२७ कार्तिक २०८३, शुक्रबार| Friday, November 13, 2026
अन्तर्राष्ट्रिय

अमेरिकाभरका विमानस्थलमा उडान स्थगित, एयर ट्राफिक कन्ट्रोल प्रणालीमा ठूलो समस्या

दूरसञ्चार प्रणालीमा आएको खराबीका कारण देशभरका विमानस्थलमा उडान रोक्न निर्देशन, १० हजार भन्दा बढी उडान ढिला र करिब १७ सय उडान रद्द

न्युयोर्कस्थित जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकन एयरलाइन्सको विमान। एफएएको एयर ट्राफिक कन्ट्रोल प्रणालीमा आएको प्राविधिक समस्याका कारण नोभेम्बर १३ मा अमेरिकाभरका उडान प्रभावित भएका छन्। फाइल तस्बिर :लुमिन ओसिटी/अनस्प्लास

अमेरिकामा शुक्रबार दिउँसो संघीय उड्डयन प्रशासन (एफएए) ले देशभरका विमानस्थलमा उडान रोक्न निर्देशन दिएको छ। एयर ट्राफिक कन्ट्रोल प्रणालीमा देखिएको ठूलो प्राविधिक समस्याका कारण यस्तो असामान्य निर्णय लिनुपरेको हो।

शुक्रबार दिउँसो करिब ४ बजे (पूर्वी अमेरिकी समय) एफएएले देशभरका विमानस्थलबाट हुने उडान तत्कालका लागि रोक्न निर्देशन जारी गरेको थियो। एफएएका अनुसार असाधारण परिस्थिति र उडान सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो।

अमेरिकाका होमल्याण्ड सेक्युरिटी मन्त्री मार्कवेन मुलिनले समस्या दूरसञ्चार प्रणालीमा आएको अवरोधका कारण उत्पन्न भएको बताएका छन्। तर, प्रशासनका अधिकारीहरूले अहिलेसम्म यसको वास्तविक कारण पत्ता लगाउन नसकेको उनले स्पष्ट पारेका छन्।

मुलिनका अनुसार समस्या तत्काल समाधान हुने अवस्था छैन। उनले पत्रकारहरूसँग भने, “यो समस्या एक घण्टाभित्रै समाधान भएर उडानहरू सामान्य अवस्थामा फर्किने छैनन्। यसका लागि केही समय लाग्नेछ।”

उनले अहिलेसम्म आतंकवादी आक्रमण वा अन्य कुनै नियोजित गतिविधिको संकेत नदेखिएको पनि बताएका छन्। “यो अर्को ९/११ होइन। यो दूरसञ्चार प्रणालीमा आएको अवरोध हो,” उनले भने।

यद्यपि, अधिकारीहरूले समस्याको कारणबारे कुनै निष्कर्षमा पुगिनसकेको र सबै सम्भावनाको अनुसन्धान भइरहेको बताएका छन्।

यातायात मन्त्री सीन डफीले पनि सामाजिक सञ्जालमार्फत अमेरिकाका सबै एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरलाई प्रभावित पार्ने सञ्चारसम्बन्धी समस्या देखिएको पुष्टि गरेका छन्। एफएएका प्राविधिक कर्मचारीहरूले समस्या समाधानका लागि काम गरिरहेको उनले बताएका छन्।

साँझ ६ बजेसम्म अमेरिकाभित्र १० हजार भन्दा बढी बढी उडान ढिला भएका थिए भने करिब १७ सय उडान रद्द भएका थिए। उडान ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार प्राविधिक समस्याले देशभरको हवाई यातायात प्रभावित भएको हो।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

फ्लाइटराडार२४ का अनुसार उडान रोक्ने निर्देशन जारी हुँदा अमेरिकाका विमानस्थलतर्फ आउँदै गरेका १ हजारभन्दा बढी विमान आकाशमै थिए। फ्लाइट ट्र्याकिङ एप फ्लाइटीका अनुसार शुक्रबार बाँकी समयका लागि मात्रै ३० हजारभन्दा बढी आगमन र प्रस्थान उडान निर्धारित थिए।

एफएएको निर्देशनअनुसार नयाँ उडानहरू अर्को सूचना जारी नभएसम्म प्रस्थान गर्न पाउने छैनन्। तर, आकाशमा उडिरहेका विमानहरूलाई भने गन्तव्यसम्म पुगेर अवतरण गर्न अनुमति दिइएको छ। अन्तर्राष्ट्रिय उडानबाट आउने विमानको अवतरण भने परिस्थितिअनुसार व्यवस्थापन गरिने एफएएले जनाएको छ।

प्राविधिक समस्याका कारण देशका विभिन्न विमानस्थलमा यात्रुहरू अलपत्र परेका छन्। विमानस्थलमा केही यात्रुलाई विमानबाट झारेर सामानसहित टर्मिनलमा फर्काइएको थियो। कतिपय यात्रुले अर्को दिनका लागि टिकट पुनः बुक गर्न थालेका थिए भने धेरै यात्रु उडानसम्बन्धी नयाँ सूचना पर्खिरहेका थिए।

अमेरिकामा आउने र यहाँबाट अन्य देश जाने अन्तर्राष्ट्रिय उडानहरू पनि प्रभावित भएका छन्।

लन्डनको हिथ्रो विमानस्थलले शुक्रबार अमेरिकातर्फ जाने अधिकांश उडान प्रस्थान गरिसकेको जनाएको छ। तर, अमेरिकाका अधिकारी र एयरलाइन्ससँग शनिबारका उडान सञ्चालनबारे समन्वय भइरहेको विमानस्थलकी प्रवक्ताले बताएकी छन्।

क्यानडाको टोरन्टोस्थित पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलले पनि अमेरिकासँग सम्बन्धित उडानहरू प्रभावित भएको जनाएको छ। शुक्रबार दिउँसो अमेरिकाबाट आउने निर्धारित उडानहरू प्रभावित भएको भन्दै यात्रुलाई एयरलाइन्ससँग सम्पर्क गर्न आग्रह गरिएको थियो।

मेक्सिको सिटीस्थित बेनिटो जुआरेज अन्तर्राष्ट्रिय विमानस्थलले पनि अमेरिकाबाट आउने र अमेरिकातर्फ जाने निर्धारित उडान प्रभावित भएको जनाएको छ।

अमेरिकाका एयरलाइन्सहरूले पनि यात्रुलाई उडानको अवस्था बुझेर मात्र विमानस्थल जान आग्रह गरेका छन्। अमेरिकन एयरलाइन्सले आकाशमा रहेका आफ्ना विमानहरू गन्तव्यतर्फ जान सक्ने भए पनि शुक्रबार बाँकी समयको उडान तालिका प्रभावित हुने जनाएको छ। युनाइटेड एयरलाइन्सले पनि आकाशमा रहेका विमानहरूले उडान जारी राख्ने तर नयाँ आन्तरिक उडान प्रस्थान नगर्ने बताएको छ।

एफएएको यो निर्णय पछिल्लो समयको दुर्लभ घटनामध्ये एक हो। पछिल्लो तीन दशकमा अमेरिकामा देशव्यापी रूपमा उडान रोक्न निर्देशन दिइएको यो तेस्रो घटना हो।

यसअघि सन् २००१ सेप्टेम्बर ११ मा आतंकवादी आक्रमणपछि अमेरिकाभरका उडान रोकिएका थिए। त्यसैगरी, सन् २०२३ जनवरी ११ मा पाइलटहरूलाई उडान सुरक्षासम्बन्धी सूचना दिने एफएएको कम्प्युटर प्रणालीमा समस्या आएपछि देशव्यापी उडान रोक्नुपरेको थियो। त्यतिबेला करिब ९० मिनेटपछि उडान सञ्चालन पुनः सुरु भएको थियो।

शुक्रबारको समस्या भने एफएएका एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरहरूमा देखिएको सञ्चार अवरोधसँग सम्बन्धित रहेको अधिकारीहरूले बताएका छन्।

यसैबीच, एफएएको एयर ट्राफिक व्यवस्थापनका लागि प्रयोग हुने पुराना पूर्वाधारमाथि पनि प्रश्न उठेको छ। अमेरिकी सिनेटको कमर्स कमिटीका रिपब्लिकन कर्मचारीहरूले देशभरका एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरमध्ये कुनै पनि नयाँ केन्द्र दशकौँदेखि निर्माण नभएको बताएका छन्। उनीहरूका अनुसार पछिल्लो पटक यस्तो केन्द्र निर्माण हुँदा लिन्डन बी. जोन्सन अमेरिकाका राष्ट्रपति थिए।

कांग्रेसले पुराना केन्द्रहरू प्रतिस्थापन र एकीकृत गर्न हालै १ अर्ब ९० करोड डलर विनियोजन गरेको पनि उनीहरूले उल्लेख गरेका छन्।

एफएएले देशव्यापी रूपमा एयर ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याउने नयाँ एआई प्रणाली लागू गर्ने घोषणा गरेको केही दिनमै यो समस्या देखिएको हो।

स्ट्राटेजिक म्यानेजमेन्ट अफ एयरस्पेस, रुट्स एन्ड ट्राजेक्टोरीज नाम दिइएको उक्त प्रणाली एयर स्पेस इन्टेलिजेन्स नामक कम्पनीले विकास गरेको हो। यसका लागि कम्पनीले ८७ करोड ५० लाख डलरको ठेक्का पाएको थियो।

यो प्रणालीले एयर ट्राफिक कन्ट्रोलरहरूलाई उडान मार्ग व्यवस्थापन गर्न र ढिलाइ कम गर्न सहयोग गर्ने उद्देश्य राखिएको छ। सेप्टेम्बरको अन्त्यतिर सीमित परीक्षण गरिएको उक्त प्रणाली दुई महिनाअघि वासिङ्टन डीसी क्षेत्रका विमानस्थलमा पनि लागू गरिएको थियो।

त्यतिबेला पनि सञ्चार प्रणालीमा समस्या आएपछि सयौँ उडान प्रभावित भएका थिए। अनुसन्धानका क्रममा ब्याकअपका रूपमा राखिएको फाइबर लाइन ठेकेदारहरूले गल्तीले काटेको पाइएको थियो।

शुक्रबार देखिएको नयाँ समस्यासँग एआई प्रणालीको कुनै सम्बन्ध छ वा छैन भन्नेबारे भने अहिलेसम्म पुष्टि भएको छैन। माइक्रोसफ्टले पनि एफएएको यो समस्या आफ्नो विश्वव्यापी प्राविधिक अवरोधसँग सम्बन्धित भएको कुनै संकेत नदेखिएको जनाएको छ।

यो अवरोध अमेरिकाको थ्याङ्क्सगिभिङ बिदाको करिब दुई साताअघि देखिएको हो। उक्त अवधिमा अमेरिकी एयरलाइन्सहरूले दैनिक औसत २७ लाख यात्रुलाई सेवा दिने अनुमान गरिएको छ। त्यसैले शुक्रबारको समस्याले आगामी दिनको उडान तालिकामा समेत असर पार्न सक्ने आशंका गरिएको छ।

एफएए र सम्बन्धित निकायहरूले समस्या समाधानका लागि काम गरिरहेको बताएका छन्। तर, उडान सेवा पूर्ण रूपमा कहिले सामान्य अवस्थामा फर्किन्छ भन्नेबारे शुक्रबार साँझसम्म स्पष्ट जानकारी दिइएको छैन।

लेखक किशोर पन्थी

किशोर पन्थी ‘खसोखास’ र ‘नेपयोर्क’ का संस्थापक तथा प्रधानसम्पादक हुन्। उनी ‘कम्पन’, ‘अनट्रान्सलेटेबल’ र ‘जिरो माइल’ गरी तीन पुस्तकका लेखक हुन्। उनी सामाजिक मुद्दा, आप्रवासन र राजनीतिबारे लेख्छन्। पन्थीले न्युयोर्कलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाउँदै विगत १५ वर्षदेखि अमेरिकी-नेपाली डायस्पोरामा पत्रकारिता गरिरहेका छन्।

यस लेखकका थप समाचार →