नेपाली अमेरिकन डा. ह्यारी भण्डारी मेरिल्याण्ड राज्य संसदमा तेस्रोपटक निर्वाचित
प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार
मेरिल्याण्ड राज्यको प्रतिनिधिसभा (हाउस अफ डेलिगेट्स) मा डिस्ट्रिक्ट ८ बाट नेपाली मूलका अमेरिकी डा. ह्यारी भण्डारी तेस्रोपटक निर्वाचित भएका छन्। नोभेम्बर ३ मा सम्पन्न आमनिर्वाचनको अनौपचारिक नतिजाअनुसार तीन सदस्य निर्वाचित हुने यस क्षेत्रबाट भण्डारीले जित हासिल गरेका छन्।
बाल्टिमोर काउन्टीका सबै ३६ निर्वाचन केन्द्रको नतिजा सार्वजनिक हुँदा डेमोक्रेटिक पार्टीका उम्मेदवारहरूले तीनवटै सिट जितेका छन्। भण्डारीले १९ हजार ५३० मत अर्थात् कुल मतको २२.३४ प्रतिशत प्राप्त गरेका छन्। निक एलेन १९ हजार ८६० मतसहित पहिलो र किम एल. रस १९ हजार ३४८ मतसहित तेस्रो स्थानमा रहेका छन्।
रिपब्लिकन उम्मेदवारहरू भने प्रतिस्पर्धामा पछाडि परेका छन्। ब्रायन ए. क्याम्पबेलले १० हजार १३६ मत (११.५९ प्रतिशत), ग्लेन गीलहारले ९ हजार २३३ मत (१०.५६ प्रतिशत) र स्टिभन जे. रिमरले ९ हजार १९९ मत (१०.५२ प्रतिशत) प्राप्त गरेका छन्। मेल–इन र प्रोभिजनल मतपत्रको गणना बाँकी रहेकाले यो नतिजा अनौपचारिक हो।
भण्डारीले यसअघि जुन २३, २०२६ मा सम्पन्न डेमोक्रेटिक प्राइमरीमा ४ हजार १२८ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका थिए। त्यसपछि आमनिर्वाचनमा पनि जित हासिल गरेसँगै उनी मेरिल्याण्ड राज्यको प्रतिनिधिसभामा तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।
सन् २०१८ को आमनिर्वाचनमा पहिलोपटक निर्वाचित भएर भण्डारी मेरिल्याण्डको राज्य संसदमा पुग्ने पहिलो नेपाली अमेरिकी बनेका थिए। त्यसयता उनले सन् २०२२ र २०२६ को निर्वाचनमा पनि जित हासिल गरेका छन्।
तीनवटै निर्वाचनमा जित: मत प्रतिशत पनि बढाउँदै
भण्डारीले सन् २०१८ को आमनिर्वाचनमा २२ हजार ९४ मत अर्थात् १७.७ प्रतिशत मत प्राप्त गरेका थिए। त्यतिबेला डेमोक्रेटिक उम्मेदवार एरिक ब्रोमवेलले २२ हजार ४८५ मत (१८ प्रतिशत) ल्याएर पहिलो स्थान हासिल गरेका थिए भने रिपब्लिकन उम्मेदवार जोसेफ बोटेलर तृतीयले २० हजार ८०२ मत (१६.७ प्रतिशत) प्राप्त गरेका थिए। भण्डारी दोस्रो स्थानमा रहे पनि तीन सदस्य निर्वाचित हुने क्षेत्रबाट विजयी भएका थिए।
सन् २०२२ को निर्वाचनमा भने भण्डारी १९ हजार ७०२ मत (२१.६ प्रतिशत) सहित पहिलो स्थानमा आएका थिए। उनका डेमोक्रेटिक सहकर्मी कार्ल ज्याक्सनले १८ हजार ९५० मत (२०.८ प्रतिशत) र निक एलेनले १८ हजार ६२ मत (१९.८ प्रतिशत) प्राप्त गरेका थिए। यस निर्वाचनमा पनि डेमोक्रेटिक उम्मेदवारहरूले तीनवटै सिट जितेका थिए।
सन् २०२६ को निर्वाचनमा भण्डारी १९ हजार ५३० मतसहित दोस्रो स्थानमा रहेर निर्वाचित भएका छन्। तीनवटै निर्वाचनमा उनले जित हासिल गरे पनि मतको प्रतिशत भने क्रमशः बढेको देखिन्छ। सन् २०१८ मा १७.७ प्रतिशत मत प्राप्त गरेका उनले २०२२ मा २१.६ प्रतिशत र २०२६ मा २२.३४ प्रतिशत मत पाएका छन्।

‘डिस्ट्रिक्टलाई नीलो बनाउन निकै मिहिनेत गरेँ’
खसोखाससँग प्रतिक्रिया दिँदै भण्डारीले डिस्ट्रिक्ट ८ मा राजनीतिक प्रतिस्पर्धा चुनौतीपूर्ण रहेको बताएका थिए। उनले भने, “यो डिस्ट्रिक्ट अत्यन्तै चुनौतीपूर्ण क्षेत्र थियो। १२ वर्षमा मैले यसलाई फ्लिप गरेको थिएँ। यो डिस्ट्रिक्टमा जनतासँग जोडिन मैले कडा मिहिनेत गरिरहेको छु। यसलाई ‘ब्लु’ बनाउन कडा मिहिनेतका साथ काम गरेँ। प्रारम्भिक समर्थनका लागि म सम्पूर्ण मतदाता, स्वयंसेवक, परिवारजन र नेपाली अमेरिकी समुदायप्रति आभार व्यक्त गर्छु। अझै मेल–इन मतपत्रको गणना बाँकी नै छ। सम्पूर्ण मतगणना नसकिँदासम्म मेरा प्रतिस्पर्धीहरूको सम्मानका लागि म आफैँलाई विजेता घोषणा गर्न चाहन्न।”
उनले आफ्नो चुनावी सफलतालाई व्यक्तिगत उपलब्धिभन्दा पनि समुदायको सामूहिक शक्तिको प्रमाणका रूपमा व्याख्या गरे। “यो मेरो मात्र नभई समुदायको शक्ति, आप्रवासीहरूको योगदान र जनसेवाप्रतिको प्रतिबद्धताको प्रमाण पनि हो। यहाँ नेपाली समुदायको सङ्ख्या सयौँमा मात्र भए तापनि यस क्षेत्रका आम जनताले मलाई पूर्ण सहयोग गर्नुभयो। जनताको विश्वास र सेवा गर्ने मेरो सङ्कल्पलाई अझ बलियो बनाउन चाहन्छु। म निरन्तर कर्म गरिरहनेछु,” उनले भने।
विश्वभरका नेपालीबीच एकता र सहकार्यको भावना महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले नेपाली समुदायका सदस्यलाई जहाँसुकै समस्या परे पनि सहयोग गर्न आफू तत्पर रहने बताए। “संसारभरका नेपालीहरू हाम्रा दाजुभाइ हुन् भन्ने मूलमन्त्रका साथ जहाँ परे पनि, जुनसुकै देशमा रहेका नेपालीलाई दुःख पर्दा साथ दिन म सधैँ तत्पर रहनेछु,” उनले भने।
नेपाली अमेरिकीको राजनीतिक सहभागिता अपरिहार्य
नेपाली अमेरिकी समुदायको राजनीतिक सहभागिताबारे भण्डारीले अमेरिकामा नेपाली समुदाय सङ्ख्यात्मक रूपमा सानो भए पनि तीव्र गतिमा बढिरहेको आप्रवासी समुदायमध्ये एक रहेको बताए।
“हामीमध्ये अधिकांश नेपालीहरू यहाँ एउटा सुन्दर सपना लिएर आयौँ—कसैको शिक्षा, कसैको अवसर त कसैको स्वतन्त्रताको सपना होला। तर, हामी सबैको साझा र मुख्य उद्देश्य भनेको आफ्नो परिवारको उज्ज्वल भविष्य नै हो,” उनले भने।
अमेरिकी समाजको हिस्सा बन्नु भनेको यहाँको लोकतान्त्रिक प्रक्रियामा सहभागी हुनु पनि भएको उनको भनाइ छ। “जब नेपालीहरूले मतदान गर्छन्, संगठित हुन्छन्, स्वयंसेवा गर्छन् र चुनावी प्रतिस्पर्धामा उत्रिन्छन्, तब मात्र हाम्रो समुदाय समाजमा देखिन थाल्छ र हाम्रो उपस्थिति महसुस हुन्छ,” उनले भने।
शिक्षा, साना व्यवसाय, अध्यागमन, स्वास्थ्य सेवा, जनसुरक्षा, आवास र भाषिक पहुँचदेखि बालबालिकाको अवसरसम्मका विषयमा नेपाली अमेरिकी समुदायको आवाज सुनिन राजनीतिक सहभागिता आवश्यक रहेको उनले बताए।
राजनीतिक प्रतिनिधित्वलाई आगामी पुस्ताका लागि अवसरको ढोका खोल्ने माध्यमका रूपमा व्याख्या गर्दै भण्डारीले आफ्नो राजनीतिक यात्राका सुरुवाती चुनौती पनि स्मरण गरे।
“म आफ्नै विगत सम्झिन्छु—जब म पहिलो पटक चुनावमा उठेँ, त्यो समय निकै चुनौतीपूर्ण र कठिन थियो। तर बिस्तारै शैक्षिक, कानुनी, भाषिक र राजनीतिक समायोजन हुँदै गयो। आज धेरै साथीहरू अगाडि आउनुभएको छ र स्थानीय तहमा प्रतिनिधित्व गरिरहनुभएको छ। यसको प्रत्यक्ष प्रभाव पर्छ। समाजका लागि ‘रोल मोडल’ बन्नु निकै महत्त्वपूर्ण कुरा हो,” उनले भने।
नेपाली अमेरिकीहरू अमेरिकामा केवल आप्रवासी वा पाहुना मात्र नभएर करदाता, अभिभावक, श्रमिक, शिक्षक, उद्यमी र सार्वजनिक सेवकका रूपमा योगदान गरिरहेको उनको भनाइ छ। त्यसैले समुदायका मुद्दालाई नीतिगत तहसम्म पुर्याउन मूलधारको राजनीतिमा सक्रिय सहभागिता आवश्यक रहेको उनले बताए।
“मूलधारको राजनीति किन महत्त्वपूर्ण छ भने, यहीँबाट नै देशको कानुन, बजेट, नीति र स्रोतसाधनको बाँडफाँड तय हुन्छ। यदि हामी हाम्रो समुदायका आवश्यकता र सरोकारहरूलाई सम्मान गराउन चाहन्छौँ भने हामीले पूर्ण रूपमा सहभागी हुनैपर्छ,” उनले भने।
आफूले मेरिल्याण्डको बाल्टिमोर क्षेत्रमा नेपाली समुदायका लागि ९ लाख ५० हजार डलर बजेट ल्याउन सफल भएको उल्लेख गर्दै उनले आफ्नो समग्र डिस्ट्रिक्टका लागि १५ करोड डलरभन्दा बढी बजेट ल्याएको बताए। “यो कामबाट सिकेर अहिले भर्जिनिया लगायत अन्य राज्यहरूमा पनि बजेटका लागि प्रयासहरू हुन थालेका छन्,” उनले भने।

पर्वतको सरकारी विद्यालयदेखि अमेरिकी राज्य संसदसम्म
पर्वतको एउटा सामान्य किसान परिवारमा जन्मिएका भण्डारीको राजनीतिक र शैक्षिक यात्रा लामो संघर्ष र निरन्तर मिहिनेतको परिणाम हो। गाउँकै सरकारी विद्यालयबाट शिक्षा सुरु गरेका उनले बाल्यकालदेखि नै अध्ययनमा विशेष रुचि राख्थे। भारतमा काम गर्ने उनका बुबाले रगत–पसिना बगाएर कमाएको पैसाले गाउँको विद्यालयको छाना मर्मत गरेको देख्दै हुर्किएका भण्डारीले शिक्षाको महत्त्व नजिकबाट बुझेका थिए।
विद्यालयमा उनको शैक्षिक क्षमता यति राम्रो थियो कि शिक्षकहरूले कक्षा ६ बाट सीधै कक्षा ८ मा भर्ना गरिदिएका थिए। हरेक दिन झन्डै एक घण्टा पैदल हिँडेर विद्यालय पुग्नुपर्ने कठिन दैनिकीका बीच उनले आफ्नो अध्ययनलाई निरन्तरता दिए।
उच्च शिक्षा हासिल गर्ने उद्देश्यले पर्वतबाट पोखरा पुगेका भण्डारीले सरकारी क्याम्पसमा अंग्रेजी साहित्य अध्ययन गरे। अध्ययनसँगै दैनिक खर्च जुटाउन उनले विद्यालयमा पढाउन पनि थाले। पछि काठमाडौं आएर त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर (एमए) पूरा गरे।
काठमाडौंमा उनले झन्डै १३ वर्ष शिक्षण पेसामा बिताए। यस अवधिमा उनी दुई प्रतिष्ठित निजी विद्यालयका प्रधानाध्यापकसमेत बने। आर्थिक रूपमा विपन्न र पढाइमा अब्बल विद्यार्थीका लागि निःशुल्क शिक्षाको व्यवस्था मिलाउने काममा पनि उनी सक्रिय रहे। शिक्षण र सामाजिक सेवामार्फत उनले नेतृत्वको प्रारम्भिक अनुभव हासिल गरे।
सन् २००५ मा अमेरिका पुगेपछि उनको जीवनले नयाँ मोड लियो। नयाँ देशमा आफ्नो शैक्षिक योग्यता र अनुभवअनुसारको पेसा खोज्नु सहज थिएन। सुरुवाती दिनमा जीवनयापनका लागि उनले ग्यास स्टेसनमा रातभर काम गरे। तर, आफ्नो लक्ष्यप्रतिको प्रतिबद्धता कायम राखे। ग्यास स्टेसनको रात्रिकालीन समयलाई उनले कविता लेखन र सिर्जनात्मक काममा उपयोग गरे।
नेपालमा हासिल गरेको शैक्षिक योग्यताका आधारमा अमेरिकामा तत्कालै शिक्षण पेसामा प्रवेश गर्न कठिन भएपछि उनले अमेरिकी शिक्षण लाइसेन्स प्राप्त गर्ने प्रक्रिया आफैँ अध्ययन गरे। दिनरात मिहिनेत गरेर परीक्षा दिए र पहिलो प्रयासमै उत्तीर्ण भए। त्यसपछि उनले अमेरिकी कलेजहरूमा अंग्रेजी प्राध्यापन सुरु गरे।
शिक्षण पेसामा स्थापित हुँदै गर्दा सन् २०११ मा अमेरिकी नागरिकता प्राप्त गरेका भण्डारी राजनीतितर्फ आकर्षित भए। अमेरिकी समाजको मूलधारमा सहभागी नभएसम्म आप्रवासी नेपाली समुदायका हकहित, भाषा, संस्कृति र पहिचानका मुद्दा प्रभावकारी रूपमा उठाउन नसकिने उनको विश्वास थियो।
सुरुवाती निर्वाचनमा पराजय भोग्नुपरे पनि उनले राजनीतिक यात्रा रोकेनन्। निरन्तर जनताको घरदैलोमा पुग्ने र समुदायसँग सम्बन्ध विस्तार गर्ने काम जारी राखे। अन्ततः सन् २०१८ मा मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्समा डिस्ट्रिक्ट ८ बाट निर्वाचित हुँदै उनी अमेरिकी राज्य संसदमा पुग्ने पहिलो नेपाली अमेरिकी बने।

नेपाली पहिचान र सार्वजनिक सेवाप्रतिको प्रतिबद्धता
अमेरिकी राजनीतिमा सक्रिय भए पनि भण्डारीले आफ्नो नेपाली पहिचान र पुर्खाको इतिहासलाई महत्त्व दिँदै आएका छन्। राज्य संसदको सदस्यका रूपमा शपथ लिँदा उनले हिन्दू धर्मग्रन्थ वेदलाई साक्षी राखेका थिए।
नेपालमा अध्ययन गरेका युवाहरूले आफ्नो क्षमता र योग्यतालाई सीमित घेरामा मात्र नराखी अवसरको खोजी गर्नुपर्ने उनको धारणा छ। विशेषगरी नयाँ पुस्ताका नेपाली अमेरिकीलाई शिक्षा, व्यवसाय र राजनीतिमा अगाडि बढ्न उनले प्रोत्साहित गर्दै आएका छन्।
आफू नेपाली अमेरिकी राजनीतिज्ञ हुनुमा गर्व रहेको बताउँदै भण्डारीले सार्वजनिक सेवामा आफ्नो प्रतिबद्धता निरन्तर कायम रहने बताएका छन्।





