२ मंसिर २०८३, बुधबार| Wednesday, November 18, 2026
श्रोत केन्द्र

न्युयोर्क सिटीमा आप्रवासी कानुनी सहायता हटलाइन सातै दिन सञ्चालनमा आउने

न्युयोर्क — न्युयोर्क सिटीका मेयर जोहरान क्वामे ममदानीले आप्रवासीहरूलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउने सिटीको हटलाइन सातै दिन सञ्चालन गर्ने घोषणा गरेका छन्। यसका लागि सिटीले करिब १५ लाख डलर थप लगानी गर्ने भएको छ।

मेयर कार्यालयले बुधबार सार्वजनिक गरेको घोषणाअनुसार, अब न्युयोर्कवासीले सिटीको मेयर अफिस अफ इमिग्रेन्ट अफेयर्सको इमिग्रेसन लिगल सपोर्ट हटलाइनमा सातै दिन फोन गरेर निःशुल्क, सुरक्षित र गोप्य कानुनी सहायता लिन सक्नेछन्। यो सेवा व्यक्तिको अध्यागमन अवस्थासँग सम्बन्धित नभई सबैका लागि उपलब्ध हुनेछ।

हटलाइनमार्फत आफ्नो रोजाइको भाषामा कानुनी सहायता, अध्यागमनसम्बन्धी विश्वसनीय जानकारी तथा आवश्यक सामुदायिक सेवाहरूसम्म पुग्न सहयोग उपलब्ध हुनेछ।

हटलाइनको नयाँ समयअनुसार सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि राति ८ बजेसम्म र शनिबार तथा आइतबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेवा उपलब्ध हुनेछ।

सहायता लिन १–८००–३५४–०३६५ मा फोन गर्न सकिनेछ। त्यस्तै, सिटीको ३११ नम्बरमा फोन गरेर ‘इमिग्रेसन लिगल’ भने पनि सम्बन्धित सेवामा जोडिन सकिनेछ।

“न्युयोर्क सिटीमा ३० लाखभन्दा बढी आप्रवासी बसोबास गर्छन्। उनीहरूमध्ये प्रत्येकले आफ्ना अधिकार जान्न, उपलब्ध विकल्प बुझ्न र आवश्यक पर्दा सहयोग पाउन सक्नुपर्छ,” मेयर ममदानीले भने।

संघीय सरकारले आप्रवासी समुदायमा डर र त्रास फैलाइरहेको समयमा सिटीले व्यावहारिक सहयोग उपलब्ध गराउने उनको भनाइ छ। कामकाजी न्युयोर्कवासीलाई आफ्नो काम सकेपछि पनि फोन गरेर सहायता लिन सहज होस् भन्ने उद्देश्यले सप्ताहान्तमा समेत सेवा विस्तार गरिएको उनले बताए।

हटलाइनमा अरबी, म्यान्डारिन र हाइटियन क्रियोल भाषा बोल्ने थप परामर्शदाता नियुक्त गर्ने योजना छ। हाल हटलाइनका परामर्शदाताले अंग्रेजी, फ्रेन्च, हाइटियन क्रियोल, स्पेनिस र वोलोफ भाषामा सेवा दिँदै आएका छन्। यसबाहेक टेलिफोन अनुवाद सेवामार्फत थप २०० भन्दा बढी भाषामा सहायता उपलब्ध रहने सिटीले जनाएको छ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

सेवालाई थप प्रभावकारी बनाउन हटलाइनमा अंग्रेजी र स्पेनिस भाषामा ह्वाट्सएपमार्फत सम्पर्क गर्न सकिने सुविधा पनि सुरु गरिएको छ। कार्यालय समयपछि फोन उठाउने र आवश्यक परे पुनः फोन गरेर सम्पर्क गर्ने प्रणाली तथा स्वचालित आवाज प्रतिक्रिया प्रणाली पनि कार्यान्वयनको क्रममा छन्।

आर्थिक न्यायसम्बन्धी उपमेयर जुली सुले आप्रवासी कामदारहरूलाई उनीहरूको ज्याला माग्दा रोजगारदाताले अध्यागमन एजेन्सी आईस बोलाउने धम्की दिने गरेको बताइन्। कतिपय ठगहरूले कानुनी सहायता उपलब्ध गराउने भन्दै पैसा लिएर सेवा नदिने गरेको पनि उनले उल्लेख गरिन्।

“लामो समय काम गरेर घर फर्किने कामदारले पनि फोन उठाएर आफ्ना अधिकारबारे जानकारी लिन र रोजगारदाताले ठगी गर्दा के गर्ने भन्नेबारे सहयोग पाउन सकून् भन्ने उद्देश्यले हटलाइन विस्तार गरिएको हो,” उनले भनिन्।

मेयर अफिस अफ इमिग्रेन्ट अफेयर्स कमिस्नर फैजा एन. अलीले संघीय अध्यागमन कारबाही र नीतिगत परिवर्तनका कारण आप्रवासी समुदायमा डर र अनिश्चितता बढिरहेका बेला विश्वसनीय कानुनी सहायता अझ आवश्यक भएको बताइन्।

ममदानी प्रशासनले आर्थिक वर्ष २०२७ को बजेटमा हटलाइन विस्तार र सञ्चालनका लागि करिब १५ लाख डलर विनियोजन गरेको छ। थप बजेटले धेरै सेवाग्राहीलाई सहायता दिन र आप्रवासीका बदलिँदा आवश्यकतालाई सम्बोधन गर्न सहयोग पुग्ने सिटीको अपेक्षा छ।

यसअघि अगस्टमा मेयर अफिस अफ इमिग्रेन्ट अफेयर्सले हटलाइनबारे जनचेतना फैलाउन तीन लाख डलरको प्रचार अभियान सुरु गरेको थियो। छापा, रेडियो, डिजिटल विज्ञापन तथा सामुदायिक कार्यक्रममार्फत सञ्चालन गरिएको उक्त अभियान १७ भाषामा पुगेको सिटीले जनाएको छ।

ती भाषामा नेपाली पनि समावेश थियो। अंग्रेजी, स्पेनिस, चिनियाँ, रुसी, पुलार, तिब्बती, टागालोग, नेपाली, किच्वा, सोनिन्के, अरबी, पन्जाबी, फ्रेन्च, हाइटियन क्रियोल, उर्दु, वोलोफ र मिन नान भाषामा अभियान सञ्चालन गरिएको थियो।

क्याथोलिक च्यारिटिज कम्युनिटी सर्भिसेजकी प्रमुख कार्यकारी अधिकृत लिसा फ्लोरेसले पनि हटलाइन विस्तारमा संस्थाले साझेदारी गर्न पाउँदा खुसी लागेको बताइन्। सप्ताहन्तमा समेत सेवा उपलब्ध हुँदा कानुनी जानकारी र आवश्यक सहयोग खोजिरहेका व्यक्ति तथा परिवारसम्म पुग्न सहज हुने उनको भनाइ छ।

लेखक किशोर पन्थी

किशोर पन्थी ‘खसोखास’ र ‘नेपयोर्क’ का संस्थापक तथा प्रधानसम्पादक हुन्। उनी ‘कम्पन’, ‘अनट्रान्सलेटेबल’ र ‘जिरो माइल’ गरी तीन पुस्तकका लेखक हुन्। उनी सामाजिक मुद्दा, आप्रवासन र राजनीतिबारे लेख्छन्। पन्थीले न्युयोर्कलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाउँदै विगत १५ वर्षदेखि अमेरिकी-नेपाली डायस्पोरामा पत्रकारिता गरिरहेका छन्।

यस लेखकका थप समाचार →