नेपालका राजदूत थापाको राष्ट्रसंघका महासचिव गुटेरेससँग भेट, बाढीपछिको सहयोगप्रति आभार व्यक्त


प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार

न्युयोर्कमा बुधबार संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि तथा राजदूत लोकबहादुर थापाले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्दै। भेटमा बहुपक्षीय सहकार्य, नेपालमा विनाशकारी बाढीपछि राष्ट्रसंघबाट प्राप्त सहयोग र विश्वव्यापी जलवायु कार्यलाई थप प्रभावकारी बनाउने आवश्यकताबारे छलफल भएको थियो। तस्बिरः संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्युयोर्क।

न्युयोर्क — संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि तथा राजदूत लोकबहादुर थापाले बुधबार राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गरेका छन्। भेटका क्रममा उनले गुटेरेसको नेतृत्व र बहुपक्षीय सहकार्यप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै नेपालमा हालै आएको विनाशकारी बाढीपछि राष्ट्रसंघले गरेको सहयोगप्रति आभार व्यक्त गरेका छन्।

नेपाली राजदूतको सचिवालयले जारी गरेको विज्ञप्तिअनुसार थापाले गुटेरेसको सिद्धान्तनिष्ठ नेतृत्व, बहुपक्षीय सहकार्यप्रतिको दृढ प्रतिबद्धता, ऐक्यबद्धताको भावना र कसैलाई पनि पछाडि नछोड्ने अडानको प्रशंसा गरेका थिए।

उनले संयुक्त राष्ट्रसंघको बडापत्र, बहुपक्षीय सहकार्य र विश्वव्यापी चुनौतीको सामना गर्न सामूहिक प्रयास गर्ने नेपालको प्रतिबद्धता दोहोर्‍याएका थिए। साथै, जलवायुजन्य विपद्पछि नेपाललाई संयुक्त राष्ट्रसंघीय प्रणालीबाट प्राप्त सहयोगका लागि धन्यवाद दिएका थिए।

भेटका क्रममा गुटेरेसले नेपालमा हालैका विपद्का कारण भएको मानवीय क्षति र भौतिक सम्पत्तिको विनाशप्रति दुःख व्यक्त गरेका थिए। उनले बहुपक्षीय सहकार्यलाई अघि बढाउन नेपालले निर्वाह गर्दै आएको सक्रिय र रचनात्मक भूमिकाको पनि प्रशंसा गरेका थिए।

(संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्युयोर्क)

गुटेरेसले संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षता, अतिकम विकसित राष्ट्रहरूको समूहको अध्यक्षता, विकासका लागि वित्तपोषणसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनको सहजीकरण तथा संयुक्त राष्ट्रसंघीय महासभाको पहिलो समितिको अध्यक्षतामार्फत नेपालले पुर्‍याएको योगदानको सराहना गरेका थिए।

उनले जलवायु परिवर्तनविरुद्धको अभियानमा नेपालको निरन्तर पैरवी र विश्व शान्ति तथा सुरक्षामा नेपालको योगदानको पनि प्रशंसा गरेका थिए। संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनाका अभियानमा सैनिक तथा प्रहरी पठाउने प्रमुख राष्ट्रमध्ये नेपाल एक रहेको उनले उल्लेख गरेका थिए।

ठीक तीन वर्षअघि सगरमाथा आधार शिविरको ऐतिहासिक भ्रमण गरेको प्रसंग स्मरण गर्दै गुटेरेसले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएका विनाशकारी प्रभावबारे विश्वको ध्यानाकर्षण गराएका थिए। उनले जलवायु संकटको सामना गर्न विश्वव्यापी रूपमा तत्काल, समन्वित र महत्त्वाकांक्षी कदम चाल्नुपर्नेमा जोड दिएका थिए।

भेटका क्रममा दुवै पक्षले पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउने, जलवायुजन्य विपद्को सामना गर्न समुदाय तथा राष्ट्रहरूको उत्थानशीलता बढाउने र विश्वव्यापी जलवायु कार्यसूचीलाई अघि बढाउन अन्तर्राष्ट्रिय ऐक्यबद्धता, सहमति र महत्त्वाकांक्षा अभिवृद्धि गर्ने आवश्यकतामा जोड दिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com