२८ कार्तिक २०८३, शनिबार| Saturday, November 14, 2026
नेपाल

“बाँच्न त बाँच्यौ, तर बाँच्नै नसकिने भयो”: बाढीले उजाडिएको साढे दुई महिनापछि पुनःस्थापनाको पर्खाइमा बेत्रावती (स्थलगत)

भोटेकोशी र त्रिशूलीको बाढीले केही मिनेटमै एउटा ऐतिहासिक बजारको भूगोल बदलिदियो। सयौँ घरपरिवारको थातथलो उजाडियो। कसैले घर गुमाए, कसैले परिवारका सदस्य। बाढी गएको ७० दिनपछि पनि ६५ वर्षीया मिठु डङ्गोल आफ्नै पुरिएको घर खोतलिरहेकी छन्। हराएका छोराको खबर पाएकी छैनन्। दुई साना नातिनातिनी, विधवा बुहारी र अपाङ्गता भएकी छोरीको भविष्यको चिन्ताले उनलाई रातभर निदाउन दिँदैन। बाढी गएको झण्डै साढे दुई महिनापछि खसोखासका रिपोर्टर दिपेन्द्र ढुंगाना बेत्रावती पुग्दा जे देखे।

बाढीले घर र खेत पुरिएपछि अहिले भाडाको घरमा बस्दै आएकी ६५ वर्षीया मिठु डङ्गोल। कमाउने छोरा अझै बेपत्ता छन्। “बाँच्न त बाँच्यौँ, तर बाँच्नै नसकिने भयो,” उनी भन्छिन्।फोटो : दिपेन्द्र ढुंगाना/खसोखास

बेत्रावती, रसुवा/नुवाकोट — कुनै समय बेत्रावती पुग्दा एउटा जीवन्त बजार देखिन्थ्यो। पसलहरूमा किनमेल गर्ने मानिसको भीड हुन्थ्यो। सडकमा सवारीसाधनको आवतजावत चलिरहन्थ्यो। रसुवाको उत्तरगया र नुवाकोटको विदुर नगरपालिकाको सीमामा फैलिएको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको यो बजार स्थानीय बासिन्दाको दैनिकी व्यापार, खेतीपाती र चहलपहलसँग जोडिएको थियो।

बेत्रावतीमा २९९ घरधुरी थिए। जनसंख्या १ हजार २५६ थियो। पाँच सयभन्दा बढी पसल सञ्चालनमा थिए। विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालय र स्थानीय तहका भवनले यो क्षेत्रलाई आसपासका बस्तीको सेवा केन्द्र बनाएका थिए।

तर अहिले बेत्रावतीको परिचय फेरिएको छ।

२०२६ अगस्ट २६ मा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले बजारको स्वरूप मात्र बदलेन, त्यहाँका मानिसको जीवन पनि छिन्नभिन्न पारिदियो। केही मिनेटको बाढीले वर्षौँ लगाएर बनाएका घर, व्यवसाय, खेतबारी र सामाजिक संरचना बगायो। कतिपय परिवारका सदस्य नदीमा हराए। कतिपयले ज्यान जोगाउन घर छाडे। धेरैका लागि आफूले जीवन बिताएको ठाउँ अब चिन्न नसकिने भएको छ।

बाढीले अधिकांश घर र पसल बगायो, लेदो र ढुंगामुनि पुर्‍यो। विद्यालय, स्वास्थ्य चौकी, दुई वडा कार्यालय र दुई गाउँपालिका भवनसमेत क्षतिग्रस्त भए। मन्दिर, धार्मिक स्थल र ऐतिहासिक सम्पदामा पनि क्षति पुग्यो। कुनै समय करिब ३० मिटर चौडाइमा बग्ने नदीको बहाव फैलिँदा कतिपय स्थानमा पाँच सय मिटरभन्दा बढी क्षेत्र नदीको प्रभावमा पर्‍यो।

२०२६ अगस्ट २६ मा आएको विनाशकारी बाढीपछि बगरमा परिणत भएको बेत्रावती बजार। कुनै समय पाँच सयभन्दा बढी पसल र २९९ घरधुरी रहेको यो ऐतिहासिक बजार अहिले ढुंगा, बालुवा र भग्नावशेषले ढाकिएको छ। फोटो : दिपेन्द्र ढुंगाना/खसोखास

बेत्रावतीको विनाश बुझ्न त्यहाँको भूगोलमा आएको परिवर्तन हेरे पुग्छ। नदीले आफ्नो पुरानो बाटो छाडेर नयाँ बाटो बनाएको छ। घर भएका ठाउँमा अहिले ढुंगा र बालुवाका थुप्रा छन्। खेत भएका ठाउँमा बगर फैलिएको छ। सडक र बस्तीको पुरानो सीमासमेत मेटिएको छ।

बाढी गएको झण्डै साढे दुई महिनापछि बेत्रावती पुग्दा त्यहाँ पुनर्निर्माणभन्दा पहिले भग्नावशेष पन्छाउने संघर्ष चलिरहेको थियो। मानिसहरू आफ्ना घर कहाँ थिए भनेर खोजिरहेका थिए। कसैले घरको जग खोजिरहेका थिए, कसैले पुरिएका सामान। कतिपय परिवार अझै हराएका आफन्तको प्रतीक्षामा थिए।

त्यही भग्नावशेषको एक छेउमा ६५ वर्षीया मिठु डङ्गोल बालुवा र ढुंगा पन्छाउँदै आफ्नै घरको अवशेष खोतलिरहेकी थिइन्। उनका आँखा थामिएका थिएनन्।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

१० मिनेटको खबर, जिन्दगीभरको पीडा

मिठुका लागि त्यो दिनको सम्झना अझै पनि भयावह छ। विगतमा साना बाढी आउँदा मानिसहरू नदीको बहाव हेर्नसमेत जाने गर्थे। तर यसपटक नदीको आवाज र बहाव फरक थियो। खतरा महसुस भएपछि प्रहरीले माइकिङ गर्दै मानिसहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो।

तर त्यो चेतावनी धेरैका लागि पर्याप्त भएन।

बाढी आउँदा मिठु घरमै थिइन्। बुहारी र दुई नातिनातिनासमेत घरमा थिए। बालबालिकालाई विद्यालय पठाउने तयारी भइरहेको थियो। उनीहरूलाई नदीको बहावले यति ठूलो विनाश ल्याउला भन्ने कल्पनासमेत थिएन।

“पहिला-पहिला बाढी आउँदा मानिसहरू पुलमा गएर बाढी हेर्न जान्थे। तर त्यो दिन त ‘ठूलो बाढी आयो, ठूलो खोला आउँदै छ, सुरक्षित ठाउँमा बस्नुहोला’ भनेर प्रहरीहरू माइकिङ गर्दै हिँडिरहेका थिए,” मिठुले सम्झिइन्।

उनका अनुसार पहिले नदी घरबाट निकै टाढा थियो। घर र नदीको बीचमा खेत, चौर र पिपलको चौतारो थियो। नदीसम्म पुग्न पनि खुला चौर पार गर्नुपर्थ्यो। त्यसैले ठूलो बाढी आए पनि घरसम्म आइपुग्छ भन्ने उनलाई लागेको थिएन।

“हाम्रो घर र खोलाको बीचमा धेरै चौर थियो। पिपलको चौतारो थियो। त्यो चौर काटेर मात्रै खोला पुगिन्थ्यो। अहिले त खोला यहीँ आइपुगेको छ,” उनले भनिन्।

प्रहरीले चेतावनी दिँदादिँदै उनीहरू आफैँ पनि बाढीको चपेटामा परे। उद्धारमा खटिएका प्रहरीसमेत नदीमा बगेको उनले बताइन्।

“हामीले १० मिनेटअगाडि मात्र थाहा पाएर छोरीलाई फोन गर्‍यौँ। म त ठ्याक्कै तलबाट भर्याङ उक्लेर माथिल्लो कोठामा पुगेकी थिएँ। अनि कान्छी छोरीलाई ‘भाग–भाग कान्छी, उता पञ्चसुते काकाको गोठमा भाग’ भनेर चिच्याएँ,” उनले भनिन्।

बाढीले घर, खेत र परिवारको सहारा बनेका छोरा गुमाएपछि आफ्नो पीडा सुनाउँदै मिठु डङ्गोल। फोटो : दिपेन्द्र ढुंगाना/खसोखास

परिवारका सदस्यहरू कान्ला-कान्ला हुँदै भागे। त्यसबेला घरनजिकै रहेका रुखहरूले पानीको बहाव केहीबेर रोकेजस्तो भएको र आफूहरूलाई भाग्ने समय मिलेको उनको भनाइ छ। प्रहरीको सहयोग नपाएको भए आफूहरू पनि बाढीमा बग्ने उनको भनाई छ।

“प्रहरीहरूले नतानेको भए हामीलाई पनि बगाएर लैजान्थ्यो होला। बाँच्न त बाँच्यौँ तर बाँच्नै नसकिने भयो।”

त्यस दिनको बाढी आउँदा मानिसहरूले कहाँ भाग्ने, कसरी परिवारलाई सुरक्षित राख्ने भन्ने सोच्नसमेत पाएनन्। मिठुका अनुसार स्थानीय वृद्धवृद्धाले पनि आफ्नो जीवनकालमा त्यस्तो विनाश देखेका थिएनन्।

“यति छोटो समयमा मान्छे कहाँ भाग्नु? हाम्रो यतातिरका बुढापाकाले समेत आफ्नो जीवनकालमा यस्तो अनर्थ कहिल्यै नदेखेको बताउँछन्। मान्छेले यत्रो ठूलो बाढी आउँछ भनेर पत्याएर भाग्ने समय नै पाएनन्,” उनले भनिन्।

बाढीको वेगले घर मात्र बगाएन, घरका मानिसलाई समेत एकअर्काबाट अलग गरिदियो। कतिपय परिवारले आफन्त कहाँ पुगे भन्ने पत्तो पाएनन्। कतिपयले आफ्नो घर भएको ठाउँसमेत पहिचान गर्न सकेनन्।

घर पुरियो, छोरो हरायो

मिठुको घर बाढीले पूरै भत्काएको छैन। दुई ढलानको पक्की घर भएकाले बाहिरी संरचना अझै उभिएको छ। तर त्यसलाई घर भन्न सकिने अवस्था छैन। बाढीले ल्याएको बालुवा, ढुंगा र लेदोले भित्रका दुई तला नै पुरिएका छन्। घरका कोठामा जमेको माटो सिमेन्टजस्तै कडा भएको छ।

घरको संरचना बाहिरबाट हेर्दा सुरक्षित देखिए पनि भित्र बस्न मिल्दैन। घरका झ्याल, ढोका र अन्य सामान क्षतिग्रस्त भएका छन्। घरवरिपरि काठका ठूला मुढा, हाइड्रोपावरका फलामे छड र पेट्रोल पम्पका सामान छरिएका छन्। कतिपय मुढा घरको छतमा आएर अड्किएका छन्।

घरभित्रको लेदो पन्छाउन मिठु र उनकी बुहारी आफैँ लागेका छन्। तर दुई तला पुरिएको घर सफा गर्न उनीहरूको सामर्थ्यले भ्याउँदैन।

“केही दिनदेखि मैले र मेरी बुहारीले भित्र पसेर मुस्किलले केही सामान झिकेका छौँ। केही काम लाग्ने छैन,” उनले भनिन्।

घरभित्र पुरिएका सामानमध्ये केही पाथी तोरी भेटिएको छ। बाढीले बगाउन नसकेको त्यो तोरी उनले झण्डै ७० दिनपछि निकालेर सुकाइरहेकी थिइन्।

तर घर गुमाउनु र सम्पत्ति गुमाउनुभन्दा पनि मिठुलाई बढी पीडा दिने कुरा अर्को छ। बाढीले उनको ४१ वर्षीय छोरालाई बेपत्ता बनाएको छ।

बाढीले घरभित्र पुरेको तोरी झण्डै ७० दिनपछि निकालेर सुकाउँदै ६५ वर्षीया मिठु डङ्गोल। भग्नावशेषबाट भेटिएको थोरै तोरी पनि उनका लागि बाढीले नष्ट गरेको जीवनको बाँकी अंश जोगाउने प्रयास बनेको छ। फोटो : दिपेन्द्र ढुंगाना/खसोखास

उनी परिवारको मुख्य कमाउने व्यक्ति थिए। हाइड्रोपावरमा काम गर्थे। उनको कमाइमा परिवार निर्भर थियो। तर बाढीपछि उनको अवस्थाबारे परिवारले कुनै निश्चित जानकारी पाएको छैन।

“मेरो घरको मुख्य खम्बा र सहारा बनेका मेरा ४१ वर्षीय कमाउने छोरा यो बाढीमा हराए। उनी हाइड्रोपावरतिर काम गर्थे। त्यहाँ ५१ जना मानिसहरू थिए रे, तर जम्मा एक जना मात्र स्टाफ भेटिए। मेरा छोरा लगायत अरू सबैको अवस्था अज्ञात छ,” मिठुले भनिन्।

बाढी आएको बेला छोरा घटनास्थलमै नभएर माथिल्लो क्षेत्रमा रहेको उनले बताइन्। तर बाढीले उनलाई पनि आफ्नो चपेटामा पारेको थियो। त्यसपछि परिवारले उनको अवस्थाबारे जानकारी पाउन सकेको छैन।

उनका लागि छोरा हराउनुको अर्थ एउटा परिवारको सदस्य हराउनु मात्र होइन। घर चलाउने व्यक्ति, बुढेसकालको सहारा र परिवारको भविष्यको आधार एकैपटक हराउनु हो।

बाढीले छिमेकका अरू परिवारलाई पनि यस्तै पीडा दिएको छ। मिठुका अनुसार घण्टाघरभन्दा उतातिर बस्ने एउटी आमा र उनकी २६ वर्षीया छोरीलाई बाढीले बगाएको थियो। ११ दिनपछि उनीहरूको शव भेटिएको थियो। उनीहरूको घरसमेत बगाएर मिठुको घरनजिकै ल्याएर थुपारेको थियो।

अर्का एक वृद्धलाई बाढीले निकै तल खेतमा पुर्‍याएर फ्याँकेको उनले सुनाइन्।

बाढी गएको ७० दिन बितिसक्दा पनि हराएका मानिसको सम्झना र उनीहरूको अवस्थाबारेको अनिश्चितता बेत्रावतीका परिवारमा बाँकी छ।

आफ्नै घर भाडामा लगाउने परिवार अहिले भाडामै

मिठुको परिवार कुनै समय आफ्नै घरमा बस्थ्यो। घरको केही भाग भाडामा लगाइएको थियो। त्यहाँ भाडामा बस्ने मानिसहरूले फेन्सी पसल सञ्चालन गरेका थिए। घरबाट आम्दानीसमेत हुन्थ्यो।

अहिले परिस्थिति उल्टिएको छ। घर बाहिरबाट उभिएको देखिए पनि भित्र दुई तला पुरिएका छन्। त्यहाँ बस्न सकिने अवस्था छैन। परिवार अहिले अर्काको घरमा भाडा तिरेर बसिरहेको छ।

“पहिले मेरो घरमा मान्छेहरू भाडामा बस्थे। पसल राखेका थिए, फेन्सी पसल। अहिले हामी आफैँ भाडामा बस्नुपरेको छ,” मिठुले भनिन्।

उनका लागि यो परिवर्तन एउटा घर गुमाउनुको पीडाभन्दा पनि ठूलो विडम्बना बनेको छ। कुनै समय आफ्नो घरबाट अरूलाई आश्रय र व्यवसाय गर्ने ठाउँ दिने परिवार अहिले आफ्नै बसोबासका लागि अरूको भर पर्नुपरेको छ।

घरमा बस्न नमिल्ने, खेतबारी उपयोग गर्न नसकिने र कमाउने छोरा बेपत्ता भएपछि परिवारको आर्थिक अवस्था पनि कमजोर बनेको छ। अहिले उनीहरूसँग तत्कालका लागि भाडा तिर्ने र दैनिक गुजारा चलाउनेबाहेक दीर्घकालीन योजना बनाउने आधार छैन।

४२ मुरी धान फल्ने खेतमा ढुंगाको थुप्रो

मिठुको परिवारसँग पहिले ठूलो खेत थियो। त्यहाँबाट वर्षमा ४० देखि ४२ मुरी धान उत्पादन हुन्थ्यो। खेतीपातीबाट परिवारको खाद्यान्न आवश्यकता पूरा हुन्थ्यो। घर र जग्गाजमिनले उनीहरूलाई आर्थिक सुरक्षा दिएको थियो।

अहिले त्यो खेत छैन। कम्तीमा खेतका रूपमा त छैन।

“हाम्रो ४० देखि ४२ मुरी धान फल्ने ठूलो खेत थियो। त्यो सबै बाढीले बगाएर अहिले पूर्ण रूपमा बगरमा परिणत भएको छ। खेतमा धानको नाममा अब ठूलाठूला ढुंगा र लेदो मात्र बाँकी छन्,” उनले भनिन्।

नयाँ खेती सुरु गर्न सकिने भए परिवारले केही अन्न उत्पादन गरेर भए पनि गुजारा गर्न सक्थ्यो कि भन्ने उनको आशा थियो। तर खेतको अवस्था हेर्दा त्यो सम्भावना पनि समाप्त भएको छ।

“४०–४२ मुरी धान आउँथ्यो। अब १५–२० मुरी मात्रै आउने गरी खेती गर्न पाए पनि हुन्थ्यो नि। त्यति पनि गर्न सकिने अवस्था छैन। सबै बगर भयो, ढुंगैढुंगा छ,” उनले भनिन्।

घरनजिकको पाखोबारी भने बाँकी छ। तर त्यहाँ पनि झाडी र जंगलजस्तो भएको छ। सबैभन्दा ठूलो समस्या सिँचाइको हो।

“बारी भएर के गर्ने ? आकाशको पानी आए खान पाउने, नत्र नपाउने ठाउँमा बारी भएर के रह्यो? दुःख गरेर खेती गरे पनि पानी नभएर सुकेर जान्छ,” उनले भनिन्।

खेतमा ढुंगा र बालुवाको थुप्रो भएकाले सामान्य रूपमा माटो खोतलेर खेती गर्न सकिने अवस्था छैन। खानेपानीको कुलोसमेत सुकेपछि खेतीपाती फेरि सुरु गर्ने सम्भावना तत्काल देखिँदैन।

बाढीले मिठुको परिवारको घर र खेत मात्र लगेको थिएन। परिवारको वर्षौँदेखिको जीविकोपार्जनको आधारसमेत समाप्त पारेको थियो।

“कमाएर पाल्ने छोरो गयो, बस्ने घर केही छैन। अहिले दिएको राहतले केही दिन त खान पुग्ला, पछि के गर्ने? कसरी बाँच्ने? कसले पाल्ने?” उनले सोधिन्।

भोटेकोशी र त्रिशूलीमा आएको बाढीले बस्तीको पुरानो स्वरूप नै बदलिदिएको छ। फोटो : दिपेन्द्र ढुंगाना/खसोखास

सामान्य सामान किन्नसमेत अर्को बजार पुग्नुपर्ने अवस्था

कुनै समय बेत्रावती रसुवा र आसपासका बस्तीका मानिसका लागि किनमेलको महत्त्वपूर्ण केन्द्र थियो। दैनिक उपभोग्य सामग्रीदेखि अन्य सामानसम्मका लागि मानिसहरू यहीँ आउँथे।

“पहिले हाम्रो घरपसलले रसुवा जिल्लाका धेरै मानिसलाई सामान दिएको थियो। सबै सामान यहीँबाट लैजान्थे। पैसा दिएर भए पनि यहीँबाट किन्थे,” उनले सम्झिइन्।

अहिले सामान्य सामान किन्नसमेत अर्को बजार पुग्नुपर्ने अवस्था आएको छ। पुरानो व्यापारिक चहलपहल हराएको छ। बजारका पसल, गोदाम र घरहरू बाढीले बगाएपछि स्थानीयको आम्दानीको आधार पनि समाप्त भएको छ।

कुनै समय स्थानीय उत्पादन, दैनिक उपभोग्य सामान र व्यापारिक कारोबारको केन्द्र रहेको बेत्रावती अहिले आफैँ आधारभूत सेवा र सुविधाको प्रतीक्षामा छ।

बाँचेकाहरूको अर्को संकट

बाढीले मिठुको घरको बाहिरी संरचना पूर्ण रूपमा ढालेको छैन। तर त्यसले उनलाई सुरक्षित आश्रय दिएको छैन। घरवरिपरि छरिएका काठका ठूला मुढा, हाइड्रोपावरका फलामे छड र पेट्रोल पम्पका सामान र घरको छतमा आएर अड्किएका मुढा हटाउने पर्याप्त जनशक्ति र साधन नभएको उनको गुनासो छ। घरमा बस्न सकिने अवस्था छैन। वरिपरि सुरक्षित बाटो पनि छैन।

मिठुका अनुसार बाढीपछि घर सफा गर्न सहयोग आउने आश्वासन दिइएको थियो। वडा कार्यालयले भग्नावशेष पन्छाउन सहयोग गर्ने कुरा गरेको उनले सुनेकी थिइन्। तर लामो समयसम्म त्यस्तो सहयोग नपाएको उनको गुनासो छ।

“वडाले राहत ल्याउँछ, सफा गर्न लगाउँछ रे भनेर सुनेको थिएँ। आज आउला, भोलि आउला भन्दाभन्दै आएन। फोन गर्‍यो भने हामीले पहल गरिरहेका छौँ भन्छन्। तर पहल गरेको कहाँ देखियो?” उनले प्रश्न गरिन्।

बाढीपछि एउटा गैरसरकारी संस्थाले ३० हजार रुपैयाँ सहयोग गरेको उनले बताइन्। त्यही समयमा घरभित्र पुरिएका केही सामान निकाल्ने प्रयास पनि गरेकी थिइन्। केही तोरी र अन्य सामग्री भेटिएपछि पखालेर जोगाउने प्रयास गरिन्।

तर त्यस्तो सहयोगले घर सफा गर्ने, आवास बनाउने र परिवारको जीविकोपार्जन चलाउने समस्या समाधान हुँदैन।

नदीले पुरानो भूगोल बदलिदिएपछि बेत्रावतीमा बसोबासको प्रश्न झन् जटिल बनेको छ। पहिले घर र बस्ती रहेका ठाउँमा अहिले नदीको बहाव र ढुंगाको थुप्रो छ। केही स्थानमा पुराना बाटा नै हराएका छन्।

मिठुका अनुसार बाढीपछि बस्तीमा बिजुली र खानेपानीको नियमित सुविधा पनि छैन।

“बत्ती र पानी सबै व्यवस्था गरिदिए यहाँ अरू मान्छेले पनि घर बनाउँछन्। हामी पनि यहीँ बस्ने थियौँ,” उनले भनिन्।

बाढीले ल्याएका ठूला काठका मुढा मिठु डङ्गोलको घरको छतमा आएर अड्किएका छन्। दुई तले पक्की घर बाहिरबाट उभिए पनि भित्रका दुवै तला लेदो र बालुवाले पुरिएका छन्। फोटो : दिपेन्द्र ढुंगाना/खसोखास

नदी फेरिएपछि घर फर्किने डर

मिठुको परिवारका लागि घर फर्किने प्रश्न केवल भग्नावशेष सफा गर्ने विषय होइन। नदीको बहाव नै बदलिएकाले बाढी फेरि आए के होला भन्ने डर पनि छ।

पहिले नदी घरबाट निकै टाढा थियो। बीचमा खेत, चौर र चौतारो थियो। अहिले नदीको बहाव घरनजिकै पुगेको छ।

“पहिले हाम्रो घर र खोलाको बीचमा धेरै चौर थियो। पिपलको चौतारो थियो। त्यो चौर काटेर मात्रै खोला पुगिन्थ्यो। अहिले त खोला यहीँ आइपुगेको छ,” उनले भनिन्।

उनका अनुसार वर्षायाममा बाढीको डरले घरमा बस्न सम्भव नहुने अवस्था आएको छ। उज्यालो समयमा केहीबेर बसे पनि साँझ परेपछि सुरक्षित ठाउँमा जानुपर्ने स्थिति छ।

“पहिले बर्खामा पनि दिनभरि घरमा बस्थ्यौँ। बेलुका भएपछि मात्रै डर लाग्थ्यो। अहिले त बर्खामा बस्नै सकिँदैन। मान्छे निदाउँदा पनि ननिदाई बस्नुपर्ने अवस्था छ,” उनले भनिन्।

बाढीले घरको संरचना मात्रै होइन, बस्तीको सुरक्षासम्बन्धी पुरानो विश्वास पनि भत्काइदिएको छ। कुनै समय नदीबाट सुरक्षित ठानिएको ठाउँ अहिले जोखिमपूर्ण बनेको छ।

त्यसैले मिठु घर बनाउन चाहन्छिन्, तर पुरानै ठाउँमा सुरक्षित रूपमा बस्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्नको जवाफ उनीसँग छैन।


बाढीले नदीको बहाव परिवर्तन गरेपछि घरनजिकै आइपुगेको खोला। फेरि बाढी आए घर र बस्तीको अवस्था के होला भन्ने त्रासमा छन् स्थानीय बासिन्दा। फोटो : दिपेन्द्र ढुंगाना/खसोखास

तीन–चार लाखले कसरी बन्छ घर?

मिठुले सरकारले बाढीपीडितलाई तीनदेखि चार लाख रुपैयाँसम्म दिने कुरा सुनेकी छन्। तर त्यति रकमले परिवारको पुनःस्थापना सम्भव नहुने उनको भनाइ छ।

“यत्रो सर्वस्व गुमाएका हामीलाई तीन–चार लाख दिएर के हुन्छ? एउटा जस्ताको छाप्रो वा टहरो बनाउन पनि छ–सात लाख वा दश लाखभन्दा बढी खर्च लाग्छ,” उनले भनिन्।

उनका अनुसार नुवाकोटतर्फ जग्गा भएका केही परिवारलाई आवास निर्माणमा सहयोग गर्ने कुरा सुनिएको छ। तर रसुवातर्फको प्रभावित बस्तीमा त्यस्तो सहयोग पुग्न नसकेको उनको गुनासो छ।

उनी निलकण्ठ स्कुल आसपासको माथिल्लो भागमा घर बनाउन पाए हुन्थ्यो भन्ने आशा राख्छिन्। आफ्नो परिवारलाई त्यहाँ सानो छाप्रो बनाएर बस्न सकिने ठाउँ उपलब्ध गराइदिए जीवन चलाउन केही सहज हुने उनको विश्वास छ।

“हाम्रो पनि कतै एउटा ठाउँमा सानो छाप्रो बनाइदिए हुन्थ्यो। हामीलाई ठूलो घर चाहिएको होइन। बस्ने ठाउँ भए सानो पसल गरेर पनि खान सकिन्थ्यो होला,” उनले भनिन्।

तर अहिलेसम्म पुनर्स्थापनाका लागि स्पष्ट जानकारी नपाएको उनको भनाइ छ।

“हाम्रो यो पिछडिएको ठाउँमा कोही पनि आउँदैन, बाटो पनि छैन। हाम्रो यहाँका वडा र नेताहरूको त के कुरा गर्नु बाबु! चुनावको बेला मात्र घरघरमा आएर हात जोडेर ‘हजुर, नमस्कार!’ भन्ने अनि त्यसपछि समस्या पर्दा कोही फर्केर पनि आउँदैनन्,” उनले गुनासो गरिन्।

उनको आरोपमा स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक पहुँच भएका व्यक्तिहरूले मात्रै ध्यान पाउने गरेका छन्। कमजोर आर्थिक अवस्था भएका परिवारको समस्या सुनिदिने व्यक्ति नभएको उनको भनाइ छ।

“यो समाज पनि बोल्न सक्नेहरूका लागि मात्र रहेछ। छोरो बाढीमा परेपछि हामीलाई पनि सबैले हेप्न थाले,” उनले भनिन्।

बाढीले घर र सम्पत्ति गुमाएकी मिठु डङ्गोल सुरक्षित आवासको प्रतीक्षामा छिन्। सरकारले दिने भनिएको तीन–चार लाख रुपैयाँले घर बनाउन पर्याप्त नहुने बताउँदै उनी परिवारका लागि सुरक्षित ठाउँ र सानो टहरोको व्यवस्था गरिदिन आग्रह गर्छिन्। फोटो : दिपेन्द्र ढुंगाना/खसोखास

दुई बालबालिकाको पढाइ र परिवारको भविष्य

मिठुको परिवारमा अहिले उनी, उनकी कान्छी छोरी, ३२ वर्षीया बुहारी र दुई साना नातिनातिना छन्। नातिनी ९ वर्षकी छन् भने नाति ६ वर्षका।

उनकी अर्की छोरीलाई बौद्धिक अपाङ्गता छ। परिवारको कमाइ गर्ने छोरो हराएपछि यी सबैको जिम्मेवारी मिठुको काँधमा आएको छ।

उनीहरूका लागि बाढीले घर र सम्पत्ति मात्र खोसेको छैन, परिवारको आर्थिक संरचना पनि भत्काएको छ।

नातिनातिनाको पढाइ उनको अर्को ठूलो चिन्ता हो। बाढीपछि केही संस्थाले बालबालिकालाई निजी विद्यालयमा पढाउने प्रस्ताव गरेको उनले बताइन्। तर निजी विद्यालयमा पढाइ सुरु गराएर नियमित खर्च धान्न नसकिए बीचमै विद्यालय छाड्नुपर्ने डर उनलाई छ।

“हामीसँग कोही अभिभावक नभएपछि र आर्थिक अवस्था कमजोर भएपछि त्यसरी बोर्डिङमा राखेर कसरी पढाउन सक्नु? एक–दुई हप्ता पढाएर फेरि खर्च तिर्न नसकेर फर्काउनुपर्ने स्थिति हुन्छ,” उनले भनिन्।

उनको चाहना सहयोग पाएर नातिनातिनालाई निरन्तर पढाउन सकियोस् भन्ने हो।

“कसैले सहयोग गरेर आफ्नै खुसीले पढाउन पाए हुन्थ्यो भन्ने चाहना छ,” उनले भनिन्।

परिवारको भविष्य सम्झँदा उनी फेरि छोराको कुरा निकाल्छिन्। बुहारी अझै ३२ वर्षकी छन्। दुई साना बालबालिकाको लालनपालन र शिक्षाको जिम्मेवारी छ। छोरीको हेरचाह पनि गर्नुपर्नेछ।

“अब यी सबैलाई कसरी पाल्ने? कसरी पढाउने? कसरी हुर्काउने? कमाउनेलाई खोलाले लगिहाल्यो,” उनले भनिन्।

बाढीपछि परिवारको मुख्य कमाउने सदस्य बेपत्ता हुँदा दुई नातिनातिनाको पढाइ र भविष्यबारे चिन्तित मिठु डङ्गोल। परिवारको सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा आएको उनी बताउँछिन्। फोटो : दिपेन्द्र ढुंगाना/खसोखास

थातथलो छाड्न नसक्ने मन, सुरक्षित ठाउँको खोजी

६५ वर्षको उमेरमा मिठुका लागि फेरि शून्यबाट जीवन सुरु गर्नु सजिलो छैन। खेती गर्न सक्ने जग्गा छैन। शारीरिक रूपमा मजदुरी गर्न सक्ने अवस्था छैन। सानो पसल सञ्चालन गर्ने ठाउँ पनि छैन।

“अब ६५ वर्षको उमेरमा न खेती गर्न सक्छु, न बल छ, न त जग्गा छ। न शरीरले भारी बोक्न वा मजदुरी गर्न सक्छु। यो बुढेसकालमा के गरौँ?” उनले भनिन्।

सानो पसल सञ्चालन गरेर परिवारको गुजारा गर्ने सम्भावना भए पनि त्यसका लागि बस्ने ठाउँ र पसल राख्ने स्थान चाहिन्छ। अहिले दुवै छैनन्।

तर यति धेरै क्षति हुँदाहुँदै पनि उनी बेत्रावती छाडेर अन्यत्र जान चाहन्नन्।

त्यहाँ उनको घर थियो। खेत थियो। छोराको जीवन थियो। परिवारले वर्षौँ बिताएको स्मृति थियो। उनीहरूका लागि बेत्रावती केवल बसोबासको ठाउँ थिएन, आफ्नो पहिचान र जीवनसँग जोडिएको थातथलो थियो।

“आफ्नो पसिना बगाएको, जीवन बिताएको त्यो ठाउँ स्वर्गजस्तो थियो। यो ठाउँ छाडेर अन्त जान मन त मान्दैन। जस्तो बगर भए पनि मन यहीँको बगरमै छ बाबु,” उनले भनिन्।

उनको छोराको जीवन पनि यहीँ जोडिएको थियो। उसको घर, काम र परिवारको इतिहास यहीँ थियो।

“छोराको मन यही छ, उसको सबै थोक यही छ। उसको सबै कुरा छोडेर कहाँ जानु अब? जसरी भए पनि यहीँ बस्ने हो। यो मन र माटोमा अडिएको छ,” उनले भनिन्।

तर त्यही माटोमा फेरि सुरक्षित भएर बस्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्नले उनलाई सताइरहेको छ।

“आफूलाई बाढीले लागेन, बाँचेपछि फेरि मर्नु नि डर लाग्दो रहेछ। सरकारले हामीजस्ता पीडितहरूलाई सुरक्षित ठाउँमा पुनर्स्थापना गरिदिए हुन्थ्यो। तर यो वरिपरिभन्दा टाढा जान सक्दिन,” उनले भनिन्।

रात परेपछि उनको मनमा बाढी आएको दिनका दृश्यहरू फर्किन्छन्। मानिसहरू आत्तिएको, कराएको र भागदौड गरेको आवाज सम्झनामा आइरहन्छ। निद्रा पर्दैन। भोलिको चिन्ता र हराएको छोराको प्रतीक्षाले उनलाई छाडेको छैन।

आफूलाई असह्य पीडा हुँदा पनि नातिनातिनाको अनुहारले बाँच्ने आधार दिएको उनले सुनाइन्।

“धेरैपटक बाँच्न मन नलागेर आफ्नो खुसी गरौँ जस्तो लाग्यो। फेरि साना नातिनातिना छन्। उनीहरूको अनुहार हेर्छु अनि छोराको अनुहार आउँछ, फेरि बाँच्न मन लाग्छ,” उनले भनिन्।

बाढीले घर र खेत बगरमा परिणत गरे पनि थातथलो छाड्न नचाहने मिठु डङ्गोल। सुरक्षित बसोबास र जीविकोपार्जनको आधार खोजिरहेकी उनी भन्छिन्, “जस्तो बगर भए पनि मन यहीँको बगरमै छ।” फोटो : दिपेन्द्र ढुंगाना/खसोखास

बगरमा बाँकी रहेको जीवन

बाढी गएको ७० दिनपछि बेत्रावती पुग्दा त्यहाँ पुनःस्थापनाका लागि गर्नुपर्ने कामको सूची लामो देखिन्थ्यो। भग्नावशेष पन्छाउनुपर्ने थियो। घरबारविहीनलाई सुरक्षित आवास चाहिएको थियो। खानेपानी र बिजुलीको व्यवस्था गर्नुपर्ने थियो। बालबालिकाको पढाइ निरन्तर गराउनुपर्ने थियो। जीविकोपार्जन गुमाएका परिवारलाई फेरि आत्मनिर्भर बनाउने बाटो खोज्नुपर्ने थियो।

त्यसभन्दा पनि कठिन थियो, हराएका आफन्तको अवस्थाबारे अझै अनिश्चित रहेका परिवारलाई जवाफ दिनु।

मिठुका लागि अहिलेको आवश्यकता केवल राहत रकम होइन। सुरक्षित बसोबास, घर सफा गर्ने सहयोग, खेती गर्न सकिने जमिन वा जीविकोपार्जनको वैकल्पिक आधार र नातिनातिनाको शिक्षाको सुनिश्चितता हो। उनी आफ्नो थातथलो छाड्न चाहन्नन्, तर पुरानै ठाउँमा फर्किन सुरक्षित छ कि छैन भन्ने अन्योलमा छिन्।

उनका आँखामा बाढी आएको दिनदेखि अहिलेसम्म आँसु सुक्न पाएका छैनन्। तर उनको चिन्ता आफ्नै बुढेसकालको पीडामा मात्र सीमित छैन। दुई साना नातिनातिनाको भविष्य, जवान बुहारीको जीवन, बौद्धिक अपाङ्गता भएकी छोरीको हेरचाह र हराएको छोराको प्रतीक्षा सबै एकैसाथ उनको काँधमा छन्।

बाढीले उनको छोरा कहाँ पुर्‍यायो, उनलाई थाहा छैन। उनको घरभित्र अझै कति सामान पुरिएका छन्, त्यो पनि थाहा छैन। खेतको ठाउँमा फेरि कहिल्यै खेती गर्न सकिएला कि नसकिएला, त्यसको उत्तर पनि छैन।

उनले जोगाउन सकेको एउटा सानो सम्पत्ति भने अझै छ—बेत्रावती छाडेर नजाने अठोट।

तर त्यो अठोटले मात्र परिवारलाई सुरक्षित राख्न सक्दैन। त्यसका लागि सुरक्षित पुनर्वास, दीर्घकालीन जीविकोपार्जन र बालबालिकाको शिक्षाको सुनिश्चितता चाहिन्छ।

बाढी गएको ७० दिनपछि पनि पुनःस्थापनाको प्रतीक्षामा रहेको बेत्रावती । भग्नावशेष, ढुंगा र बालुवाले ढाकिएको बस्तीमा घरबारविहीन परिवारका लागि सुरक्षित आवास, खानेपानी, बिजुली र जीविकोपार्जनको व्यवस्था अझै ठूलो चुनौती बनेको छ। फोटो : दिपेन्द्र ढुंगाना/खसोखास

कुनै समय पाँच सयभन्दा बढी पसलको चहलपहलले भरिने बेत्रावतीमा अहिले ढुंगा, बालुवा र भग्नावशेषबीच मानिसहरू आफ्नो विगत खोजिरहेका छन्। मिठु पनि त्यही भीडमा छिन्। उनी पुरिएको घरबाट केही सामान निकाल्ने प्रयास गरिरहेकी छन्। छोराको खबर पर्खिरहेकी छन्।

कुनै समय आफ्नो घर भाडामा लगाएर अरूलाई व्यवसाय गर्ने ठाउँ दिएकी मिठु अहिले आफैँ भाडाको घरमा बसिरहेकी छन्। ४० मुरीभन्दा बढी धान फल्ने खेतमा अब ढुंगा मात्रै छन्। आफ्नै घरमा फर्किने बाटोसमेत अनिश्चित छ।

घरको नाममा अहिले ढुंगा र बालुवा मात्रै बाँकी भए पनि उनका लागि बेत्रावती अझै घर हो।

लेखक दिपेन्द्र ढुंगाना

दिपेन्द्र ढुंगाना मल्टिमिडिया पत्रकार हुन्। नेपालका राष्ट्रिय मिडियामा १० वर्षभन्दा बढी काम गरेका ढुंगानाले विशेषगरी नेपाली अध्यागमन, पर्यटन, सामाजिक मुद्दा, ग्रामीण जनजीवन र राजनीतिक आन्दोलनबारे रिपोर्टिङ गर्दै आएका छन्। सन् २०२५ मा काठमाडौँमा प्रदर्शनको रिपोर्टिङ गर्ने क्रममा गोली लागेर उनी गम्भीर घाइते भएका थिए।

यस लेखकका थप समाचार →