नेपाली अमेरिकन सराहना श्रेष्ठ तेस्रो कार्यकालका लागि न्युयोर्क राज्य संसदमा निर्वाचित
प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार
नेपाली अमेरिकन सांसद सराहना श्रेष्ठ न्युयोर्क राज्य संसदमा तेस्रो कार्यकालका लागि निर्वाचित भएकी छन्। न्युयोर्क स्टेट एसेम्बलीको डिस्ट्रिक्ट १०३ बाट उम्मेदवार बनेकी श्रेष्ठले नोभेम्बर ३ मा सम्पन्न आमनिर्वाचनमा रिपब्लिकन उम्मेदवार स्यान्टोस लोपेजलाई फराकिलो मतान्तरले पराजित गरेकी हुन्।
श्रेष्ठले ३८,६०६ मतको ६९ प्रतिशत प्राप्त गरेकी छन्। उनका प्रतिस्पर्धी लोपेजले १६,८२१ मत अर्थात् ३० प्रतिशत मत पाएका छन्। निर्वाचनको नतिजा अनौपचारिक हो ।
न्युयोर्क राज्य संसदमा प्रतिनिधित्व गर्ने पहिलो नेपाली अमेरिकन तथा अमेरिकाको कुनै पनि राज्य संसदमा निर्वाचित हुने पहिलो नेपाली अमेरिकन महिला श्रेष्ठ यसअघि सन् २०२२ मा पहिलो र २०२४ मा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी थिइन्। उनको तेस्रो कार्यकाल सन् २०२७ जनवरी १ बाट सुरु हुनेछ।
तीन निर्वाचनमा बढाउँदै लगिन् मत प्रतिशत
श्रेष्ठले लगातार तीनवटा निर्वाचनमा आफ्नो मत प्रतिशत बढाउँदै लगेकी छन्। सन् २०२२ मा उनले ६०.७ प्रतिशत र २०२४ मा ६४.१ प्रतिशत मत प्राप्त गरेकी थिइन्। यसपटक उनको मत प्रतिशत बढेर ६९ पुगेको छ।
डिस्ट्रिक्ट १०३ बाट भएका पछिल्ला तीन निर्वाचनको परिणामअनुसार सन् २०२२ मा श्रेष्ठले ३६,६०५ मत प्राप्त गरेकी थिइन् भने उनका रिपब्लिकन प्रतिस्पर्धी प्याट्रिक शीहानले २३,५५४ मत पाएका थिए।
सन् २०२४ मा श्रेष्ठले ४६,९९३ मत प्राप्त गर्दा रिपब्लिकन उम्मेदवार ज्याक हेजले २६,१७६ मत पाएका थिए। यसपटक श्रेष्ठले ३८,६०६ मत प्राप्त गर्दा लोपेजले १६,८२१ मत पाएका छन्।
काठमाडौँदेखि न्युयोर्कको राजनीतिसम्म
सन् १९८१ मार्च ५ मा काठमाडौँमा जन्मिएकी श्रेष्ठ पहिलो पुस्ताकी नेपाली अमेरिकन हुन्। नेपालमा हुर्कँदा उनले बहुदलीय लोकतन्त्रका लागि भएको ऐतिहासिक जनआन्दोलन र त्यसपछिको दशक लामो सशस्त्र द्वन्द्व अनुभव गरेकी थिइन्। लोकतन्त्र, सामाजिक न्याय र राजनीतिक परिवर्तनप्रतिको उनको दृष्टिकोणमा ती घटनाको प्रभाव परेको छ।
उनी सन् २००१ मा उच्च शिक्षा अध्ययनका लागि न्युयोर्क आएकी थिइन्। न्युयोर्क इन्स्टिच्युट अफ टेक्नोलोजीबाट उनले कम्प्युटर ग्राफिक्स तथा कम्प्युटर साइन्समा स्नातक गरेकी हुन्। कलेज अध्ययनकै क्रममा उनी समाजवादी राजनीति र युद्धविरोधी आन्दोलनप्रति आकर्षित भएकी थिइन्।
अमेरिका आउनुअघि नेपालमा श्रेष्ठले युवा पत्रिका सम्पादन गरेकी थिइन्। उनले इमेज एफएममा रेडियो कार्यक्रमसमेत सञ्चालन गरेकी थिइन् र लोकतन्त्र तथा प्रेस स्वतन्त्रताबारे जनचेतना फैलाउने वेबसाइटमा पनि संलग्न भएकी थिइन्। अमेरिकामा उनले ग्राफिक डिजाइनर र क्रिएटिभ टेक्नोलोजिस्टका रूपमा काम गरिन्।
सन् २०१९ मा उनले अमेरिकी नागरिकता प्राप्त गरेकी थिइन्। अल्स्टर काउन्टी कोर्टहाउसमा आयोजित नागरिकता ग्रहण समारोहमा उनले अमेरिकी नागरिकताले विश्वका धेरै मानिसले प्राप्त गर्न नसकेको आफ्नो आवाज उठाउने अवसर दिएको बताएकी थिइन्। उनी हाल हड्सन भ्यालीको एसोपस सहरमा श्रीमान्सँग बस्छिन्।
जलवायु अभियानबाट राज्य संसदसम्मको यात्रा
राजनीतिमा प्रवेश गर्नुअघि श्रेष्ठ हड्सन भ्याली क्षेत्रमा जलवायु परिवर्तनविरुद्धका अभियान र स्वच्छ ऊर्जासम्बन्धी आन्दोलनमा सक्रिय थिइन्। उनी सार्वजनिक ऊर्जा प्रणालीको विस्तार र निजीकरणविरुद्ध सञ्चालित पब्लिक पावर एनवाई अभियानमा पनि सहभागी भएकी थिइन्।
उनी डेमोक्रेटिक सोसलिस्ट्स अफ अमेरिका (डीएसए) को मिड-हड्सन भ्याली च्याप्टरकी सहअध्यक्ष तथा अल्स्टर काउन्टीकी सहअध्यक्षका रूपमा पनि सक्रिय रहँदै आएकी छन्।
सन् २०२२ मा उनले लामो समयदेखि डिस्ट्रिक्ट १०३ को प्रतिनिधित्व गर्दै आएका डेमोक्रेटिक सांसद केभिन काहिललाई पार्टीको प्राइमरी निर्वाचनमा पराजित गरेपछि राष्ट्रियस्तरमै चर्चा पाएकी थिइन्। काहिलले सन् १९९३ मा एक कार्यकाल र त्यसपछि लगातार २३ वर्ष गरी कुल १३ कार्यकाल न्युयोर्क राज्य संसदको तल्लो सदनमा प्रतिनिधित्व गरेका थिए।
चार दशकभन्दा लामो राजनीतिक अनुभव भएका काहिललाई पराजित गर्दै श्रेष्ठले डेमोक्रेटिक पार्टीको उम्मेदवारी हासिल गरेकी थिइन्। उनको उम्मेदवारीलाई अमेरिकी सांसद अलेक्जान्ड्रिया ओकासियो-कोर्टेजलगायतले समर्थन गरेका थिए।
श्रेष्ठका प्रमुख राजनीतिक एजेन्डामा जलवायु संकट नियन्त्रण, सस्तो आवास, स्वास्थ्य सेवामा पहुँच, सार्वजनिक शिक्षा, श्रमिक अधिकार र आर्थिक न्याय समावेश छन्। उनी सार्वजनिक उपयोगिताका सेवाहरूलाई निजीकरणबाट मुक्त गर्ने तथा हरित सामाजिक आवासको अवधारणालाई अघि बढाउने नीतिको पक्षमा सक्रिय रहँदै आएकी छन्।
सन् २०२४ मा उनले डेमोक्रेटिक पार्टीको प्राइमरीमा ग्याबी म्याडेनलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि उम्मेदवारी सुनिश्चित गरेकी थिइन्। त्यसपछि आमनिर्वाचनमा पनि विजयी हुँदै उनले दोस्रो कार्यकाल प्राप्त गरेकी थिइन्। यसपटकको जितसँगै उनले अल्स्टर र डचेज काउन्टीका बासिन्दाको प्रतिनिधित्व गर्दै तेस्रो कार्यकाल सुरु गर्नेछिन्।





