अमेरिकामा रहेका दर्जनौँ अफगान नागरिकको देश निकाला तत्कालका लागि स्थगित, आप्रवासीलाई अस्थायी राहत
तस्बिर:आइस
अमेरिकामा रहेका र स्वदेश फर्काइएमा तालिबानको निसानामा पर्न सक्ने त्रासमा रहेका दर्जनौँ अफगान नागरिकहरूले यो सप्ताहान्तमा केही राहत महसुस गरेका छन् । ट्रम्प प्रशासनले उनीहरूलाई आगामी केही दिनभित्रै देश निकाला गर्ने योजना तत्कालका लागि रोकेको सङ्केत देखिएपछि उनीहरूले ‘अस्थायी राहत’ महसुस गरेका हुन् ।
अमेरिकी कंग्रेसका सदस्यहरू र मानव अधिकारवादीहरूले अफगान नागरिकहरूलाई स्वदेश फर्काउनु मृत्युदण्ड सरह हुने भन्दै निरन्तर चेतावनी दिँदै आएका थिए ।
यसै महिनाको सुरुमा निर्वाचनको दिन पारेर १५० भन्दा बढी अफगान नागरिकलाई अफगानिस्तान वा छिमेकी मुलुक पाकिस्तान हुँदै स्वदेश फर्काउन तय गरिएको उडानलाई एक संघीय न्यायाधीशले अस्थायी आदेशमार्फत रोकिदिएका थिए । गत सप्ताहान्तमा उक्त अदालती आदेशको म्याद सकिएपछि आगामी नोभेम्बर १६ को साताभित्र उनीहरूलाई जबरजस्ती अमेरिकाबाट निकालिने त्रास बढेको थियो ।
तर, मानव अधिकारवादीहरूको तीव्र दबाब र कानुनी लडाइँका बीच मङ्गलबार रातिबाट स्थितिमा नाटकीय परिवर्तन देखिएको छ । अमेरिकी आइसको हिरासतमा रहेका र यसअघि उडानको सूचीमा परेका केही अफगान नागरिकहरूको देश निकाला मिति हाललाई हटाइएको छ । साथै, केही कानुन व्यवसायीहरूले आफ्ना अफगान सेवाग्राहीहरूलाई देश निकालाका लागि तयारी अवस्थामा राखिने ‘स्टेजिङ’ केन्द्रबाट दीर्घकालीन हिरासत केन्द्रमा सारिएको बताएका छन् । यसले तत्कालै उनीहरूलाई देश निकाला नगरिने सङ्केत गरेको छ ।
यस घटनाक्रमबारे प्रतिक्रिया दिँदै अमेरिकी गैरनाफामूलक संस्था अफगानइभ्याकका संस्थापक तथा अध्यक्ष शन भ्यानडाइभरले प्रभावित व्यक्तिहरूमा अहिले अस्थायी राहतको अनुभूति भएको बताए ।
केही दिनभित्रै यी सहयोगीहरूलाई पहिले पाकिस्तान हुँदै तालिबानको हातमा सुम्पिन लागिएको बताइयो, त्यसपछि सुरक्षित रहेको भनियो र अहिले कसैलाई केही थाहा नभएको अवस्था छ, भ्यानडाइभरले भने, यो अध्यागमन नीति होइन, बरु युद्धबाट बाँचेर आएका मानिसहरूमाथि गरिएको मानसिक प्रताडना हो ।
देश निकालाको सूचीमा परेकामध्ये कतिपयका आफन्तले सन् २००१ को सेप्टेम्बर ११ को आक्रमणपछि अफगानिस्तानमा अमेरिकी सेनालाई सहयोग गरेका थिए । यस्तै, उक्त समूहमा महिला, समलिङ्गी पुरुष र तालिबानको निशानामा पर्दै आएका अल्पसङ्ख्यक हजारा समुदायका व्यक्तिहरू समेत रहेका छन् ।
मानव अधिकारवादी संस्था ह्युमन राइट्स फर्स्टले अफगानिस्तान फर्काइने नागरिकहरूले स्वेच्छाचारी गिरफ्तारी, मृत्युदण्ड, सार्वजनिक रूपमा कोर्रा हान्ने र प्रतिशोधात्मक हिंसा जस्ता गम्भीर खतरा भोग्नुपर्ने चेतावनी दिएको छ । अमेरिकी विदेश मन्त्रालय स्वयंले पनि आफ्ना नागरिकहरूलाई आतंकवाद, अपहरण र असुरक्षाका कारण अफगानिस्तान यात्रा नगर्न कडा चेतावनी जारी गर्दै आएको छ ।
यद्यपि, अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले भने आफूहरूले अदालतका सबै कानुनी आदेशहरूको पालना गर्ने जनाएको छ । सुरक्षा संवेदनशीलताका कारण भावी देश निकाला अभियानबारे टिप्पणी गर्न नमिल्ने डिपार्टमेन्टको भनाइ छ ।
यसैबीच, अमेरिकी कंग्रेसका ६० भन्दा बढी सांसदहरूले होमल्यान्ड सेक्युरिटी र विदेश मन्त्रालयलाई पत्र लेख्दै अफगान र इरानी नागरिकलाई प्रत्यक्ष वा तेस्रो मुलुक हुँदै स्वदेश फर्काउने कुनै पनि उडान रद्द गर्न माग गरेका छन् । डेमोक्रेटिक सांसद ग्रेगरी मिक्स र सिनेटर जिन साहिनले पाकिस्तानका राजदूतलाई छुट्टै पत्र लेख्दै अफगान नागरिकलाई पाकिस्तान हुँदै तालिबानको जिम्मा लगाउने कार्यमा सहयोग नगर्न आग्रह गरेका छन् ।
अधिकारकर्मीहरू र ‘अफगानइभ्याक’ ले आगामी जनवरीमा बन्ने नयाँ अमेरिकी कंग्रेसमार्फत द्विपक्षीय विधेयक पारित गराई अमेरिकामा रहेका अफगान नागरिकहरूलाई सन् २०२९ को जुलाईसम्म टीपीएस दिलाउन पहल गरिरहेका छन् ।





