अमेरिकी नागरिकता त्याग्नेको संख्यामा उल्लेख्य वृद्धि: पहिलो नौ महिनामै ४,५०० भन्दा बढीद्वारा परित्याग
प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार
फोटो: जेरेमी डोरोघ
यस वर्षको सुरुवातदेखि नै उल्लेख्य संख्यामा अमेरिकी नागरिकहरूले आफ्नै इच्छाले अमेरिकी नागरिकता वा स्थायी आवासीय अधिकार परित्याग गरेका छन्।
अमेरिकी अर्थ मन्त्रालयले ‘फेडेरल रजिस्टर’ मार्फत सार्वजनिक गरेको विवरण अनुसार, यस वर्षको पहिलो नौ महिनामा मात्रै ४,५७४ जनाले नागरिकता वा दीर्घकालीन ग्रिनकार्ड त्यागेका छन्। सार्वजनिक गरिएको पछिल्लो त्रैमासिक प्रतिवेदन अनुसार जुलाईदेखि सेप्टेम्बरको बीचमा मात्र १,३३१ जनाको नाम नागरिकता त्याग्नेहरूको सूचीमा दर्ता भएको छ।
यद्यपि, यो संख्या पहिलो त्रैमासिक र दोस्रो त्रैमासिकको तुलनामा केही घटेको देखिन्छ। तर, विगतका वर्षहरूसँग तुलना गर्दा यस वर्ष अमेरिकी नागरिकता र ग्रिनकार्ड परित्याग गर्नेहरूको संख्या अत्यधिक र अस्वाभाविक रूपमा बढेको स्पष्ट हुन्छ।
ग्रीनब्याक एक्सप्याट ट्याक्स सर्भिसको विश्लेषण अनुसार, सन् २००० देखि २००८ को बीचमा वार्षिक औसत ४५२ जनाले मात्र अमेरिकी नागरिकता त्याग्ने गरेका थिए।
तर, सन् २०१० मा अमेरिकी ‘संसदले फरेन एकाउन्ट ट्याक्स’ कम्प्लायन्स एक्ट नामक कर कानून पारित गरेपछि नागरिकता त्याग्नेहरूको संख्या ह्वात्तै बढ्यो। यो कानून अनुसार विश्वभरका वित्तीय संस्थाहरूले अमेरिकी नागरिकहरूको खाता र सम्पत्तिको विवरण अमेरिकी सरकारलाई बुझाउनुपर्छ। अमेरिकाको ‘नागरिकतामा आधारित कर प्रणाली’ र कडा नियमका कारण विदेशमा बस्ने अमेरिकीहरूलाई कर भुक्तानी र कागजी प्रक्रिया मिलाउन निकै गाह्रो पर्ने गरेको छ।
विशेष गरी विदेशमा जन्मेका वा लामो समयदेखि बाहिरै बसोबास गरिरहेका,अकस्मात् अमेरिकी नागरिकहरूका लागि यो नियम झन्झटिलो बनेको छ। उनीहरूले आफू बस्ने देशमा कमाएको रकममा पनि अमेरिकालाई कर तिर्नुपर्ने बाध्यताका कारण नागरिकता सधैँका लागि त्याग्ने निर्णय गरिरहेका छन्।
नागरिकता त्याग्नुको पछाडि आर्थिक मात्र नभई राजनीतिक कारण पनि रहेको विश्लेषकहरूको भनाइ छ। राजनीतिमा बढ्दो ध्रुवीकरण र डोनाल्ड ट्रम्पको पुनरागमनसँगै धेरै अमेरिकीहरूमा देशको भविष्यलाई लिएर निराशा बढेको छ।
साथै, नागरिकता त्याग्दा लाग्ने सरकारी शुल्कमा गरिएको ठूलो कटौतीले पनि यसलाई बढावा दिएको छ। यसअघि अमेरिकी नागरिकता परित्याग गर्न २,३५० अमेरिकी डलर लाग्ने गरेकोमा गत अप्रिल १३ देखि उक्त शुल्क घटाएर ४५० डलर बनाइएको छ। शुल्क घटेका कारण आगामी दिनमा नागरिकता त्याग्नेहरूको संख्या अझै बढ्ने अनुमान गरिएको छ।





