विमानस्थलमै पुगेर सी चिनफिङले गरे ट्रम्पलाई स्वागत, पुटिनसहित ऐतिहासिक त्रिपक्षीय वार्ता हुँदै
ऐतिहासिक त्रिपक्षीय वार्ताअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार सेन्जेन विमानस्थलमै पुगेर अमेरिकी समकक्षी ट्रम्पलाई स्वागत गरेका छन्। एक दशकभन्दा लामो शासनकालमा सीले विदेशी राष्ट्रप्रमुखलाई विमानस्थलमै पुगेर स्वागत गरेको यो सम्भवतः पहिलो पटक हो
FILE - President Donald Trump shakes hands with China's President Xi Jinping during a meeting on the sidelines of the G-20 summit in Osaka, Japan, June 29, 2019. (AP Photo/Susan Walsh, File)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको ऐतिहासिक त्रिपक्षीय वार्ताअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार विमानस्थलमै पुगेर ट्रम्पलाई स्वागत गरेका छन्। एक दशकभन्दा लामो शासनकालमा सीले कुनै पनि विदेशी राष्ट्रप्रमुखलाई विमानस्थलमै पुगेर स्वागत गरेको यो सम्भवतः पहिलो पटक हो।
गत सेप्टेम्बरमा राजकीय भ्रमणका क्रममा वासिङ्टन पुग्दा ट्रम्पले विमानस्थलमै आएर गरेको न्यानो स्वागतको बदलामा सीले यस्तो आतिथ्य देखाएका हुन्। त्यतिबेला वासिङ्टनबाहिरको ज्वाइन्ट बेस एन्ड्रयुजमा प्रथम महिला मेलानिया ट्रम्पसहित पुगेर सीको स्वागत गरेको भन्दै अमेरिकामा दुवै दलका सांसदहरूले ट्रम्पको आलोचना गरेका थिए। अमेरिकी राष्ट्रपतिहरूले पनि विरलै यस्तो प्रचलन अपनाउने गर्छन्।
चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, बुधबार दक्षिणी सहर सेन्जेनमा ट्रम्पलाई स्वागत गर्ने क्रममा सीले वासिङ्टनमा आफूले पाएको विशेष स्वागतको स्मरण गरेका थिए। “चीन शिष्टाचारलाई महत्त्व दिने राष्ट्र हो र सद्भावको बदला सद्भावले नै फर्काउने हाम्रो परम्परा छ,” सिन्ह्वाको समाचारमा उल्लेख छ।
‘एयर फोर्स वन’ विमानबाट ओर्लिएलगत्तै ट्रम्प र सीले हात मिलाए र एकअर्कालाई अँगालो हाले। सो अवसरमा सैन्य टुकडीले सलामी अर्पण गरेको थियो भने गुलाबी र फिरोजा रङको पहिरनमा सजिएका कलाकारहरूले फूल, पमपम तथा दुवै देशका झन्डा फहराउँदै नृत्य प्रस्तुत गरेका थिए। सैन्य ब्यान्डले अमेरिका र चीनको राष्ट्रिय गान बजाएको थियो।
इन्टरनेसनल क्राइसिस ग्रुपका उत्तरपूर्वी एसिया वरिष्ठ विश्लेषक विलियम याङका अनुसार सीको यो कदम ट्रम्पप्रति सम्मान प्रकट गर्ने चाहनाबाट प्रेरित देखिन्छ। आगामी महिनाहरूमा अमेरिका-चीन सम्बन्धमा आउन सक्ने सम्भावित उतारचढावअघि दुई नेताबीचको सकारात्मक सम्बन्ध कायम राख्ने प्रयासका रूपमा पनि यसलाई हेर्न सकिन्छ, याङले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्। यसअघि गत मे महिनामा ट्रम्प बेइजिङ जाँदा उनलाई उपराष्ट्रपति हान झेङले विमानस्थलमा स्वागत गरेका थिए।
बुधबारसम्म सीसँग ५० पटक भेटवार्ता गरिसकेका निकट सहयोगी रुसी राष्ट्रपति पुटिनलाई भने सीले विमानस्थलमा स्वागत गरेनन्। सेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका पुटिनलाई सीका निकट सल्लाहकार एवं पोलिटब्युरो स्थायी कमिटी सदस्य काई चीले स्वागत गरेका थिए।
एसिया-प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनमा सहभागी हुन विश्व नेताहरू यतिबेला सेन्जेनमा भेला भएका छन्। सोही सम्मेलनको साइडलाइनमा बिहीबार ट्रम्प, पुटिन र सीबीच अभूतपूर्व त्रिपक्षीय बैठक बस्दैछ।
बुधबार सीसँगको द्विपक्षीय भेटअघि पुटिनले त्रिपक्षीय वार्ताबाट “ठूलो सम्भावित लाभ” को अपेक्षा गरेको बताए। यद्यपि, विश्वका तीन शक्तिशाली नेताहरूको यो भेटले युक्रेन, इरान र ताइवानमा भने चिन्ता बढाएको छ। आफूहरूसँग परामर्श नगरी ती नेताहरूले आफ्नो भविष्यबारे निर्णय गर्न सक्ने भन्दै ती क्षेत्रका अधिकारीहरू सशंकित बनेका हुन्।
गत साता एक वरिष्ठ अमेरिकी अधिकारीले ब्रिफिङका क्रममा यो त्रिपक्षीय बैठकबाट कुनै ठोस सहमति निस्कने सम्भावना न्यून रहेको बताएका थिए। उनले यसलाई केवल “प्रवेश बिन्दु” र “पहिलो संवाद” का रूपमा व्याख्या गरेका छन्।





