आन्ध्र महासागरको जोखिमपूर्ण यात्रा : स्पेनको क्यानरी टापुमा १४ आप्रवासीको शव फेला
स्पेनको क्यानरी टापु नजिकै करिब एक सय जना सवार डुङ्गा उद्धार गर्ने क्रममा १४ आप्रवासी मृत फेला परेका छन्। आप्रवासीको अत्यधिक चापले स्थानीय प्रशासनलाई व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेका बेला आइतबारको आमनिर्वाचनअघि यो दुखद घटना सार्वजनिक भएको हो।
Photo: Baptiste Riethmann/Unsplash
स्पेनको क्यानरी टापु नजिकै करिब एक सय जना सवार डुङ्गाको उद्धार गर्ने क्रममा १४ जना आप्रवासी मृत फेला परेका छन्। आप्रवासीको आगमन ह्वात्तै बढेपछि स्थानीय अधिकारीहरूलाई व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेका बेला शुक्रबार स्पेनिस समाचार संस्था ईएफईले यो दुःखद घटना सार्वजनिक गरेको हो।
आइतबार स्पेनमा हुन लागेको आमनिर्वाचनको ठीक केही दिनअघि भएको यो दुर्घटनाले विश्वकै सबैभन्दा खतरनाक मानिने आप्रवासन मार्गको जोखिमलाई पुनः उजागर गरेको छ। स्पेनको यस निर्वाचनमा आप्रवासनको विषय मुख्य चुनावी एजेन्डा बनेको छ।
ईएफईका अनुसार १४ जनाको शव किनारामा ल्याइएको छ। यसअघि सामुद्रिक उद्धार सेवाले डुङ्गाभित्र ८ देखि १० वटा शव फेला परेको र गम्भीर अवस्थामा रहेका ६ जनालाई हेलिकप्टरमार्फत अस्पताल पुर्याइएको जानकारी दिएको थियो। एल हिएरो टापुबाट ३९ नटिकल माइल दक्षिणमा फेला परेको उक्त डुङ्गालाई अहिले ला एस्टाका बन्दरगाहमा तानेर ल्याइँदै छ। उता, अर्को एक डुङ्गाबाट उद्धार गरिएका ८४ जना जीवित आप्रवासीहरूलाई सोही टापुको ला रेस्टिङ्गा बन्दरगाहमा उतारिएको छ। करिब ११ हजार ४ सय जनसंख्या भएको एल हिएरो टापुको सोही बन्दरगाहमा आप्रवासी स्वागत केन्द्र र फिल्ड अस्पताल रहेको छ, जहाँ टापुमा आइपुग्ने अधिकांश डुङ्गाका यात्रुहरूको प्रारम्भिक जाँच तथा व्यवस्थापन गरिन्छ।
गत अक्टोबर महिनादेखि क्यानरी टापुमा आप्रवासी भित्रिने क्रम तीव्र बनेको छ। नोभेम्बर २५ तारिखका दिन एकै दिनमा २ हजार १ सय आप्रवासी भित्रिएर हालसम्मकै उच्च कीर्तिमान कायम भएको छ, जसमध्ये अधिकांश एल हिएरो टापुमा आइपुगेका थिए।
नयाँ त्रासदीपछि क्षेत्रीय नेता फर्नान्डो क्लाभिजोले सामाजिक सञ्जाल एक्स मार्फत स्पेन सरकार र युरोपेली आयोगसँग तत्काल कदम चाल्न माग गरेका छन्। “यो नयाँ त्रासदीले ठूलो पीडा र निरीहताको महसुस गराएको छ,” उनले लेखेका छन्, “मानवीय संकट एल हिएरोबाट होइन, बरु सेनेगल र गाम्बियाको समुद्री तटबाट सुरु हुन्छ, जहाँ हामीले ठोस कदम चाल्न आवश्यक छ।”
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज युरोपमा अर्थतन्त्रका लागि आप्रवासनको फाइदाको पक्षमा वकालत गर्ने प्रमुख नेतामध्ये एक हुन्। यद्यपि, चुनावी मत सर्वेक्षणमा अगाडि रहेको दक्षिणपन्थी खेमाले भने आप्रवासनमा कडा नियन्त्रण हुनुपर्ने माग गर्दै आएको छ।
प्रतिकूल मौसम र समुद्री छालको प्रवाहका बाबजुद प्रत्येक वर्ष हजारौँ आप्रवासीहरू खचाखच भरिएका डुङ्गामार्फत आन्ध्र महासागर पार गर्दै स्पेनिस भूमिमा पुग्ने जोखिमपूर्ण प्रयास गर्छन्। विशेषगरी शरद ऋतुमा समुद्री अवस्था केही अनुकूल हुने भएकाले यस समयमा आप्रवासीको आगमन बढ्ने गर्छ।





