२ मंसिर २०८३, बुधबार| Wednesday, November 18, 2026
अमेरिका

आइस अधिकारीहरूसँग ५ सेकेन्ड कुराकानी गरेको आरोपमा क्यालिफोर्नियाका दुई सुरक्षाकर्मी निलम्बित

निगरानी क्यामेरामा आइस अधिकारीहरूसँग पाँच सेकेन्ड कुराकानी गरेको देखिएपछि क्यालिफोर्नियाका दुई सुरक्षाकर्मीमाथि आन्तरिक छानबिन सुरु भएको छ

तस्वीर : आइस

अमेरिकाको आइसका अधिकारीहरूसँग काउन्टी जेलबाहिर जम्मा पाँच सेकेन्ड कुराकानी गरेको घटनापछि क्यालिफोर्नियाको ओरेन्ज काउन्टी शेरिफ विभागका दुई कर्मचारीलाई प्रशासनिक बिदामा राखिएको छ।

विभागले शुक्रवार जारी गरेको जानकारीअनुसार अक्टोबर ३१ का दिन इन्टेक रिलिज सेन्टरबाहिरको निगरानी क्यामेरामा उक्त दृश्य कैद भएको थियो। फुटेजमा एक डेपुटी र एक शेरिफ स्पेशल अफिसर जेल परिसरबाट बाहिर निस्केर एक एसयूभी गाडी नजिक गएको र भित्र रहेका आइस अधिकारीहरूसँग करिब पाँच सेकेन्ड संवाद गरेको देखिएको विभागले जनाएको छ।

ती दुई सुरक्षाकर्मी त्यहाँबाट हिँडेको केही क्षणमै अर्को सवारी साधन आइपुगेको थियो। दुवै गाडीबाट ओर्लिएका आइस अधिकारीहरू आगन्तुक प्रवेशद्वार बाहिरको सार्वजनिक चोकमा प्रवेश गरी लुकेर बसेका एक व्यक्तिलाई नियन्त्रणमा लिएका थिए। पक्राउ परेका व्यक्तिको पहिचान र उनलाई पक्राउ गर्नुको कारण भने अधिकारीहरूले सार्वजनिक गरेका छैनन्।

उक्त घटना क्यालिफोर्नियाको ‘भ्यालुज एक्ट एसबी ५४’को उल्लंघन हो कि होइन भन्ने विषयमा विभागले आन्तरिक छानबिन सुरु गरेको छ। उक्त राज्य कानुनले स्थानीय सुरक्षा निकायलाई संघीय अध्यागमन अधिकारीहरूसँग सहकार्य गर्न कडा प्रतिबन्ध लगाएको छ।

ओरेन्ज काउन्टीका शेरिफ डन बार्न्सले आफ्नो निकायले सार्वजनिक सुरक्षा र राज्यको कानुन पालनालाई गम्भीरतापूर्वक लिने बताएका छन्। एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, “गम्भीर प्रकृतिका अपराधीहरूलाई समुदायमा फर्कनबाट रोक्न कानुनले अनुमति दिएसम्म म आइससँग पूर्ण सहकार्य गर्नेछु। तर, कानुन र विभागको नीतिविपरीत काम गर्ने कर्मचारीलाई उचित जवाफदेही बनाइनेछ।”

उनले नागरिकताको अवस्था जेसुकै भए पनि राज्य र स्थानीय कानुन समान र निष्पक्ष रूपमा लागू गरिने स्पष्ट पार्दै अध्यागमनको हैसियत जे भए पनि समुदायका सदस्यहरूले सुरक्षित महसुस गर्दै सहयोग माग्न, अपराधको उजुरी दिन र जेल भ्रमण गर्न सक्ने वातावरण कायम राख्न चाहेको उल्लेख गरेका छन्।

यसैबीच, अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका प्रवक्ताले अमेरिकाका १० सुरक्षित सहरमध्ये ७ वटाले आइससँग साझेदारी गरिरहेको दाबी गरेका छन्। क्यालिफोर्नियाजस्ता केही ‘स्याङ्क्चुरी’ राज्यहरूले आइससँग सहकार्य गर्न अस्वीकार गर्दा आपराधिक पृष्ठभूमिका कागजातविहीन आप्रवासीहरू जेलबाट छुटी पुनः अपराधमा संलग्न हुने गरेको प्रवक्ताको भनाइ छ। डीएचएसले देशभर कानुन कार्यान्वयन गरिरहेको र स्थानीय निकायसँगको सहकार्यमा फ्लोरिडामा ४० हजार तथा वेस्ट भर्जिनियामा दुई हप्ताको अपरेसनमा ६५० भन्दा बढी कागजातविहीन आप्रवासी पक्राउ गरिएको उदाहरणसमेत प्रस्तुत गरेको छ।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →