अमेरिकाको फ्लोरिडामा बिजनेस जेट दुर्घटना: सवार सबै ९ जनाको मृत्यु
प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार
Photo: Yoann Donzé/ Unsplash
अमेरिकाको फ्लोरिडास्थित एक आवासीय क्षेत्रमा आइतबार बिजनेस जेट दुर्घटना हुँदा विमानमा सवार सबै नौ जनाको मृत्यु भएको अमेरिकी यातायात मन्त्रीले पुष्टि गरेका छन्।
यो दुर्घटना पाम बीच काउन्टीको क्रेस्टहेभन बस्ती नजिकै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रिसोर्ट ‘मार-अ-लागो’ बाट करिब १४ किमी टाढा, स्थानीय समय अनुसार दिउँसो करिब १२:५० बजे भएको हो।
दुर्घटनास्थलबाट आएका तस्बिरहरूमा आवासीय सडकमा खाल्डो परेको, आगोका लप्काहरू सल्किएका र ‘लियरजेट ६०’विमानका टुक्राहरू तथा सिमेन्टका अंशहरू यत्रतत्र छरिएका देखिएका छन्।
संघीय उड्डयन प्रशासनका अनुसार उक्त विमान टेक्ससको अस्टिनबाट बाहामासतर्फ जाँदै थियो। अमेरिकी सञ्चारमाध्यम तथा उडान विश्लेषण अनुसार विमान दुर्घटना हुनुअघि प्रतिसेकेन्ड सयौँ फिट तल खसिरहेको थियो।
सामाजिक सञ्जालमा सेयर गरिएको अनधिकृत ड्यास-क्याम भिडियोमा गाडीहरू सडकमा गुडिरहेको बेला अचानक विमान सीधा/ठाडो रूपमा जमिनमा बजारिएर भीषण आगोको गोलामा परिणत भएको देखिन्छ।
दुर्घटनापछि पत्रकार सम्मेलनमा बोल्दै फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले भने, त्यो भिडियो हेर्दा अत्यन्तै डरलाग्दो दृश्य देखिन्छ। यो कुनै मिसाइल खसेजस्तै गरी खसेको थियो र ठूलो विस्फोटका साथ अवशेषहरू सबैतिर छरिए।
विमानमा को-को सवार थिए भन्नेबारे अझै स्पष्ट भइसकेको छैन। गभर्नर डिसान्टिसले जमिनमा रहेका कसैको मृत्यु वा घाइते भएको विवरण हालसम्म नआएको बताएका छन्।
अमेरिकी यातायात मन्त्री सिन डफीले यस दुर्घटनालाई “अत्यन्तै हृदयविदारक त्रासदी” भन्दै राष्ट्रिय यातायात सुरक्षा बोर्डको अनुसन्धानमा सहयोग गर्न एफएए को टोली खटाइएको जानकारी दिए। उनले ज्यान गुमाउनेहरूका परिवारजन तथा आफन्तहरूप्रति संवेदना प्रकट गर्दै प्रार्थना गर्न अपिल गरेका छन्।
पाम बीच काउन्टी फायर रेस्क्युले यसलाई सामूहिक क्षति घोषणा गरेको छ। स्थानीय प्रहरीका अनुसार दुर्घटना व्यवसायिक प्रतिष्ठान र रेस्टुरेन्टहरू रहेको ६ लेनको ‘मिलिटरी ट्रेल’ सडकमा भएको हो।
गभर्नर र स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनास्थल नजिकै रहेको ट्रेलर-पार्क बस्तीका करिब ६०० जना स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। दुर्घटनाका कारण खानेपानीका पाइपलाइनलगायतका पूर्वाधारमा ठूलो क्षति पुगेको छ र उक्त सडक पुनः सञ्चालन हुन कम्तीमा ३० दिन लाग्ने बताइएको छ।
दुर्घटनाको समयमा सो क्षेत्रमा चट्याङसहित भीषण वर्षा भइरहेको थियो। दुर्घटना हुनुभन्दा करिब एक घण्टाअघि मात्र राष्ट्रपति ट्रम्प नजिकैको विमानस्थलबाट एयर फोर्स वनमार्फत मार-अ-लागोबाट प्रस्थान गरेका थिए।





