शरणार्थीको पुनरावेदन म्याद घटाउने ट्रम्प प्रशासनको निर्णयमा अमेरिकी अदालतको अस्थायी रोक
प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार
Photo by Tingey Injury Law Firm
शरणार्थीहरूले आफ्नो कानुनी हैसियत खारेजीको निर्णयविरुद्ध चुनौती दिने वा पुनरावेदन गर्ने समय ३० दिनबाट घटाएर १० दिनमा झार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नयाँ नियम कार्यान्वयनमा एक संघीय न्यायाधीशले मङ्गलबार अस्थायी रोक लगाएका छन्।
बोस्टनस्थित अमेरिकी जिल्ला न्यायाधीश जुलिया कोबिकले अक्टोबर १४ मा यूएससीआईएसले जारी गरेको उक्त नियमलाई आगामी नोभेम्बर ६ सम्मका लागि रोक लगाउने आदेश जारी गरेकी हुन्। शरणार्थी अधिकारवादी समूहहरूले उक्त नियमका साथै शरणार्थीहरूको व्यापक पुनरावलोकन गर्ने योजनालाई चुनौती दिँदै सोमबार दायर गरेको मुद्दासँगै अदालतले यो अल्पकालीन रोकको आदेश दिएको हो।
न्यायाधीश कोबिकका अनुसार मुद्दाको पूर्ण सुनुवाइ नभएसम्म यथास्थिति कायम राख्न यो नियमलाई थाती राख्न आवश्यक रहेको छ। बादीहरूका तर्फबाट बहस गरिरहेका ‘डेमोक्रेसी फरवर्ड’का अधिवक्ता एरेज रेउवेनीले अदालतको यो निर्णयले खारेजीको सूचना पाइसकेका वा पाउने जोखिममा रहेका व्यक्तिहरूलाई महत्त्वपूर्ण सुरक्षा प्रदान गरेको बताए।
अर्कोतर्फ, यूएससीआईएसका प्रवक्ता ज्याक काह्लरले एक वक्तव्य जारी गर्दै यो मुद्दालाई “कांग्रेसी मर्मअनुरूप अध्यागमन कानुन लागू गर्ने ट्रम्प प्रशासनको प्रतिबद्धतामा बाधा पुऱ्याउने निरर्थक प्रयास” भनेका छन्।
अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको अनुमानअनुसार यूएससीआईएसको यो नयाँ नियम लागू भएको खण्डमा करिब १ लाख ८६ हजार शरणार्थीहरू प्रत्यक्ष प्रभावित हुनेछन्।





