस्तो लचकता अपनाएको दाबी गरेका छन्।
यसै विषयमा वार्ता गर्न नेतान्याहू र आइजेनकोटबीच आइतबार बिहान तेल अभिभको उत्तरी क्षेत्रमा औपचारिक भेटवार्ता हुने तय भएको दुवै नेताका प्रतिनिधिहरूले जनाएका छन्। गत महिनाको अनिर्णित निर्वाचनपछि दुई शीर्ष नेताबीच हुन लागेको यो पहिलो औपचारिक संवाद हो।
यद्यपि, नेतान्याहूको प्रस्तावले विपक्षी खेमाभित्रै तीव्र मतभेद सिर्जना गरेको छ। सन् २०२० मा अर्का पूर्वसैनिक प्रमुख बेन्नी गान्जसँग आलोपालो सरकार बनाउँदा नेतान्याहूले गान्जको पालो आउनुअगावै संसद् विघटन गरिदिएको तीतो विगतका कारण आइजेनकोट सशङ्कित छन्।
नेतन्याहूको प्रस्तावप्रति विपक्षी नेताहरूका प्रतिक्रिया विभाजित देखिएका छन्। ‘डेमोक्र्याट्स’ पार्टीका नेता याइर गोलानले नेतान्याहूको प्रस्तावलाई ‘नाटक र चालबाजी’ भन्दै तत्काल अस्वीकार गरेका छन् भने ‘टुगेदर’ पार्टीका सह-संस्थापक याइर लापिडले यसलाई ‘खुला ठगी’ को संज्ञा दिएका छन्। तर, सोही दलका नेता नाफ्ताली बेनेटले भने नेतन्याहूले सही कदम चालेको भन्दै आइजेनकोटलाई वार्तामा बस्न आग्रह गरेका छन्।
यसअघि आइजेनकोटले नेतन्याहूविरोधी ‘डेमोक्र्याट्स’ र दक्षिणपन्थी ‘यिस्राइल बेइतेनु’ पार्टीसँग गठबन्धनको सहमति गरिसकेका छन्। तर, सरकार बनाउन उनलाई अरब दलहरूको समर्थन आवश्यक छ, जसका लागि आइजेनकोटले हमासलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा गर्नुपर्ने सर्त राखेका छन्।
शनिबार राति इजरायलको च्यानल १२ सँगको अन्तर्वार्तामा सबैभन्दा ठूलो अरब दल ‘राम’ का प्रमुख मन्सुर अब्बासले आफ्नो पार्टीले संसद्मा हमासलाई आतङ्कवादी समूह भनी उल्लेख गरिएको एक विधेयकमा हस्ताक्षर गरिसकेको बताए। तर, प्यालेस्टिनीहरूविरुद्ध ‘पूर्ण युद्ध’ को बहाना नबनोस् भन्नका लागि आफूले उक्त शब्दको औपचारिक प्रयोगमा सावधानी अपनाएको उनको भनाइ छ। अब्बासको यो अस्पष्ट जवाफले आइजेनकोटको सर्त पूरा गर्छ वा गर्दैन भन्ने स्पष्ट भइसकेको छैन।





