स्पेनमा भीषण रेल दुर्घटना कम्तीमा ६४ जनाको मृत्यु, ८० भन्दा बढी घाइते
प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार
Photo: Haidan/ Unsplash
स्पेनको टोलेडो नजिकै उर्दा क्षेत्रमा दुई वटा उच्च गतिको रेल एकआपसमा ठोक्किएर भएको भीषण दुर्घटनामा मृत्यु हुनेको संख्या कम्तीमा ६४ पुगेको छ। दुर्घटनामा ८० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसमध्ये ५० जनाको अवस्था गम्भीर र १५ जनाको अवस्था अति चिन्ताजनक रहेको अधिकारीहरूले जनाएका छन्।
क्यास्टिला-ला मान्चा क्षेत्रीय सरकारका अनुसार ५०० भन्दा बढी यात्रु बोकेका रेन्फे र इरियो कम्पनीका दुई रेल आपसमा ठोक्किएका थिए। प्राविधिक खराबीका कारण लिकमा रोकिएको एउटा रेललाई पछाडिबाट आएको अर्को तीव्र गतिको रेलले ठक्कर दिँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।
दुर्घटनास्थलमा भीषण दृश्य देखिएको छ। रेलका डिब्बाहरू लिकबाट उप्किएर क्षत-विक्षत अवस्थामा पल्टिएका छन्। घाइतेहरूको उपचारका लागि स्थानीय अस्पतालहरूमा शल्यक्रिया स्थगित गरी आपतकालीन सेवा सुरु गरिएको छ। म्याड्रिड तथा टोलेडोका स्थानीय रक्तसञ्चार केन्द्रहरूले आपतकालीन रक्तदानको अपिल गरेका छन्।
उद्धार कार्यका लागि हेलिकप्टर र ड्रोनहरूको प्रयोग भइरहेको छ। डिब्बाभित्र अझै मानिसहरू थिचिएको हुनसक्ने भएकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
यस दुखद घटनापछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसहित प्रायः सबै राजनीतिक दलहरूले नोभेम्बर २९ का लागि तय गरिएको आम निर्वाचनको प्रचार अभियान स्थगित गरेका छन्। साथै, रोयल स्पेनिश फुटबल फेडेरेसनले कोपा डेल रेका २४ वटा फुटबल खेलहरू स्थगित गरेको घोषणा गरेको छ।





